अर्को वर्ष चैतमा ६२ क्याम्पसको स्ववियु निर्वाचन हुँदै

स्ववियुविहीन १२ र सम्बन्धन क्याम्पसमा पनि सँगसँगै



काठमाडौं ।

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) १२ आंगिकसहित ६२ वटा सम्बन्ध क्याम्पसको निर्वाचन अर्को वर्ष हुने भएको छ।

उपत्यकासहित देशभरका १२ क्याम्पसमा निर्वाचन स्थगित भएको थियो। त्रिभुवन विश्वविद्यालयअन्तर्गत ६२ आंगिक क्याम्पस छन्, तीमध्ये ५० वटामा मात्र निर्वाचन भएको थियो।

उपत्यकाको त्रिचन्द्र, रत्नराज्य, विश्वभाषा र नेपाल कमर्स क्याम्पस गरी ४, उपत्यका बाहिर कास्कीको इन्जिनियरिङ, पृथ्वीनारायण, पोखरा नर्सिङ, वीरगन्जको ठाकुरराम, चितवनको चितवन इन्जिनियरिङ र वीरेन्द्र बहुमुखी, महेन्द्रनगरको सिद्धनाथ बहुमुखी र डोटी बहुमुखी क्याम्पसमा निर्वाचन स्थगित भएको थियो । प्रदेशगत रुपमा लुम्बिनी र कर्णाली प्रदेशको सबै जिल्लाका आंगिक क्याम्पसमा निर्वाचन भएको थियो।

त्रिवि केन्द्रीय निर्वाचन तथा अनुगमन समितिका सदस्य सचिव त्रिवि एवं विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले स्थगित भएका र अन्य सबै क्याम्पसमा आउँदो वर्ष निर्वाचन हुने जानकारी दिनुभयो । उहाँका अनुसार हरेक दुई वर्षमा हुने निर्वाचन आगामी २०८१ साल चैतमा गर्ने छ ।

नेविसंघको बागी र विद्यार्थी संगठनबीच आन्तरिक द्वन्द्वका कारण निर्वाचन स्थगित भएको थियो। त्रिविले ती क्याम्पसमध्ये अधिकांशमा प्रक्रिया शुरु गरेको थियो तर विद्यार्थी संगठनबीच असमझदारीको कारण समस्या आएपछि स्थगित भएको हो।

स्थगित भएका क्याम्पसले ३० दिनभित्र निर्वाचन सम्पन्न गरिसक्नुपर्ने व्यवस्था भए पनि कार्यान्वयन हुन सकेन। स्ववियु निर्वाचनसम्बन्धी निर्देशिका–२०७९ मा चैत ५ गते निर्वाचन स्थगित भए त्यसको ३० दिनभित्र निर्वाचन सम्पन्न गर्नुपर्ने बाध्यकारी व्यवस्था थियो। तर क्याम्पस प्रमुखले विद्यार्थी संघसंगठनसँग छलफल गरे पनि सम्भव भएन। अन्तिममा विद्यार्थी संघ, संगठनबीच कुरा नमिलेका कारण १२ आंगिक क्याम्पसमा निर्वाचन हुन सकेको छैन ।

‘स्थगित क्याम्पसमा अब निर्वाचन गर्न सक्ने अवस्था छैन, आउँदो वर्ष सबै क्याम्पसमा एकैसाथ निर्वाचन गर्ने तयारीमा छौं’ –निर्देशक अधिकारीले नेपाल समाचारपत्रसँग भन्नुभयो । उहाँले आगामी वर्ष निर्वाचन गर्नका लागि आन्तरिक तयारी शुरु गरिसकेको बताउनुभयो ।

क्याम्पस र विद्यार्थी संघसंगठनका कारण देशभरका एक दर्जन क्याम्पस स्ववियुविहीन छ। देशको सबैभन्दा धेरै विद्यार्थी भएको पृथ्वीनारायण क्याम्पसमा समेत निर्वाचन स्थगित भएको छ।

गत वर्ष देशभर ५० आंगिक र करिब ३ सय ५० भन्दा बढी सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन भएको थियो । अझै करिब ६ सय ५० क्याम्पसमा निर्वाचन भए नभएको रेकर्ड छैन । निर्देशनालयका अनुसार १५ वर्षपछि गत वर्ष निर्वाचन भएको थियो।

त्रिविको शैक्षिक क्यालेन्डरमा प्रत्येक २–२ वर्षमा फागुन १४ मा स्ववियु निर्वाचन गर्ने कार्यतालिका छ। गत वर्ष चैत ५ मा भएको थियो। यसअघि २०७३ सालमा ६२ मध्ये २६ क्याम्पसमा मात्र निर्वाचन भएको थियो।

पछिल्लो १५ वर्षदेखि त्रिविलगायत उपत्यकाका १३ र उपत्यका बाहिरका २३ क्याम्पसमा निर्वाचन हुन सकेको छैन। विसं २०६५ मा निर्वाचन भएको थियो।

विसं २०७३ सालमा उपत्यकाका ९ र उपत्यका बाहिरका १७ गरी २६ वटा क्याम्पसमा मात्र निर्वाचन भएको थियो । देशभर ६२ आंगिक क्याम्पस सञ्चालित छन्।

त्रिविले २८ वर्ष उमेर हद र मिश्रित निर्वाचन प्रणाली लागू गरेपछि २०७३ सालमा निर्वाचन भएको थियो।

प्रतिक्रिया दिनुहोस्