वीरगञ्ज सुख्खा बन्दरगाह प्रकरण : ३ अर्बको अवैध वस्तु ल्याउने गिरोह को ?



काठमाडौं ।

वीरगञ्ज भन्सारस्थित सुख्खा बन्दरगाहमा ३ अर्बभन्दा बढीको अवैध वस्तुहरू ल्याउने गिरोहमा को–को संलग्न छन् भन्ने बारेमा गम्भीर छानबिन र अनुसन्धान हुन सकेको छैन।

स्रोतका अनुसार सो बन्दरगाहमार्फत् कर्मचारी, बिचौलिया र उच्च राजनीतिक नेतृत्वको सेटिङमा लामो समयदेखि प्रतिबन्धित र अवैध सामानहरू ल्याउने क्रम जारी रहँदै आएको थियो।

उनीहरूले सेटिङ गरी ती समानहरू बाहिर निकाल्ने गरेका थिए । यसअघि सो गिरोहले यसरी नै अर्बौं मूल्यका वस्तुहरू ल्याएर बाहिर निकाल्न सफल भएको दाबी स्रोतको छ। तर, यसपटक भने अख्तियार दुरूपयोग अनुसन्धान आयोगको निर्देशन र भन्सार विभागको सक्रियताले अवैध किसिमले ल्याउन लागिएका ३ अर्ब मूल्य बराबरका वस्तुहरू बरामद भएका छन् । बरामद भएका वस्तुहरूको लिलाम प्रक्रियासमेत थालिएको छ।

सामान बरामद भए पनि त्यसरी सामान ल्याउने गिरोहमा संलग्नहरूको खोजतलास हुन सकेको छैन। सामानहरू ल्याउँदा एलसी खोल्नुपर्ने र विभिन्न कागजी प्रक्रिया अपनाउनुपर्ने हुँदा ती कागजातको आधारमा गिरोहमा संलग्नहरू सजिलै पत्ता लाग्ने भए पनि त्यस बारेमा भन्सार नेतृत्व तथा अर्थ मन्त्रालयले चासो नदिनुले आशंका जन्माएको छ।

सुख्खा बन्दरगाहमा सेटिङ गर्ने गिरोहका बारेमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट समेत छानबिन हुनुपर्ने देखिएको छ । अख्तियारले अर्थ मन्त्रालय तथा भन्सार विभागलाई नै त्यस सम्बन्धमा आवश्यक छानबिन गर्न निर्देशन दिए पनि अर्थ मन्त्रालय र भन्सार विभागले सेटिङ गर्ने गिरोहका बारेमा कुनै छानबिन गर्न सकेको छैन ।

भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले सेटिङ गरी वस्तुहरू अवैध किसिमले ल्याउने गिरोहका बारेमा समेत छानबिन थालिएको दाबी गर्नुभयो । उहाँले राजस्व अनुसन्धान विभागसँग समेत समन्वय गरी ती वस्तुहरू ल्याउने पक्षको खोजतलास थालिएको जानकारी दिनुभयो ।

महानिर्देशक पौडेलका अनुसार मुख्य गिरोहले अर्कै व्यक्तिको नाममा फर्म खोलेर नक्कली कागजात बनाएकाले मुख्य गिरोह खोज्न कठिन देखिएको बताउनुभयो। ‘तर पनि वस्तु ल्याउनेहरूको सबै डकुमेन्ट मागिरहेका छौं, बदमासी गर्नेहरू कोही पनि छुट्दैनन्’ –भन्सार विभागका महानिर्देशक पौडेलले नेपाल समाचारपत्रसँग भन्नुभयो ।

भन्सार विभागले सुख्खा बन्दरगाहबाट बरामद भएका झन्डै ३ अर्ब मूल्यका वस्तुहरू लिलामका लागि आइतबार मात्रै सार्वजनिक सूचना आह्वान गरेको छ। विभागका अनुसार अवैध किसिमले ल्याइएका र बरामद गरी लिलाम प्रक्रिया थालिएकामा सुपारी ३ सय ५० मेट्रिक टन, पोस्तादाना १ सय ५० मेट्रिक टन, छोकडा ५ सय मेट्रिक टन रहेका छन् ।

ती सामानहरूको मूल्य करोडांै रहेको छ । यसै गरी ५ करोड ५५ लाख मूल्य बराबरको १३ हजार ९ सय ५ लिटर रसियन डाइमन्ड रक्सी, ४ करोड २७ लाख मूल्य बराबरको १० हजार ७ सय ५ लिटर रोयल मक्सा तथा १२ करोड मूल्य बराबरको ४५ हजार लिटर वाइनसमेत बरामद गरी लिलाम प्रक्रिया थालिएको भन्सार विभागले जनाएको छ। विभागका अनुसार ठूलो परिमाणमा बरामद भएका कालो दाल, मसुरो, कार्पेट, फेब्रिक, मास्कसमेतको लिलाम प्रक्रिया थालिएको छ।

स्रोतका अनुसार केही व्यापारी र बिचौलियाले सेटिङ गरी ती सुपारी, पोस्तादाना, रक्सी, छोकडा र मरिचहरू ल्याएका थिए। उनीहरूले भन्सारका कर्मचारीलाई प्रभावमा पारी ती सामानहरू उम्काउन खोजे पनि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको विशेष निगरानी र भन्सारलाई दिइएको निर्देशनका कारण सामान उम्काउने प्रयास असफल भएको थियो।

वीरगञ्जको सुख्खा बन्दरगाहमा आएको अवैध सामानको बारेमा छानबिनको माग गर्दै अख्तियारमा उजुरी परेपछि अख्तियारले तत्काल भन्सार विभागलाई छानबिन गरी सत्यतथ्य पत्ता लगाउन निर्देशन दिएको थियो ।

सुख्खा बन्दरगाह भन्सार कार्यालयको यार्ड र गोदाममा विभिन्न पैठारीकर्ताले आयात प्रतिबन्ध रहेका र एउटा वस्तुलाई अर्कै भनी ल्याएर लुकाएका ती वस्तुहरू भन्सार विभागको सर्च टोलीले फेला पारेको थियो।

वीरगञ्जबाहेक अन्य ठाउँका भन्सार कार्यालयमा समेत यसरी नै सेटिङका आधारमा अवैध वस्तुहरू आउने क्रम रहेकाले ती ठाउँका भन्सार कार्यालयमा समेत छानबिन हुनुपर्ने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्