प्रचण्डबाट धोका खाएकाहरू एक ठाउँ हुन सक्ने कांग्रेसको चेतावनी



काठमाडौं ।

नेपाली कांग्रेसले माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट पटकपटक धोका भएका दल एक ठाउँ हुन सक्ने बताएको छ। पहिलो एमालेलाई धोका दिएका प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको गठबन्धनलाई पनि धोका दिएको निष्कर्ष निकालेको हो ।

प्रधानमन्त्री दाहालले सबैलाई धोका दिँदै हिँडेको र कुनै दिन ती धोका खाएकाहरू मिले भने के होला भन्ने हेक्का राख्न कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले चेतावनी दिनुभयो । प्रमुख प्रतिपक्षी दल कांग्रेसका प्रमुख सचेतक लेखकले बिहीबारको संसद् बैठकमा दाहालको विगतको चरित्र चित्रण गर्दै आगामी दिनको सम्भावनाबारे समेत प्रश्न उठाउनुभयो । चेतावनीकै भाषामा उहाँले भन्नुभयो– ‘हेक्का राख्नुहोस् ! तपाईंले धोका दिएकाहरू सबै एकजुट भए तपाईंको हालत के होला ?’

१४ महिनामा तीनपटक गठबन्धन फेरबदल गरेको उल्लेख गर्दै दाहालले सबैलाई धोका दिएको बताउनुभयो । यस्तै, हुँदै जाँदा पाँच वर्षको कार्यकालमा १३ पटक गठबन्धन फेर्न सपना दाहालले देखेको लेखकको भनाइ छ।

‘यही हिसाबले हो भने पाँच वर्षको कार्यकालमा १३ पटक गठबन्धन फेर्ने र आफैं प्रधानमन्त्री भइरहने सपना देख्नुभएको होला तर, त्यो सजिलो छैन’ –मुलुकको शान्ति, सुशासन, समृद्धि र विकास दिन नसकेको स्वीकार गरेका प्रधानमन्त्री प्रचण्डलाई नेपाली कांग्रेसले सदनबाटै प्रश्न गरेको छ।

प्रमुख सचेतक लेखकले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै शान्ति, सुशासन, समृद्धि र विकास दिन नसकेको भन्दै नयाँ गठबन्धन बनाउन हस्ताक्षर गरेका प्रधानमन्त्री दाहाललाई १४ महिनासम्म के–के गर्नुभएको भनेर प्रश्न गर्नुभयो। दाहालले गठबन्धन फेरबदल गरेर जनमतको अपमान गरेको भन्दै यस्तो घटनाले मुलुकलाई शृंखलाबद्ध अस्थिरतातर्फ लैजाने जिकिर गर्नुभयो।

‘जनताले दिएको आफ्नो जिम्मेवारीबाट भाग्ने काम भयो । यो राजनीतिक बेइमानी हो । मुलुकलाई शृंखलाबद्ध अस्थिरतातर्फ लैजाने काम भएको छ ।’ गठबन्धनप्रति सदासयता र इमानदारिता देखाउँदा देखाउँदै पनि गठबन्धन भत्काउने विश्वासघात भएको कांग्रेसको ठहर छ।

‘एक जना, दुईजना मन्त्रीका भागमा कमजोरी थुपारेर आफ्नो कमजोरी छोप्ने काम गर्नुभयो’ –उहाँले भन्नुभयो। लेखकले कांग्रेस प्रतिपक्षमा बसेर रचनात्मक भूमिका निर्वाह गर्ने समेत बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्