सरकारको स्वार्थ लुम्बिनीको प्रचारप्रसार र विकास



बुटवल ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले प्रदेश सरकारको स्वार्थ लुम्बिनीको प्रचार प्रसार र यसक्षेत्रको विकास रहेको भन्दै अर्को कुनै स्वार्थ नभएको बताउनुभएको छ।

मुख्यमन्त्री चौधरीले लुम्बिनी प्रदेश सरकारले आयोजना गर्न लागेको लौरियट्स एन्ड लिडर्स शिखर सम्मेलनको एकमात्र उद्देश्य लुम्बिनीको ‘ब्रान्डिङ’ गर्ने रहेको बताउनुभएको छ ।

विभिन्न मुलुकका ९ जना नोबेल शान्ति पुरस्कार विजेतासहित विदेशी दातृ निकायका प्रतिनिधिको सहभागितामा लुम्बिनी प्रदेश सरकारले यही फागुन २८ र २९ गते लुम्बिनीमा लौरियट्स एन्ड लिडर्स चौथो शिखर सम्मेलन आयोजना गर्दै छ।

शिखर सम्मेलनबारे प्रदेश सरकारका सत्ता साझेदार राजनीतिक दल तथा विभिन्न क्षेत्रबाट हुने गरेका टीकाटिप्पणीबारे प्रस्ट्याउँदै मुख्यमन्त्री चौधरीले लुम्बिनीमा हुने शिखर सम्मेलन शान्ति र बालबालिकाको विषयमा मात्र सम्बन्धित रहेको र लुम्बिनीको ब्रान्डिङबाहेक केही नरहेको दाबी गर्नुभयो।

शान्तिभूमि लुम्बिनीलाई विश्वसामु परिचित गराउन ‘बालबालिका, विकास र शान्तिको लौरियट्स एन्ड लिडर्स चौथो शिखर सम्मेलन आयोजना गरिएको उहाँको भनाइ थियो।

मुख्यमन्त्री चौधरीले शिखर सम्मेलनको माध्यमबाट विदेशी दातृ निकायहरु लुम्बिनीमा लगानीका लागि आकर्षित हुने र यसक्षेत्रको समृद्धिमा पनि सम्मेलन फलदायी हुने दाबी गर्नुभयो।

मुख्यमन्त्रीका अनुसार सम्मेलनमा विभिन्न देशका ९ जना नोबेल शान्ति पुरस्कार विजेताहरु लुम्बिनी आउने निश्चित भइसकेको छ। सम्मेलनमा ३ सय विज्ञ सहभागी हुनेछन् । सम्मेलनमा विभिन्न देशका २ सयभन्दा बढी विकास साझेदार सहभागी हुने निश्चित भइसकेको छ।

उनीहरुलाई लुम्बिनीमा मात्र नभई पाल्पा, प्युठानको स्वर्गद्वारी, बर्दिया राष्ट्रिय निकुञ्जलगायतका क्षेत्रमा अवलोकनका लागि लैजाने कार्यक्रम रहेको छ।

फागुन २८ गते लुम्बिनी सम्मेलन केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने सो शिखर सम्मेलनमा शान्ति र बालबालिकाका विषयमा १० वटा कार्यपत्र प्रस्तुत हुनेछन्।

सम्मेलनका लागि प्रदेश सरकारले बजेटमै ६ करोड ५० लाख रुपियाँ छुट्याएको भए पनि विभिन्न दातृ निकायबाट सहयोग जुटेपछि सरकारको २ करोड रुपियाँभन्दा बढी खर्च नहुने मुख्यमन्त्री चौधरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्