अदालतबाट महँगा हेल्मेट चोर्ने पक्राउ

3.3k
Shares

काठमाडौं ।

सार्वजनिक स्थानबाट सर्वसाधारणको महँगा हेल्मेट चोर्ने गिरोहका नाइकेलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं जिल्ला अदालत परिसरमा हेल्मेट चोरी गर्दा गर्दै अदालतको सुरक्षार्थ खटिएको प्रहरीले चोेरका नाइकेलाई पक्राउ गरेको हो ।

काठमाडौं जिल्ला अदालतमा आउने सेवाग्राहीका महँगा महँगा हेलमेट चोरी हुने गरेको गुनासो बढेपछि अदालतको सुरक्षार्थ खटिएका प्रहरीले निगरानी बढाएका थिए । सोही क्रममा बिहीबार हेल्मेट चोरी गर्दा गर्र्दै गिरोहका नाइकेलाई रङ्गेहात पक्राउ गर्न सफल भएको काठमाडौं जिल्ला अदालत सुरक्षा इकाई प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक धनप्रसाद श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार पक्राउ पर्नेमा गोरखा जिल्ला घर भई काठमाडौं सुन्धारामा डेरा गरी बस्ने २७ वर्षीय सञ्जय थापा रहेका छन् । पक्राउ परेका थापालाई काठमाडौं जिल्ला अदालतले पाँच दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको छ । साथै अदालतले प्रहरीलाई हेल्मेट चोरी गर्ने र त्यसको कारोबार गर्ने गिरोह नै हुनसक्ने भन्दै प्रहरी वृत्त सिंहदरबारलाई थप अनुसन्धान गर्ने पत्राचारसमेत गरेको छ ।

लामो समयदेखि सर्वसाधारणका हजारौं मूल्य पर्ने हेल्मेट दैनिक चोरी हुने गरेको गुनासो आएपछि निगरानी गर्न सादा पोशाकमा प्रहरी परिचालन गरिएको सोही क्रममा फागुन १७ गते अदालतको मुलगेट छेउबाट थापालाई पक्राउ गरिएको जानकारीसहित प्रहरी वृत्त सिंहदरबारलाई अदालतले पत्रचार गरेको छ ।

यसैबीच हेल्मेट चोरलाई रङ्गेहात पक्राउ गर्न सफल भएका प्रहरीलाई जिल्ला अदालत काठमाडौंले पुरस्कृतसमेत गरेको छ । पक्राउ परेका थापाले आफूले चाेरी गरेका हेल्मेट पठाओ राइडरहरुलाई बिक्री गर्ने गरेको बयान दिएको प्रहरीले जनाएको छ ।