रुस-युक्रेन युद्धमा मारिने नेपालीको संख्या बढ्दो

हालसम्म १६ मृतकको तस्वीर सार्वजनिक



काठमाडौं ।

रुस–युक्रेन युद्धमा मारिने नेपालीको संख्या दैनिकजसो बढ्दोक्रममा रहे पनि यसको वास्तविक तथ्यांक भने प्राप्त भइसकेको छैन। रुसी सेनामा कार्यरत नेपालीले त्यहाँको अवस्था भयावह रहेको र युद्धका क्रममा मृत्यु हुनेको संख्या बढिरहेको बताए पनि घटनाको वास्तविक अवस्था केलाएर तथ्यांक संकलन कार्य हुन सकेको छैन।

यद्यपि, रुसी सेनामा भर्ना भएर युक्रेनसँगको युद्धमैदानमा मृत्यु भएका १६ नेपालीको तस्वीर सार्वजनिक भएको छ । रुसी सेनामा लागेका १२ नेपालीको मृत्यु भएको तथ्यांक सरकारले राखे पनि हालसम्म मृत्यु हुनेको संख्या १६ पुष्टि भएको दाबीसहित शनिबार मृतकका आफन्त र अभियन्ताहरूले तस्वीर सार्वजनिक गरे ।

काठमाडौंमा पत्रकार सम्मेलन गरी तस्वीरसहितको तथ्यांक सार्वजनिक गर्दै पीडित परिवार तथा नागरिकको जीवन रक्षाका लागि सचेतना अभियानका अभियन्ता कृतु भण्डारीले बेलारुसमा नेपालीहरूको अवस्था भयावह भएको बताउनुभयो।

रुसी सेनामा भर्ना भएका नेपालीहरूको तथ्यांक सरकारसँग नभएको, मृतकको शव अझैसम्म परिवारले प्राप्त गर्न नसकेको, घाइतेहरूको आवश्यक उपचार र मृतक परिवारले पाउने क्षतिपूर्तिको प्रक्रियाका सम्बन्धमा सरकारी तहबाट खासै काम हुन नसकेको उहाँले टिप्प्णी गर्नुभयो । शुक्रबार राती मात्रै युद्धमा थप केही नेपालीको मृत्यु भएको खबर त्यहाँका नेपालीबाट प्राप्त गरेको उहाँको भनाइ छ ।

सरकारसँग मृत्यु भएका १२ र युक्रेनी सेनाको कब्जामा रहेका ५ को तथ्यांक भए पनि २२ जनाका आफन्तले मृत्युसंस्कार गरेको भण्डारीले बताउँदै आउनुभएको थियो । तर, शनिबार १६ मृतकको तस्वीर सार्वजनिक गर्दै उनीहरूको सम्झनामा आफन्तसमेतको सहभागितामा दीप प्रज्ज्वलनसहित श्रद्धाञ्जलि सभा गरेको भण्डारीले नेपाल समाचारपत्रलाई बताउनुभयो ।

उहाँले भन्नुभयो–‘आफ्नो परिवारका सदस्यलाई उद्धार गरिदिन एक हजार बढी व्यक्तिहरूले आग्रह गर्दै सम्पर्कमा आएका छन् । एक दिन अघिमात्रै फेरि २९ जना नेपालीको मृत्यु भएको भन्ने युद्धमा होमिएका रुसीसेनाबाटै खबर आएको छ । यसको आधिकारिकता भने भसकेको छैन ।’

हाल रुसमा नेपालीको संख्या १४ हजार बढी रहेको बताइएको छ। रुसी सेनामा भर्ना भएर बेपत्ता भएका ५ सयको तथ्यांक संकलन भइसकेको अभियन्ता भण्डारीले बताउनुभयो।

सन् २०२२ फेब्रुअरी २४ देखि जारी रुस र युक्रेनबीचको युद्ध साम्य नहुँदै रुस सरकारले युक्रेनमाथि हमला गर्न थप शक्ति सञ्चयका लागि नेपालसहित अन्य मुलुकबाट रुसी सेनामा भर्नाको आह्वान गरेसँगै नेपालीहरू रुसी सेनामा भर्ना हुने गैरकानुनी ढंगले गएका थिए।

युद्धमा मृत्यु भएका, घाइते, बेपत्ता र त्यहाँ रहेका नेपालीको उद्धार राहतसँगै स्वदेश फिर्ता ल्याउने सवालमा नेपाल सरकारले गम्भीरताका साथ काम गरेको दाबी गरेको छ। तर, सरकारसँग मृत्यु भएका १२ र युक्रेनी सेनाको कब्जामा रहेका ५ को तथ्यांक भए पनि २२ जनाका आफन्तले मृत्युसंस्कार गरेको दाबी सार्वजनिक भएपछि सरकारले पछिल्लो थप काम गर्न नसकेको टिप्पणी हुन थालेको छ।

रुसी सेनामा भर्ना भएका नेपाली नागरिकको मृत्यु र घाइते भएको खबरले रुसमा रहेका नेपाली नागरिकका आफन्तले चाँडो उद्धार गरि दिन सरकारसमक्ष हारगुहार गरिरहेका छन्। कन्सुलर सेवा विभागले करिब १सय५० परिवारका सदस्यले उद्धारका लागि आवेदन दिएको जानएको छ।

मन्त्रालयको तथ्यांकमा हालसम्म गोरखाका सन्दीप थपलिया, कपिलवस्तुका रूपक कार्की, कास्कीका देवान राई, स्याङ्जाका पितम कार्की, दोलखाका राजकुमार रोका, इलामका गङ्गाराज मोक्तान, कुन्दन सिंह नागल, स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरबहादुर शाह र धादिङका राजकुमार गिरीको रुसी सेनामा कार्यरत रहँदा निधन भएको जनाएको छ।

यसै गरी रुस सरकारबाट आधिकारिक जानकारी प्राप्त नभए पनि पछिल्लो समय थप दुई नेपालीको मृत्यु भएको सम्बन्धमा परिवारजनले मन्त्रालयमा जानकारी गराएका थिए।

रुसी सेनामा कार्यरत अवस्थामा बर्दियाका विवेक खत्री, काभ्रेपलाञ्चोकका सिद्धार्थ ढकाल, मोरङका विकास राई र रोल्पाका प्रतीक पुनलाई युक्रेनी सेनाले बन्दी बनाएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ। रुसी सेनामा कार्यरत थप एक नेपाली नागरिक युक्रेनी सेनाको कब्जामा परेको मन्त्रालयले जनाएको छ।

यता, अभियन्ताहरूले उनीहरूको उद्धारमा चाडो पहल गर्न संयुक्त राष्ट्रसंघ, रुसी राजदूतावास, नेपाल सरकार र दलहरूलाई ध्यानाकर्षण पत्र बुझाएको बताएको छ।

प्रधानमन्त्रीलाई प्राप्त तथ्यांकसहित ध्यानाकर्षण बुझाउन पटकपटक प्रयास गर्दापनि प्रधानमन्त्रीले समय नदिएको उनीहरूको गुनासो छ। रुसी सेनामा भर्ना हुन जाने नेपाली अधिकांश भ्रमण भिसामार्फत् खाडीका मुलुकबाट त्यहाँ गएका पाइएको छ।

सरकारले रुस सरकारलाई मृतकको शव यथाशीघ्र नेपाल पठाउन तथा पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन अनुरोध गरेको जनाएको छ।

साथै बन्दी बनाइएका नेपालीको शीघ्र रिहाइ गरी नेपाल फिर्ता पठाउन युक्रेनी सरकारलाई कूटनीतिक माध्यमबाट अनुरोध गरिसकिएको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्