समयसापेक्ष संविधान संशोधन जरुरी : पूर्वराष्ट्रपति यादव

364
Shares

मोरङ।

पूर्वराष्ट्रपति डा रामवरण यादवले वर्तमान नेपालको संविधान समयसापेक्ष संशोधन हुनुपर्नेमा जोड दिएका छन् ।

सुशील कोइरालाको आठौँ स्मृति दिवसका अवसरमा सुशील कोइराला फाउण्डेशनको आयोजनामा आज यहाँ आयोजित ‘संविधान कार्यान्वयनका चुनौती र आजको राजनीति’ विचारगोष्ठी कार्यक्रममा उनले वर्तमान संविधान जारी गर्न स्व कोइरालाको महत्त्वपूर्ण भूमिका रहेको चर्चा गरे ।

“वर्तमान संविधान जारी हुनुमा निष्ठावान र इमान्दार राजनीतिज्ञ तत्कालीन प्रधानमन्त्री कोइरालाको भूमिका महत्तवपूर्ण छ । उहाँ अनुशासित एवं तपस्वी नेता हुनुहुन्थ्यो”, पूर्वराष्ट्रपति यादवले भने ।

त्यस अवसरमा पूर्वसभामुख दमननाथ ढुङ्गानाले संविधान कार्यान्वयनमार्फत राष्ट्रिय आवश्यकता पूरा गर्नुपर्ने भन्दै त्यसको जिम्मेवारी नेपाली कांग्रेसको काँधमा आएको धारणा राखे । उनले तत्कालीन समयमा धेरैले वर्तमान संविधान जारी गर्नबाट रोक्ने प्रयास गरेको उल्लेख गर्र्दै तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको सफल नेतृत्वकै कारण संविधान जारी भएको बताए ।

पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले लामो सङ्घर्ष र सफल नेतृत्वका कारण संविधानमा बहुलवाद, आवधिक निर्वाचन, स्वतन्त्र न्यायपालिकालगायतका विषय समावेश गर्न सफल भएको स्मरण गरे । उनले संविधानमार्फत व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन नभएकाले समयसापेक्ष संविधान संशोधन जरुरी रहेको बताए।

संविधानसभा सदस्य एवं पूर्वमन्त्री रोमी गौचनले संविधान सम्झौताको दस्तावेज भएकाले समयअनुसार संशोधन गर्दै सबैका लागि स्वीकार्य बनाउनुपर्नेमा जोड दिए । उनले स्व कोइराला एक इमान्दार नेता हुनुहुन्थ्यो भन्दै वर्तमान संविधान जारी गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेको चर्चा गरे ।

राजनीतिक विश्लेषक प्रा कृष्ण हाछेथुले स्व कोइराला दूरदर्शी नेता भएकाले संविधान जारी हुनसकेको बताए । उनले संविधानलाई गतिशील बनाउन समयसापेक्ष संशोधन पनि जरुरी भएको उल्लेख गरे ।

फाउण्डेशनका अध्यक्ष मृदुला कोइरालाले स्व कोइराला लोकतन्त्रको लडाइँमा अग्रणी भूमिका निर्वाह गर्नुका साथै दलका नेताहरुलाई एक ठाउँमा ल्याई संविधान जारी गर्न सफल हुनुभएको चर्चा गरे ।