नयाँ रणनीति बनाउँदै कांग्रेस



काठमाडौं ।

एक वर्षमै सत्ता गठबन्धनबाट बाहिरिन पुगेको संसद्को जेठो दल नेपाली कांग्रेस नयाँ रणनीतिक योजना बनाउन छलफलमा जुटेको छ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनमा धोका दिएर एमालेसहितको गठबन्धन बनाएसँगै सशक्त प्रतिपक्षको भूमिकामा बस्ने निर्णय गरेको कांग्रेसले सोमबारदेखि संसद्का साना राजनीतिक दलहरूसँग छलफल शुरू गरेको हो ।

कांग्रेसले विकल्प गठबन्धनका लागि साना दलहरूसँग संवाद थालेको नेताहरूले बताएका छन् । देउवा निवासमा बुधबार भएको मधेसवादी दलसँगको छलफलमा कांग्रेसबाट सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा नेता, शेखर कोइराला र संसदीय दलका प्रमुख सचेतक रमेश लेखक सहभागी थिए।

एमाले र माओवादीसहितको नयाँ गठबन्धन बनेपछि सत्ता विमुख भएको कांग्रेसले जनमत, लोसपा र नाउपा हुँदै राप्रपासँग पनि संवाद गर्ने योजनामा छ। राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङले पनि राष्ट्रवादी लोकतान्त्रिक गठबन्धन बनाएर जान आफूहरू तयार रहेको बताउनुभएको छ।

मंगलबारबाटै वैकल्पिक गठबन्धनको प्रयासमा लागेको कांग्रेसका सभापति शेरबहादुर देउवाले बुधबार मधेस केन्द्रित तीन दलका अध्यक्षसँग एकसाथ छलफल गर्नुभयो।

देउवा निवास बुढानीलकण्ठमा भएको छलफलमा सहभागी लोसपाका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीले सरकारमा सहभागी हुने कुरा आफ्नो प्राथमिकतामा नपरेको बताउनुभएको थियो ।

यसअघि सभापति देउवाले मंगलबार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई भेटेर सरकारमा तत्काल सहभागी नहुन आग्रह गर्नुभएको थियो।

मधेसकेन्द्रित दल सरकारमा तत्काल नजाने

प्रचण्ड नेतृत्वमा बनेको नयाँ गठबन्धनमा सहभागीता जनाएको जनता समाजवादी पार्टीसहित गठबन्धनमा नरहेका जनता समाजवादी पार्टी, जनमत, लोसपा र नागरिक उन्मुक्ति पार्टी तत्काल सहभागी नहुने भएका छन् ।

नागरिक उन्मुक्ति पार्टीले केन्द्रमा प्रतिपक्षीको भूमिका निर्वाह गर्ने निर्णय गरेको छ । तराई केन्द्रित दलहरूले मधेस प्रदेश सरकारका विषयमा गठबन्धन सरकारले निर्णय नगर्दासम्म सरकारमा सामेल नहुने जसपाका नेताहरूले बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ गठबन्धन बनाएपछि साना तीन दलले मधेस प्रदेश सरकारका विषयमा बार्गेनिङ गर्न सत्ता बाहिर रहेको बताइएको छ । तर, उनीहरूलाई कांग्रेसले भने सरकारलाई समर्थन नगर्न आग्रह गरेको छ ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नागरिक उन्मुक्तिका अध्यक्ष रेशमलाल चौधरीले केन्द्रीय सरकारमा अहिले नगए पनि सुदूरपश्चिम प्रदेशमा दाबी रहेको बताउनुभएको छ।

आफ्नो पार्टीले राजनीतिक अवस्थालाई केही समय हेर्ने र त्यसपछि आवश्यक निर्णय गर्ने भन्दै चौधरीले टीकापुर घटनाका पीडितहरूले न्याय पाउनुपर्छ भन्नेमा आफू दृढ रहेको जिकिर गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्