कल्याण कोषमा अनियमितता भएको भन्दै पूर्व प्रहरीद्वारा आन्दोलनको घोषणा



काठमाडौं ।
नेपाल प्रहरीले सञ्चालन गर्दै आएको कल्याण कोषमा अनियमितता भएको भन्दै पूर्व प्रहरीहरूले छानबिन हुनु पर्ने माग गर्दै आन्दोलनको घोषणा गरेका छन् ।
पूर्व प्रहरी कर्मचारीहरूको रकम काटेर खडा गरिएको कोष नै अपारदर्शी भएको भन्दै पूर्व प्रहरीहरूले स्वतन्त्र र निष्पक्ष रूपमा कोषमा भएको रकमको बारेमा खोजी गर्न एउटा आयोग बनाउन समेत माग गरेका छन् ।
नेपाल भूतपूर्व प्रहरी संगठनको अगुवाइमा कोषको रकम बारेमा खोजविन सुरु भएको छ । २०४८ सालमा स्थापना भएको प्रहरी कल्याणकोमा हाल ४ अर्ब हाराहारी मात्रै रकम रहेको भन्ने जानकारी पाएपछि सो संगठनले खोजी नीति सुरु गरेको हो ।
संगठनले बिहीबार प्रहरी प्रधान कार्यालय देखि जिल्ला प्रहरी कार्यालय सम्म आफ्नो ६ बुदे माग राखेर ज्ञापन पत्र बुझाएको छ । आफ्ना मागको सम्बोधन नभए देशव्यापी रूपमा आन्दोलन सुरु गर्ने संगठनका अध्यक्ष पूर्व प्रहरी वरिष्ठ उपरीक्षक वसन्तराज कुँवरले जानकारी दिए । कोषका संरक्षक मोतीलाल बोहोरा देखि रविन्द्रप्रताप शाह समको कल्याण कोष आया व्ययको बारेमा छानबिन गर्न पूर्व प्रहरी समेतको संलग्नतामा स्वतन्त्र चार्टर एकाउन्टेन्ट संलग्न रहेको समिति गठन गर्नु पर्ने लगायतका माग राखेर संगठनले देशभरका प्रहरी कार्यालयमा ज्ञापन पत्र बुझाएको पनि अध्यक्ष कुँवरले बताए ।
कल्याण कोष सञ्चालन गर्दा हाल बहालवाला प्रहरीको खटन पटनमा उक्त कोष सञ्चालनमा रहेकाले अबदेखि ४० प्रतिशत पूर्व प्रहरी कर्मचारीको सहभागितामा सञ्चालन गर्नु पर्ने कोषको रकमबाट आउने व्याज मध्ये ४० प्रतिशत पूर्व प्रहरी कर्मचारीलाई, ४० प्रतिशत बहालवाला प्रहरी कर्मचारी र २० प्रतिशत आयमूलक क्षेत्रमा लगानी गर्नु पर्ने माग संगठनले बुझाएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
तर प्रहरीको वर्तमान नेतृत्वले संगठनले उठाएको माग सम्बोधन गर्न तयार नरहे त्यसको परिणाम पनि  राम्रो नहुने चेतावनी दिएको छ । संगठनले देशव्यापी रूपमा आन्दोलनलाई लैजाने निर्णय गरेकाले मुलुकका विभिन्न भागमा छरिएर रहेका पूर्व प्रहरी कर्मचारीहरूलाई सहभागिता जनाउन पनि आग्रह गरेको छ । संगठनका अध्यक्ष कुँवरले नेपाल प्रहरीको कल्याणकोषको रकम न्यायोचित वितरण गर  भन्ने नारा सहित आन्दोलनमा पूर्व प्रहरी होमिएको पनि जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्