काठमाडौँ महानगरले आतङ्क मच्चायो : प्रभु साह



काठमाडौँ ।

आम जनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु साहले अहिले काठमाडौंमा महानगरको आतङ्क मच्चिएको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै साहले  भने,‘काठमाडौंमा महानगरको आतङ्क चलेको छ । सडकमै स्वरोजगार मजदुरहरु कुटिन्छन् । कवाड व्यवसायीहरुको डोजर चलाइएको छ । कतै सुकुम्बासीहरुलाई आतंकित बनाइएको छ । महानगरपालिकामाथि कानुन लाग्छ कि लाग्दैन् ? यदि लाग्छ भने सरकारले महानगरपालिकालाई नियमन गरोस भनेर म आग्रह गर्न चाहन्छु । अहिले कवाड व्यवसायीहरु महानगरबाट आतंकित छन् । उनीहरु असुरक्षित छन् । उनीहरु त्रसित छन् । हरेक व्यक्तिले व्यापार तथा व्यवसाय गर्न पाउँछ, यो उसको संवैधानिक हक हो । त्यसको रक्षा राज्यले गर्ने हो कि होईन ?’

उनले कवाड व्यवसायीहरुको सुरक्षाको प्रत्याभुति गर्नको लागि गृहमन्त्रालयको ध्यानाकार्षण गराए । कसैलाई पनि गैरकानूनी ढंगले आफ्नो पेशा तथा व्यवसायबाट बञ्चित गर्न नमिल्ने उनको तर्क छ ।  उनले थपे–‘आज काठमाडौँ महानगरपालिकाले कवाड व्यवसायीहरुलाई मनोमानी ढंगले आतङ्क सिर्जना गरेर दुःख दिने काम गरेको छ । जबरजस्ती भगाउने काम भएको छ । लाखौंलाई बेरोजगार बनाउने प्रयास भएको छ ।’

प्रतिक्रिया दिनुहोस्