सत्ता गठबन्धन भत्किने र बन्ने क्रम निरन्तर चलिरहन्छ : कमल थापा



काठमाडौँ ।

 राप्रपा नेपालका अध्यक्ष कमल थापाले सत्ता गठबन्धन बन्ने र भत्कने क्रमको यो अन्त्य नभएको भन्दै विदेशी शक्तिको अभिप्रेरणा, उक्साहट र सौजन्यमा यो खेल निरन्तर जारी रहने टिप्पणी गरेका छन्।

आज पार्टीको केन्द्रीय कार्य सम्पादन समिति बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम बारे धारणा राख्दै थापाले यो अन्तिम गठबन्धन नभएको र आगामी दिनमा नयाँ नयाँ गठबन्धन बन्दै जानेसमेत दाबी गरे। नितान्त निहित स्वार्थ,  व्यक्तिगत महत्वाकांक्षा र स्वार्थी मनोवृत्ति  हाबी भएपछी गठबन्धन परिवर्तन भइरहनु अनौठो नहुने उनले बताए।

मुलुकमा अस्थिरता सिर्जना गर्न चाहने र विदेशी शक्तिको गोटी बन्न राजी हुने दलहरूको मुलुक र जनताको बृहत्तर हित कहिल्यै प्रमुखतामा नपरेको चर्चा गर्दै थापाले सिद्धान्तविहीन,नीतिविहीन,आदर्शविहीन गठबन्धनले निकास दिन नसक्नेसमेत ठोकुवा गरे। ‘यो गठबन्धनको विकल्पको खोजी सुरु भैसको छ, अस्थिरता नेपाली राजनीतिको अभिन्न चरित्र बनिसकेको छ,’ उनले भने।

साँच्चिकै वैचारिक ध्रुबीकरण हुने हो भने त्यसलाई भने केही हदसम्म सकारात्मक रुपमा ग्रहण गर्न सकिने थापाको भनाई थियो। यो सन्दर्भमा व्यवस्थाको विकल्प खोज्न आन्दोलन बाहेक अर्को कुनै बाटो नभएको भन्दै थापाले विचार मिल्नेहरूले आन्दोलनमा जानू पर्नेमा जोड दिए।

‘यो एउटा अवसर पनि हो, अब व्यवस्थाको विपक्षमा भएका सबै मिलेर एउटा बलियो  कन्जर्भेटिभ शक्ति बनाउँदै आन्दोलनमार्फत भ्रष्ट तन्त्रको अन्त्य गरौं,’ थापाले भने। बैठकले आगामी चैत्र १ गते काठमाडौँमा गर्ने जनप्रदर्शनको तयारीमा जुट्न सबैलाई आग्रह समेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्