जनताको निराशालाई आशामा बदल्न अहिलेको सहकार्य फलदायी बनाउनुपर्छ : एमाले



काठमाडौं ।

नेकपा एमाले सचिवालय बैठक शुक्रबार बिहान सम्पन्न भएको छ। बैठकले सत्ता समीकरणमा आएको परिवर्तनलाई पार्टीले सकारात्मक रूपमा ग्रहण गरेको बैठक पछि पार्टी महासचिव शंकर पोखरेलले जानकारी दिए।

‘मुलुकमा जुन प्रकारको सङ्कटको अवस्था सिर्जना भएको छ त्यसलाई सकारात्मक दिशामा अगाडि बढाउने कुरामा, जनतामा आशा र विश्वास जगाउने कुरामा, मुलुकको राजनीतिक स्थायित्व र विकासमा टेवा पुर्‍याउने हिसाबले नेकपा एमालेको तर्फबाट सकारात्मक योगदान पुर्‍याउने हिसाबले नेकपा एमालेले योगदान गर्नुपर्दछ भन्ने हामीले निष्कर्ष निकालेका छौँ’, उनले भने।

पाँच राजनीतिक दल मिलेर नयाँ सरकार बनाउने प्रक्रिया सुरु भएको बताउँदै उनले त्यसमा अन्य दललाई पनि साथ समर्थनका लागि सचिवालय बैठकले आह्वान गरेको बताए। ‘जनताको निराशालाई आशामा बदल्ने, मुलुकको राष्ट्रिय हित र स्वाभिमानलाई उच्चा बनाउने, विकास र समृद्धिका कामलाई तीव्रता दिने सन्दर्भमा नयाँ सहकार्य फलदायी बनाउनु पर्दछ, त्यसले अनुकूलता सिर्जना गरेको छ भन्ने पार्टीको मान्यता रहेको छ’, उनले भने।

देशमा उत्पन्न निराशालाई चिर्ने र देश भित्रै केही गर्न सकिन्छ भन्ने सकारात्मक भावना विकास गर्ने प्रयास नयाँ सरकारले गर्ने उनले बताए। ‘राष्ट्रिय स्वाधीनता, स्वाभिमान, विकास र समृद्धिका प्रश्नमा, सामाजिक न्यायका प्रश्नमा यो सहकार्य फलदायी हुने विश्वास बैठकले व्यक्त  गरेको छ’, पोखरेलले भने।

बैठकले पार्टी स्थापनाको ७५ औँ वर्षगाँठको दिन वैशाख १० गते विशेष समारोह आयोजना गर्ने निर्णय गरेको उनले बताए। वैशाख ८ र ९ गते महाधिवेशन प्रतिनिधि परिषद् बैठक आयोजना गर्ने र १० गते विशेष कार्यक्रम गर्ने निर्णय भएको पोखरेलले जानकारी दिए। ‘त्यसको तयारी कसरी गर्ने भन्ने सन्दर्भमा आज हामीले छलफल गर्‍यौँ’, उनले भने।

प्रतिक्रिया दिनुहोस्