अनुगमन तथा मूल्याङ्कन विधेयक सर्वसम्मतिले पारित



काठमाडौँ।

प्रतिनिधिसभाको आजको बैठकबाट ‘अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ सर्वसम्मतिले पारित भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभामा पेस गरेकी थिइन् । प्रतिनिधिसभाको आजको बैठकमा उक्त विधेयकमाथि राज्य व्यवस्था तथा सुशासन समितिले दिएको प्रतिवेदनसहितको छलफल भएको थियो ।

राष्ट्रियसभामा उत्पत्ति भएको यो विधेयकले विकास नीति तथा योजना, कार्यक्रम तथा आयोजनाको अनुगमन एवं मूल्याङ्कनलाई व्यवस्थित गर्ने उद्देश्य राखेको छ । विकास प्रक्रियालाई नतिजामूलक र पारदर्शी बनाई सार्वजनिक जवाफदेहिता सुनिश्चित गर्न यो कानुन आवश्यक रहेको सञ्चारमन्त्री शर्माले बताइन्।

बदलिँदो शासकीय स्वरुपअनुरुप विकास प्रक्रियालाई रुपान्तरण गर्न तथा विकासको मूलप्रवाहमा सबै वर्ग समाहित हुने वातावरण सिर्जना गर्न यो कानुन आवश्यक रहेको मन्त्री शर्माले उल्लेख गरिन् ।

सङ्घ, प्रदेश र स्थानीय तहका विकास आयोजनाको अनुगमन तथा मूल्याङ्कनका आधार, चरण, मापदण्ड, अनुगमन गर्ने निकायलगायतका व्यवस्था विधेयकमा राखिएका छन् । अनुगमन एवं मूल्याङ्कनको काम नियमित तथा आवधिक रुपमा गर्ने, सार्वजनिक निकायका प्रमुखको जिम्मेवारी निर्दिष्ट गरी जवाफदेही बनाउनेलगायत लक्ष्य लिइएको छ ।

प्रतिनिधिसभाको अर्को बैठक यही फागुन २१ गते सोमबार बिहान ११ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्