नयाँ गठबन्धन बन्ने भएपछि प्रधानमन्त्रीले भने- कम्युनिष्ट एकताको पहल थालेका छौँ



काठमाडौं ।

प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट एकताको लागि पहल गरेको बताएका छन्।

कांग्रेससहितको सत्ता गठबन्धन भत्किएर एमालेसँग नयाँ गठबन्धन बनाउने सहमतिपछि प्रचण्डले फेरि कम्युनिष्ट एकताको पहल गर्ने बताएका हुन्।

प्रधानमन्त्री प्रचण्डले बालुवाटारमा आज बिहान सुखानी सहिदका परिवारसँगको भेटका क्रममा उक्त कुरा बताएका हुन्। प्रधानमन्त्री प्रचण्डले भने, “सहिदप्रति उच्च सम्मान छ, आजैको मितिदेखि कम्युनिष्ट एकताका लागि थप पहल गरेका छौँ।”

तत्कालीन पञ्चायती शासकले २०२९ फागुन २१ गते रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई सुखानीको जङ्गलमा हत्या गरेको थियो।

सुखानीको जङ्गलमा मारिएका पाँच जना ‘कम्युनिष्ट क्रान्तिकारी’हरुको स्मरणमा एक साता सहिद सप्ताह मनाइएको छ। कम्युनिष्ट आन्दोलन र जनयुद्ध जोड्नुपर्छ भनेर फागुन १४ देखि २१ सम्म सहिद सप्ताह मनाउन सुरु गरिएको छ।

प्रतिक्रिया दिनुहोस्