पुरानै रजिस्ट्रार र रेक्टरलाई निमित्तको जिम्मेवारी

१३ गतेदेखि लागू हुने गरी पत्र दिइयो



काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बरालले कानुनका डीन डा. कृष्णप्रसाद बस्याललाई निमित्त रजिस्ट्रार र कृषि तथा पशु विज्ञान अध्ययन संस्थानका डीन प्रा. भार्गब धिताललाई निमित्त रेक्टरको जिम्मा दिनुभएको छ।

उहाँले अघिल्ला उपकुलपति प्राडा शिवलाल भुसालको पालामा नियुक्त भएका दुवै जनालाई निरन्तरता दिनुभएको हो । आफूले पदबहाली गर्दा भागवण्डाको विरोध गरेका उपकुलपति प्राडा बरालले पदबहाली भएको दुई दिनमा रजिस्ट्रारमा कांग्रेस र रेक्टरमा माओवादी निकटका प्राध्यापकलाई नियुक्ति गर्नुभएको हो।

उपकुलपति प्राडा बराल फागुन ११ गते पदबहाली हुनुभएको हो । स्रोतका अनुसार दुवै जनालाई फागुन १३ गतेबाट लागू हुने गरी रेक्टर र रजिस्ट्रारमा नियुक्ति गर्नुभएको हो।

‘पार्टीगत धारणा नराख्ने र स्वच्छ छविको उपकुलपति भएको भए दुई पदमा अर्कैलाई नियुक्ति गरिहाल्नुहुन्थ्यो नि, भागवण्डा मिलाउन हाललाई दुवै पद यथावत् राख्नुभएको हो’ –स्रोतले नेपाल समाचारपत्रसँग भन्नुभयो ।

रेक्टर प्रा भार्गब धिताललाई त्रिवि ऐन २०४९ को दफा १९ र रजिस्ट्रार बस्याललाई २०४९ को दफा २० को उपदफा ४ मा व्यवस्थाअनुसार अर्को व्यवस्था नभएसम्म निमित्तको काम गर्न तोकिएको छ। सो पत्रमा दुवै जनालाई संकायको डीन अतिरिक्तको जिम्मेवारीसमेत दिइएको छ ।

स्रोतका अनुसार कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धनमा सोही अनुसार भागवण्डा गर्ने योजनाअनुसार रेक्टर र रजिस्ट्रार नियुक्ति नहुन्जेलसम्म सोही दलबाट डीनलाई जिम्मेवारी दिएको हो। पुनः निमित्त पदमा नियुक्त भएका रेक्टर र रजिस्ट्रार उपत्यका बाहिर हुनुहन्छ ।

उपकुलपति प्राडा बरालले हाम्रोलाई भन्दा पनि राम्रोलाई जिम्मेवारी दिने अपेक्षामा रहेका त्रिविका उच्च तहका कर्मचारीले रेक्टर र रजिस्ट्रारमा दुवै जनालाई निमित्तको जिम्मेवारी दिएपछि आश्चर्य मानेका छन् । उपकुलपति प्राडा बरालले छोटो समयका लागि दुवै पदमा पुरानैलाई निमित्तको जिम्मेवारी दिएको बताउनुभयो।

उहाँले भन्नुभयो– ‘थोरै समयका लागि किन फेरबदल गर्नुप¥यो, चाँडै नै दुई पद नियुक्ति भैहाल्छन् नि ।’ छोटो समयका लागि भए पनि नयाँ अनुहारलाई नियुक्ति दिन मिल्दैनथ्यो र भन्ने प्रश्नमा उहाँको भनाइ थियो– ‘सक्थेँ, तर हाललाई परिवर्तन गरिनँ।’

चार दिनअघि पदबहाली गरेका उपकुलपति बराल भेटघाटमै व्यस्त हुनुहुन्छ । भेटघाट गर्न आउनेसँग बधाई लिँदालिँदै उहाँको ५ दिन बितिसकेको छ।

आउनेलाई रोक्न सकिँदैन, भेटघाटबाहेक अरु केही काम हुन सकेको छैन । उपकुलपति बरालले आफूले घोषणा गरेको योजनाअनुसार अघि बढ्ने स्पष्ट पार्नुभयो ।

पद बहालीका क्रममा उहाँले शैक्षिक पात्रो तयार गरी लागू गर्ने, समय अनुकूल पाठ्यक्रम परिमार्जन र तोकिएकै समयमा परीक्षाफल प्रकाशन गर्ने घोषणा गर्नुभएको थियो।

पहिलो प्राथमिकता शैक्षिक क्यालेन्डर तयार गरी लागू गर्ने, दोस्रो प्राथमिकतामा समयमै परीक्षाफल प्रकाशित गर्ने र तेस्रो प्राथमिकता पाठ्यक्रमलाई समयअनुकूल परिमार्जन गरी विश्व परिवेश सुहाउँदो बनाउने बताउनुभएको थियो।

चार महिनापछि त्रिभुवन विश्वविद्यालयको २० औं उपकुलपति हुनुभएको उपकुलपति प्राडा बरालले दोहोरो सुविधा नलिने बताउनुभएको छ । उहाँले हाजिर भएको दिनदेखि अर्थात् फागुन १० गतेबाट आफूले पेन्सन नलिएर त्रिविले उपलब्ध गराएको तलब मात्र लिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्