फर्जी हाजिर गराई डेढ लाख तलब घोटाला गर्नेविरुद्ध अख्तियारको मुद्दा



काठमाडौं ।

श्री राष्ट्रिय माध्यमिक विद्यालय लौकहीका प्राथमिक तहका शिक्षक बालेश्वर यादवले विधालयमा उपस्थित नभई करिब डेढ लाख रुपियाँ तलब लिएको विषयमा विशेष अदालत काठमाडौंमा मंगलबार मुद्दा परेको छ ।

सरकारी कामकाज नगरी विद्यालयलाई हानि पुर्‍याई आफूलाई गैरकानुनी लाभ पुर्‍याएको अभियोगमा विद्यालयका तीन जना तत्कालीन प्रधानाध्यापकसहित रकम बुझ्ने शिक्षक यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो।

उहाँले राज्यलाई हानि र यादवलाई गैरकानुनी लाभ पुर्‍याएकाले सो कार्य भ्रष्टाचारजन्य कसुर भएको पुष्टि भएको दाबी गर्नुभयो।

सुनसरीको कोशी गाउँपालिका–१ स्थित सो माविमा ९१ दिनको फर्जी हाजिरी जनाई तथा ४७ दिन अनुपस्थित भए पनि यादवले सोही अवधिको १ लाख ३० हजार ८ सय ४३ रुपियाँ दुई पैसा तलब लिनुभएको पाइएको छ।

विद्यालयका तत्कालीन प्रधानाध्यापक धनीलाल यादव, भोली यादव र वीरेन्द्रप्रसाद यादवले शिक्षक यादवलाई तीनपटक गरी सो रकम दिनुभएको अख्तियार अनुसन्धान आयोगले जनाएको छ ।

न्युरो मेडिकल कलेज विराटनगर मोरङमा शैक्षिक वर्ष २०७५/०७६ देखि ३ वर्षे अध्ययन अवधिमा विद्यालयमा अनुपस्थित भएको अवधिको तलब भत्ता सुविधा लिएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान गर्दा सो स्थिति पाइएको आयोगले जनाएको छ।

शिक्षक यादवले न्युरो हेल्थ कलेज विराटनगरमा अध्ययनरत रहेको अवधिमध्ये मिति २०७५ आश्विनदेखि २०७६ फागुनसम्मको विद्यालय तथा गाउँपालिकाको कार्यालयसमेतको ३५ दिन फर्जी हाजिरी गरेको पाइएको छ ।

त्यस्तै धनीलाल यादव प्रधानाध्यापक रहँदा गाउँपालिकाको कार्यालयमा काज कार्यरत रहँदा हाजिर खाली भई गयल रहेको अवधि ३७ दिनको समेत गरी जम्मा .६४ हजार ९ सय रुपियाँ ४४ पैसा भुक्तानी लिएका थिए।

त्यसै गरी शिक्षक यादवले २०७७ माघदेखि २०७८ कात्तिकसम्म ३४ दिनको फर्जी हाजिरी गराई .३३ हजार ६ सय १८ रुपियाँ ४२ पैसा तलब भत्ता लिनुभएको थियो। सो रकम प्रधानाध्यापक पदको जिम्मेवारीमा रहँदा शिक्षक भोली यादवले शिक्षक यादवलाई दिलाउनुभएको थियो।

शिक्षक यादवले २०७८ साल मंसिरदेखि २०७८ साल फागुनसम्मको विद्यालयमा २२ दिन फर्जी हाजिरी गरी सो अवधिको १० दिनसमेतको गरी ३२ हजार ३ सय २४ रुपियाँ लिनुभएको थियो। त्यस बखत विद्यालयमा प्रधानाध्यापकको जिम्मेवारी शिक्षक वीरेन्द्रप्रसाद यादवले सम्हाल्नुभएको थियो।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (३) बमोजिमको कसुर भएकाले निज उपर सोही ऐनको सोही दफाको सोही उपदफामा उल्लेख भएअनुसार हदैसम्मको कैद तथा बिगोबमोजिम जरिवाना हुन समेत सजायको मागदाबी लिइएको आयोगले जनाएको छ।

शिक्षक यादवलाई १ लाख ३० हजार ८ सय ४३ रुपिया“ दुई पैसा बिगो र तीन जना प्रधानाध्यापकलाई भुक्तानी दिएको रकम बराबरको बिगो कायम गरिएको छ।

प्रतिक्रिया दिनुहोस्