‘भ्रष्टाचारको छानबिन अघि बढाउँदा ठूलै दबाब आउने गर्दछ’

3.67k
Shares

ललितपुर ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारको छानबिन अघि बढाउँदै ठूलै दबाब आउने गरेको बताउनुभएको छ।

रोटरी क्लब अफ पाटन हेरिटेजले शनिबार पाटन संग्रहालय परिसरमा आयोजना गरेको ‘गृहमन्त्रीसँग समृद्धि र सुशासन कुरा’ विषयक कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो।

नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने, ललिता निवासको जग्गा अतिक्रमण, सुन तस्करीदेखि बाँसबारीको सार्वजनिक जग्गा अतिक्रमणसम्मको सन्दर्भ जोड्दै गृहमन्त्री श्रेष्ठले भन्नुभयो– ‘सुशासन कायम गर्न दृढतासाथ लागिपर्दा पनि ठूलै दबाब आउने गरेको छ । राम्रो काम गर्न निकै कठिन छ ।’

उहाँले भन्नुभयो– ‘भ्रष्टाचारको छानबिनका क्रममा राजनीतिक नेतृत्व तहमा रहेका नेतालाई समात्यो, दलका नेता र पार्टीबाट दबाब आउँछ । कर्मचारीलाई समात्योे, कर्मचारीका ट्रेड युनियनहरु सरकारले काम गर्न दिएन भनेर आन्दोलनमा उत्रिन्छन्। व्यवसायीलाई पक्राउ गर्दा व्यवसायी संगठनले विज्ञप्ति निकालेर विरोध गर्छन्।’

राजनीतिक नेतृत्व, उच्चपदस्थ कर्मचारी र पहुँचवाल तथा सम्पत्ति भएका वर्गले आपसी मिलेमतोमा जालसाजी, कीर्ते र ठगी गरी राज्यको स्रोत र साधनमा ब्रम्हलुट गर्ने, सार्वजनिक सम्पत्ति कब्जा गर्ने, सोझा सिधा जनतालाई ठगी गर्ने क्रम नरोकिएसम्म नेपाल सही अर्थमा समृद्धि दिशातर्फ अघि नबढ्ने पनि गृहमन्त्री श्रेष्ठको कथन रहेको छ।

संविधान जारी भएको ९ वर्ष बितिसक्दा पनि आर्थिक विकासको अपेक्षा पूरा नहुनुमा सुशासनको अभाव नै मुख्य कारण रहेको निष्कर्ष निकाल्दै आफूले ज्यान हत्केलामा राखेर भ्रष्टाचारको छानबिनको प्रक्रिया अघि बढाएको गृहमन्त्री श्रेष्ठले बताउनुभयो ।

उहाँले सुशासनको पक्षमा उद्योगी, व्यवसायीहरु पनि लाग्नुपर्ने खाँचो औंल्याउँदै टेबुलमुनिबाट पैसा बुझाएर, पहुँच र प्रभावको भरमा ठूलाठूला ठेक्का हात पार्ने र सधैंभरि कमिसनको चक्करमा रमाउने सीमित वर्गको प्रभुत्व रहेसम्म बहुसंख्यक उद्योगी, व्यवसायी, मझौला उद्योगीहरु इमानदारपूर्वक उद्योगधन्दा गरी अघि बढ्न नसक्ने पनि बताउनुभयो।

‘देशको अर्थतन्त्र, राजनीतिमा दलाल वा बिचौलियाको जालो रहेसम्म न राजनीतिले जनमुखी भएर काम गर्न सक्छ । न, स्वदेशमै उद्योगधन्दा विकास गर्न सकिन्छ’ –गृहमन्त्री श्रेष्ठले भन्नुभयो ।

राजनीतिक परिवर्तन र मौलिक हकअधिकारलाई जनताले दैनिक जीवनमा अनुभूति गराउने तहसम्म पुर्‍याउन नसके जनताका लागि हरेक राजनीतिक परिवर्तनको खासै अर्थ नरहने अवस्था आएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले भन्नुभयो– ‘अहिलेको राजनीतिक परिवर्तनलाई अनुभूति गराउन सामाजिक न्यायसहित आर्थिक समृद्धिको रुपान्तरणलाई ध्यान दिनैपर्दछ ।’

आर्थिक समृद्धि र विकासको मुख्य सर्त भनेको सुशासन रहेको कुरालाई पनि कसैले नजरअन्दाज गर्न नमिल्ने बताउँदै गृहमन्त्री श्रेष्ठले राजनीतिक नेतृत्व, उच्चपदस्थ कर्मचारी र पहँुचवाला र सम्पत्ति भएका वर्गले आपसी स्वार्थका लागि राज्यको दोहन गर्ने प्रवृत्तिले गर्दा नेपालले आर्थिक विकासमा फड्को मार्न नसकेको बताउनुभयो ।

मन्त्री श्रेष्ठले सुशासन, सामाजिक न्यायसहित आर्थिक विकासका लागि गुणात्मक हस्तक्षेप गर्न नसकिने स्थितिमै अर्को राजनीतिक परिवर्तनपछि पनि यथास्थितिले नै निरन्तरता पाउने अवस्थामा मुलुक क्रमशः असफल राष्ट्रतर्फ धकेलिने खतरा रहेको पनि बताउनुभयो।

उहाँले भन्नुभयो– ‘यसले गर्दा आजको कार्यभार सामाजिक न्यायसहितको समृद्धिको दिशामा हुनुपर्दछ । सुशासन कायम गर्ने महत्वपूर्ण कार्यभार हुनुपर्दछ । सुशासन भएन भने विकास हुँदैन।’

नेपाल र नेपालीले रेमिट्यान्स, वैदेशिक सहयोग र भन्सारको शुल्कले मात्र बाँच्न नहुनेमा जोड दिँदै उहाँले पँुजी निर्माण, पुँजीगत क्षमता बढाउने र व्यापारघाटा कम गर्नेतर्फ अघि बढेमा मात्र मुलुकमा राष्ट्रिय स्वाधिनतासहित आत्मनिर्भर अर्थतन्त्र उकास्न सकिने धारणा पनि राख्नुभयो ।

युवाहरू विदेसिने र उतै पलायन हुने क्रम बढेकाले देश वृद्धाश्रम बन्ने खतरा रहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले रेमिटेन्स आयो भनेर खुसी हुने अवस्था नरहेको बताउनुभयो । हरेक नेपालीलाई आशावादी भएर काम गर्न प्रेरित गर्नुपर्ने पनि आजको खाँचो रहेको मन्त्री श्रेष्ठको कथन रहेको छ।

राजनीतिक पार्टीको नभए पनि क्षमता र ज्ञान भएमा राजनीतिक नियुक्ति गर्न सकिने परम्पराको शुरुआत गर्न खोजेको पनि उहाँले बताउनुभयो।