सुदूरपश्चिममा माओवादीपछि एकीकृत समाजवादीका मन्त्री पनि बर्खास्त



काठमाडौं ।

सुदूरपश्चिम प्रदेश सरकारमा एकीकृत समाजवादीबाट मन्त्री बनेका नरेश शाहीलाई मुख्यमन्त्री कमलबहादुर शाहले बर्खास्त गरेका छन्।

एमाले नेतृत्वमा बनेको नयाँ गठबन्धन सरकारमा नेकपा एकीकृत समाजवादी सामेल भएपछि प्रदेश सरकारबाट मुख्यमन्त्री शाहले उनलाई हटाएका हुन्। शाही सुदूरपश्चिम प्रदेश सरकारमा आर्थिक मामिला तथा योजनामन्त्री थिए।

यसअघि मुख्यमन्त्री शाहले माओवादीबाट सामाजिक विकासमन्त्री झपट साउद, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रमेश धामी र सोही मन्त्रालयकी राज्यमन्त्री गीता माललाई हटाएका थिए।

योसँगै कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकार संकटमा पर्ने छ। ५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा सरकार बनाउन २७ सांसद आवश्यक पर्छन्। अहिले कांग्रेससंग १८ सांसद छन्। सुदूरपश्चिममा अहिले निर्णायक शक्ति रहेको नागरिक उन्मुक्तिले नयाँ गठबन्धनमा जाने नजाने निष्कर्षमा पुगिसकेको छैन।

प्रतिक्रिया दिनुहोस्