सरकारले देश र जनताको पक्षमा कतै कुरा राख्न सक्दैन : डा. राजन भट्टराई

70
Shares

काठमाडौं ।

नेकपा एमाले विदेश विभाग प्रमुख एवं स्थायी कमिटी सदस्य डा. राजन भट्टराईले वर्तमान गठबन्धन सरकारले राष्ट्रिय हितको पक्षमा काम गर्न नसक्ने बताएका छन्।

नेकपा एमाले रामेछापको स्कुल विभागले आइतबार मन्थलीमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै भट्टराईले वर्तमान सरकारले देश र जनताको हितमा काम गर्नु त परको कुरा बोल्न पनि नसक्ने स्पष्ट पारे। ’सो सरकारले देश र जनताको हितको पक्षमा कतै कुरै राख्न सक्दैन’, उनले भने।

गठबन्धन सरकारले नेपालको आधारभूत विदेश नीति माथि नै प्रश्न उठ्ने गरी काम भएको उनले बताए। युक्रेन युद्धको सवालमा सरकारले अनावश्यक रूपमा एउटा मुलुकको पक्ष लिएर पञ्चशीलताको सिद्धान्त विरतिको काम गरेको भट्टराईले टिप्पणी गरे। ‘यो असन्तुलित परराष्ट्र नीति हो, यो हिसाबले नेपाल जान सक्दैन, हामी एकातिरको सैन्य गठबन्धनमा लाग्यौँ भने नेपालको सुरक्षा खतरामा पर्छ’, उनले भने।

नेपालमा विदेशी हस्तक्षेप बढेको भन्दै भट्टराईले यो देश र जनताको लागि चिन्ताको विषय भएको बताए। विदेशी हस्तक्षेप विरुद्धको विषयमा जनतालाई सचेत पार्न आवश्यक रहेको उनले बताए। ‘जबसम्म जनता सचेत र संगठित हुँदैनन् त्यो बेलासम्म वैदेशिक हस्तक्षेप रोक्न सकिँदैन’, उनले भने।

नेपालले संविधान बनाउन लाग्दा भारतले त्यसलाई रोक्ने प्रयत्न गरेको स्मरण गराउँदै उनले त्यस पछि पनि नेपाललाई समृद्धिको बाटोमा अघि बढाइ रहेको बेला एमाले सरकारलाई फाल्न देश भित्रैकै शक्ति प्रयोग गरेर विदेशी शक्ति लागेको बताए। भारत लगायत विदेशी शक्तिले आफ्नो अनुकूलको काम एमाले नेतृत्वको सरकारबाट नहुने देखेपछि त्यो खेल खेलेको भट्टराईले टिप्पणी गरे।

भारतले ठाउँ ठाउँमा नेपाली भूमि मिचेको बताउँदै भट्टराईले भारतले सुगौली सन्धि मान्नु पर्ने बताए। ‘सुगौली सन्धि अनुसार भारले कालापानीको सेना हटाउनुपर्छ, लिम्पियाधुरा, कालापानी र लिपुलेकको भूभाग भारतले नेपाललाई फिर्ता गर्नुपर्छ, त्यस्तै सुस्ता लगायतका क्षेत्रमा नेपालको मिचिएको सीमा छाडिदिनुपर्छ’, उनले भने।

उनले भारतसँग भएको सन् ९५० को विभेदकारी सन्धिको पनि पुनरावलोकन हुनु पर्ने बताए। भारत यस विषयमा छलफल गर्न पनि तयार नभएको भन्दै भट्टराईले आलोचना गरे। भारत नेपालसँगको सीमा नियन्त्रण गर्ने कुरामा समेत तयार नरहेको उनले बताए।

सीमा नियन्त्रणमा एक रुपा ल्याउन नेपालले प्रयास गर्दा पनि भारत त्यसमा तयार नरहेको उनले स्पष्ट पारे। भारतसँगको कृषि उपज, जलस्रोत, व्यापार, पारवहन लगायतका असमान विषयमा छलफल गर्नुपर्छ भन्दा एमाले माथि आक्रमण भएको भट्टराईले बताए।

एमाले सरकारमा हुँदा यी विषय उठाएको कारण भारतको वक्रदृष्टि परेको भट्टराईले बताए। एमाले सरकारबाट हटेपछि यी सबै कुरा ओझेलमा परेका उनको भनाइ छ।

प्रधानमन्त्री प्रचण्डले भारतसँग यी कुरा उठायो भने माहौल बिग्रन्छ भनेर आत्मसमर्पण गरेको भट्टराईले बताए।