क्यालिफोर्नियामा मुक्तिनाथधाम मन्दिरको शिलान्यास



स्यानफ्रान्सिस्को।

अमेरिकाको क्यालिफोर्निया राज्यको बे एरियामा नेपालीहरुले स्थापना गर्न लागेको मुक्तिनाथधाम मन्दिरको  शिलान्यास गरिएको छ । रिचमण्डस्थित ५८०१ म्याकब्राइट एभेन्यूमा रहेको मन्दिर परिसरमा सोमबार एक विशेष पूजाअर्चना गरी पंण्डितहरु र धामका अध्यक्ष एवं पदाधिकारीहरूले संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।

  मुक्तिनाथ धामका अध्यक्ष अनिल पाण्डेले नेपालमा रहेको मुक्तिनाथ मन्दिर बाहेक नेपाल बाहिर शिलान्यास भई स्थापना हुन लागेको यो पहिलो मुक्तिनाथ धामको मन्दिर भएको बताए । ‘यो नेपाल र नेपाल बाहिर बस्ने नेपालीहरुको लागि मात्र नभएर विश्वका सबै हिन्दुहरुका लागि गौरवको क्षण हो किनभने मुक्तिनाथ धाम नेपालमा बाहेक अन्य स्थानमा छैन, उनले भने,पहिलो पटक नेपाल बाहिर क्यालिफोर्नियाको बे एरियामा स्थापना हुदैछ। ‘

अध्यक्ष पाण्डेका अनुसार फेब्रुअरी २७ वाट प्राणप्रतिष्ठा र लघुरुद्राभिषेकक कार्यको लागि मुक्तिनाथ धाम मन्दिरमा पाण्डेसहित वरिष्ठ उपाध्यक्ष पशुपति  कँडेल, उपाध्यक्ष दिक्पाल केसी र सल्लाहकार राजेश थापाको टोली गुप्त उपबास बस्नेछ । गुप्तवासको क्रममा मन्दिर परिसरमै मौन व्रत बस्ने, शिव जप, ध्यान एवं महामृत्युञ्जय तथा शिपपन्चाक्षरीको जप लगायका विशेष आराधना हुने उनले जानकारी दिए।  “बिदेशमा यति बिधि पुर्याएर एघार दिनसम्म एकाग्र भई गुप्तवास बसेर प्राण प्रतिष्ठापन गर्न लागिएको पहिलो पटक हो”- थापाले भने ।

मुक्तिनाथ धाम मन्दिरको शिलान्यास कार्यक्रमसँगै आगामी मार्च ८ मा महाशिवरात्रिको अवसरमा मन्दिरमा प्राणप्रतिष्ठा र लघु रुद्राभिषेकको विशेष तयारी सुरु गरिएको  र सबैको सहयोगमा मन्दिरको शिलान्यास कार्य सम्पन्न भएको सल्लाहकार राजेश थापाले बताए ।

 कार्यक्रममा नेपाली पंण्डितहरु पदमप्रसाद नेपाल, चक्रपाणि अर्याल र मधुसूदन खनालले स्वस्तीबाचन गरेका थिए भने धामका अध्यक्ष अनिल पाण्डे, वरिष्ठ उपाध्यक्ष पशुपति कंडे, उपाध्यक्ष दिक्पाल केसी, महासचिव गोपाल आचार्य, कोषाध्यक्ष, गीता रेग्मी, सल्लाहाकारहरु राजेश थापा, बालकृष्ण आचार्य लगायत कार्यसमितिका सदस्य एवं अन्य भक्तजनहरु उपस्थित भएर पूजाअर्चना गरेका थिए । धामका चीफ फाइनान्स अफिसर विशेष कामको लागि बाहिर रहेकोले कार्यक्रमका उपस्थित हुन नसकेको  धामका मिडिया  संयोजक भरत अधिकारीले बताए ।

अध्यक्ष पाण्डेले यस्तो विशेष प्रकारको धार्मिक एवं पुनीत कार्य नेपाल बाहिर पहिलो पटक हुन लागेकोले सबै बे एरियावासीलाई प्राणप्रष्ठिा एवं लघु रुद्राभिषेक समारोहमा सहभागिताको लागि आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्