लुम्बिनीमा त्रिपिटक पाठ सुरु 

बुद्धको शिक्षा विश्वव्यापी बनाउन ध्यान दिवस घोषणा गर्न जरुरी : गृहमन्त्री श्रेष्ठ



बुटवल। 

बुद्ध जन्मस्थल लुम्बिनीमा तेस्रो अन्तर्राष्ट्रिय त्रिपिटक वाचन आइतबारदेखि सुरु भएको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले एक समारोहका बीच  तीन दिने  त्रिपिटक (पाठ) को शुभारम्भ गरे ।

अखिल नेपाल भिक्षु महासंघको आयोजना तथा लुम्बिनी विकास कोषसहित विभिन्न संस्थाको सह आयोजनामा लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा त्रिपिटक वाचन सुरु गरिएको हो । शुभारम्भ समारोहलाई सम्बोधन गर्दै उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले बुद्धको शिक्षा आधुनिक विज्ञानले समेत आत्मसाथ गरेको बताउँदै विश्वभर ‘अन्तर्राष्ट्रिय ध्यान दिवस’ मनाउनुपर्ने बताए ।

एउटा मेरो मनको इच्छा छ, प्रधानमन्त्रीसँग पनि छलफल गरेर बुद्धको मेन टिचिङ जुन छ, त्यसलाई विश्वव्यापी बनाउन ‘इन्टरनेशनल मेडिटेशन डे’ का रुपमा घोषणा गर्न संयुक्त राष्ट्र संघमा प्रस्ताव गर्ने पक्षमा रहेको उपप्रधानमन्त्री श्रेष्ठले भने । उनले संयुक्त राष्ट्र संघका महासचिव एन्टिरियो गुटरेसले लुम्बिनी भ्रमण गरेर काठमाडौंमा भेट हुँदा बुद्धको शिक्षाको मुख्य भागका रुपमा रहेको ध्यान विधिलाई योग दिवस जस्तै गरी अन्तर्राष्ट्रिय ध्यान दिवस घोषणाका लागि सघाउन अनुरोध गरेको सुनाए ।

उनले मेडिटेसनलाई गृहमन्त्रालयले सुरुवात गरिसकेको समेत बताउँदै आफ्नो मन्त्रालयले सुशासन र अपराधको क्षेत्रमा काम गर्नुपर्ने दायित्व भएको बताए। अब मान्छेलाई स्वरुपान्तरणले मात्रै सुशासन र अपराध न्यूनीकरण गर्ने बताउँदै यसका लागि ध्यान नै उपयोगी हुने बताए । ‘गृहमन्त्रालयमा १५ मिनेट ध्यान गरेर मात्रै काम गर्ने अभियान सुरुवात नै गरिसकेका छौं, अब कारागारहरुमा पनि ध्यान विधि सुरुवात गराउने अभियानमा छौं’ उनले भने ।
बुद्धले आफ्नो बाटो आफैले हिँड्नुपर्छ भनेर भन्नुभएको छ, त्यसैले आधुनिक विज्ञानले पनि बुद्धको शिक्षालाई आत्मसाथ गरेको छ’ उनले भने । तेस्रो अन्तर्राष्ट्रिय त्रिपिटक पाठले बुद्धको शिक्षालाई फैलाउन निकै महत्त्वपूर्ण योगदान गर्ने उनले बताए ।

कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले बुद्धको दर्शन र विचारलाई विश्वले अङ्गीकार गरेकाले त्यसलाई फैलाउनका लागि त्रिपिटक जस्तो कार्यक्रमले ठूलो सहयोग गर्ने बताए ।  त्रिपिटकमा बुद्धका ज्ञान र शिक्षाहरुको संग्रह भएकाले यस्ता कार्यक्रम प्रत्येक जिल्ला र प्रदेशमा गर्नुपर्ने उनको कथन थियो ।

उद्घाटन समारोहमा चोकी निमा रिन्पोछेले बुद्व दर्शन तर्कमा आधारित रहेकाले वैज्ञानिक रहेको बताए ।

 त्रिपिटक पाठमा छिमेकी देश भारत, श्रीलंका, थाइल्याण्ड तथा म्यानमारबाट समेत पाहुनाहरुको उपस्थिति रहेको थियो । तीन दिने पाठमा भारतका बैद्ध तिर्थस्थल बोदगया, सारनाथ, कुशिनगर, राजगृह, श्रावस्तीका भिक्षु भिक्षुणी सहित देशका विभिन्न जिल्लाबाट उपासक उपासिकाहरुको उपस्थिति रहेको छ ।

प्रतिक्रिया दिनुहोस्