प्रधान सेनापति शर्मा र भारत,पाकिस्तान, माल्दिभ्सका प्रतिनिधिमण्डलबीच भेटवार्ता



काठमाडौं ।

प्रधान सेनापति प्रभुराम शर्मासँग नेपाल भ्रमणमा रहेका भारत, पाकिस्तान र माल्दिभ्सका राष्ट्रिय क्याडेट कोरका प्रतिनिधिमण्डलहरुले बिहीबार शिष्टाचार भेटवार्ता गरेका छन् ।

संयुक्त रुपमा भएको भेटवार्ताका अवसरमा भ्रमणदलका सदस्यहरूले युवा विनिमय कार्यक्रमका दौरान नेपाल भ्रमण गर्ने अवसर प्राप्त गरेकोमा आभार प्रकट गरेका थिए । महाशिवरात्री एवं नेपाली सेना दिवसको अवसर पारेर आयोजित कार्यक्रममा सहभागी हुन नेपाल आएका भुटान र श्रीलंकाका क्याडेटहरु विभिन्न गतिविधिहरुमा सहभागी हुने छन् ।

 

वि.सं.२०२६ सालबाट राष्ट्रिय सेवा दल, नेपाल विभिन्न देशहरुमा संचालित YEP मा सहभागी हुँदै आएको छ । यस्तै वि।सं।२०५६ सालबाट नेपालमै YEP आयोजना गर्न थालिएको छ। यस कार्यक्रम अन्तर्गत नेपालबाट हालसम्म भारत, श्रीलङ्का, बङ्गलादेश, भुटान, मालदिभ्स, पाकिस्तान, सिंगापुर लगायतका देशहरूमा राष्ट्रिय सेवादलका क्याडेट छात्र छात्राहरूले भ्रमण गरिसकेका छन् ।

यसपटक नेपाल भ्रमणमा आएका विभिन्न देशका क्याडेटहरुले काठमाडौँ उपत्यका लगायत नेपालको पर्यटकीय एवं धार्मिक स्थलहरुको भ्रमण गर्ने कार्यक्रम रहेको छ । जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा बलाधिकृत अशोकराज सिग्देल उपस्थित रहेकाे थियाे । त्यसै गरी रथीवृन्द, राष्ट्रिय सेवा दल, नेपालका कार्यकारी महानिर्देशक लगायत YEP मा सहभागी देशहरुका छात्र छात्राहरूको उपस्थिति थिए ।

प्रतिक्रिया दिनुहोस्