झलनाथ खनाल भन्छन्- औपचारिक प्रस्ताव आए सरकारमा संलग्न हुन्छौं



काठमाडौँ।

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नयाँ गठबन्धन सरकारमा आफ्नो पार्टी पनि सहभागी हुनसक्ने बताएका छन्।

मंगलबार डल्लुस्थित आफ्नै निवासमा कुरा गर्दै सम्मानित नेता खनालले सत्तारुढ गठबन्धनले औपचारिक प्रस्ताव गरे आफ्नो पार्टी सरकारमा संलग्न भएर जानसक्ने बताएका हुन् ।

उनले सरकारमा सहभागी हुनका लागि सत्तारुढ गठबन्धनले आफ्नो पार्टीसँग सम्मानजनक ढंगले वार्ता गर्नुपर्ने शर्त समेत राखे ।

बुधवार बिहान सो पार्टीले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न सचिवालय बैठक बोलाएको छ । नेता खनालले नीतिगत, कार्यक्रमिक, योजना र भिजनमा गठबन्धनले यसरी जान्छौं भन्ने खाका प्रस्तुत गरे सरकारमा जान कुनै समस्या नहुने प्रारम्भिक प्रतिक्रिया दिए । सरकारमा जानका लागि सत्तारुढ गठबन्धनसँग याचना नगर्ने उनको अडान थियो ।

सम्मानित नेता खनालले सत्तारुढ गठबन्धनले सहमतिका साथ जानका लागि गरिएको प्रस्ताव आफ्नो पार्टीले अस्वीकार नगर्ने पनि बताए।

उनले आफ्नो पार्टीले वाम एकताको पक्षमा भईरहेको प्रयत्नलाई झनै प्रखर ढंगले अघि बढाउने बताए । उनले पछिल्लो राजनीतिक घटनाक्रमले मुलुकलाई संकटबाट जोगाउने आशा आफूहरुमा पलाएको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्