कार्यविधि नमिलेकाले मप र सुप विश्वविद्यालयको दर्खास्त रोकियो



काठमाडौं।

मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति नियुक्ति प्रक्रिया हाललाई अनिश्चित भएको छ । कार्यविधिमा केही संशोधन गर्नुपर्ने जनाउँदै आइतबार अचानक नियुक्ति प्रक्रिया स्थगित भएको सूचना जारी भएको हो । सिफारिस समितिले सूचना जारी गरेको ९ दिनपछि प्रक्रिया खारेज गरेको हो ।
विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आग्रहपछि सिफारिस समितिका संयोजक विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा देवराज अधिकारी, सदस्यहरू राष्ट्रिय योजना आयोगका सदस्य (शिक्षा) रमेशचन्द्र पौडेल र शिक्षा सचिव सुरेश अधिकारीसहितको बैठकले उपकुलपति नियुक्ति प्रक्रिया हाललाई स्थगित गर्ने निर्णय गरेको हो । बैठकले कार्यविधिमा अनुसन्धानमा बढी नम्बर दिएको हुनाले त्यसलाई संशोधन गरिने जनाएको छ ।
आयोगका अध्यक्ष प्राडा अधिकारीले नियुक्ति प्रक्रिया दुई चार दिनमा शुरू हुन सक्ने जिकिर गर्दै भन्नुभयो– ‘हाललाई स्थगित गरेका छौं, केही दिनपछि जानकारी होला ।’

विश्वविद्यालयका कुलपति प्रचण्डले दुई विश्वविद्यालयमा उपकुलपति नियुक्ति गर्दा सोही क्षेत्रलाई प्राथमिकता दिनुपर्ने र सो क्षेत्रका व्यक्तिहरू अन्य क्षेत्रको जस्तो विज्ञान र गणित विषय अध्ययन गरी अनुसन्धानमा पोख्त हुन नसक्ने सम्भावना देखेपछि कार्यविधि परिमार्जन गरेर मात्र सूचना जारी गर्न निर्देशन दिनुभएको हो ।
सोही निर्देशनको आधारमा समितिले आकस्मिक बैठक डाकेर हाललाई उपकुलपति छनौट प्रक्रिया स्थगित गरेको जानकारी दिँदै स्रोतले नेपाल समाचारपत्रसँग भन्यो– ‘रिसर्चको अंक घटाएर मात्र कार्यविधि जारी हुनेछ । त्यसपछि मात्र फेरि दरखास्त आह्वान गरिनेछ ।’ यसअघि माघ २५ गते अनुदान आयोगले दुई विश्वविद्यालयका उपकुलपति नियुक्ति गर्न कार्यविधि र दरखास्त सार्वजनिक गरेको थियो ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा नन्दबहादुर सिंहको कार्यकाल यही १८ गते र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीको चैत १० गते सकिदैछ ।

विश्वविद्यालय अनुदान आयोगमा इच्छुक प्राध्यापकले दरखास्त दिइरहेको समयमा आइतबार समितिको आकस्मिक बैठक बसी सो प्रक्रिया स्थगन गर्ने निर्णय गरेको हो । आयोगका अध्यक्ष प्राडा अधिकारीले फेरि सूचना जारी गर्ने जानकारी दिनुभयो ।
दुई विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री प्रचण्डले दुई उपकुलपतिको चारवर्षे कार्यकाल सकिएलगत्तै नयाँ उपकुलपति नियुक्ति गर्नेगरी तयारी भएको थियो । तर सिफारिस समितिले सूचना जारी गरेको केही दिनमै अर्थात् उपकुलपतिको कार्यकाल सकिनासाथ नयाँ उपकुलुपति नियुक्ति गर्ने गृहकार्य शुरू गरेको छ ।
यसैबीच २०८१ सालमा झण्डै एकदर्जन उपकुलपति रिक्त हुँदै छ । २०७७ साल असोजमा नियुक्ति भएका कृषि तथा वन विश्वविद्यालयका उपकुलपति प्राडा पुण्यप्रसाद रेग्मी, रजिस्ट्रार प्राडा सारदा थपलिया र सो विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्राडा कल्याणी मिश्र र सदस्य प्राडा पुष्करबहादुर पालको कार्यकाल आगामी वर्ष सकिँदैछ ।

त्यस्तै, पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्याल, मध्यपश्चिम विश्वविद्यालयका रजिस्ट्रार प्राडा नारायणप्रसाद पौडेल, सो विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्राडा भारती जोशी, सदस्य रामेश्वर अधिकारीको कार्यकाल आगामी वर्ष सकिँदैछ ।

यसैबीच त्रिविको उपकुलपति सिफारिस गर्न गठित छनौट समितिले तीन जनाको नाम कुलपति एवं प्रधानमन्त्री दाहालाई बुझाएको छ । आज वा भोलिसम्ममा त्रिविले २० औं उपकुलपति पाउने सम्भावना छ । उपकुलपतिमा छनौट भएकोमध्ये पहिलो नम्बरका चित्रबहादुर बुढाथोकी मगर, दोस्रोमा केशरजंग बराल र तेस्रोमा टंकनाथ धमला परेकोमा पहिलो नम्बरमा परेका बुढाथोकी मगरलाई उपकुलपति बनाउने तयारी भइरहेकोे छ । शिक्षाशास्त्र संकायका डीन रहनुभएका बुढाथोकी मगर र पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति बराल माओवादी केन्द्र नजिक हुनुहुन्छ भने धमलाको राजनीतिक निकटता हालसम्म खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्