एमाले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक वैशाख ८ र ९ गते



काठमाडौं ।

नेकपा एमालेले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक आह्वान गरेको छ। आज बसेको सचिवालय बैठकले आगामी वैशाख ८ र ९ गते महाधिवेशन प्रतिनिधि परिषद्को बैठक बस्ने तय गरेको एमालेका महासचिव शंकर पोखरेलले जानकारी दिए।

वैशाख १० गते पार्टी स्थापना दिवसको अवसरमा विशेष समारोह आयोजना गरिने पोखरेलले बताए। ‘महाधिवेशन प्रतिनिधि परिषद्को वैशाख ८ र ९ गते बैठक आयोजना गर्ने र वैशाख १० मा पार्टीको ७५ औँ स्थापना दिवसको विशेष समारोह आयोजना गर्ने निर्णय गरेका छौँ ,’ उनले भने ।

मुलुकको सत्ता समीकरणमा आएको परिवर्तनका सन्दर्भमा आजको बैठकमा छलफल भएको महासचिव पोखरेलले बताए। एमालेले नयाँ गठबन्धनमा साथ समर्थनका लागि अन्य राजनीतिक दलहरूलाई आग्रह समेत गरेको छ। सत्ता समीकरणमा आएको परिवर्तनलाई सकारात्मक रूपमा ग्रहण गरेको उनले बताए।

‘नयाँ सहकार्य फलदायी बनाउनुपर्छ र देशको विकास, स्वाधीनता रक्षा र समृद्धिका लागि यसले अनुकूलता सिर्जना गरेको छ,’ उनले भने, ‘प्रचण्ड नेतृत्वमा ५ राजनीतिक दलमा सामेल भएर सरकार निर्माणको प्रक्रियामा अघि बढेका छौं। यो नयाँ प्रक्रियालाई साथ समर्थन गर्न अन्य राजनीति दललाई पनि अनुरोध गरेका छौं ।’

प्रतिक्रिया दिनुहोस्