कांंग्रेसको विधान महाधिवेशन आजबाट

बैठकमा भाग लिने महासमिति सदस्यको संख्या २ हजार १ सय ३



काठमाडौं ।

नेपाली कांग्रेसको विधान महाधिवेशन (महासमिति बैठक) आजबाट शुरू भएको छ।

महाधिवेशनको ६ महिनाभित्र महासमिति बैठक बस्ने निर्णय गरेको कांग्रेसले महासमिति बैठकलाई विधान अधिवेशनको रूप दिएर २६ महिनापछि भेला गर्न लागेको हो।

केन्द्रीय समितिबाट निर्णय गर्दै पटकपटक उल्ट्याउँदै आएको कांग्रेसले महासमिति बैठक आजबाट गोदावरी सनराइज सम्मेलन केन्द्रमा तय गरेको छ।

फागुन १० सम्म चल्ने सो बैठकको सम्पूर्ण तयारी पूरा भइसकेको नेपाली कांग्रेस सञ्चार सूचना तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिनुभयो।

प्रजातन्त्र दिवसको अवसर पारेर शुरू गरेको कांग्रेसको महासमिति बैठकले पार्टीको विधान र मुलुकको संविधानमा उल्लिखित व्यवस्थालाई सम्मान गर्दै आवश्यक सुधारका विषयमा छलफल गर्ने बताइएको छ। महासमितिको मुख्य कार्य पार्टीको नीति निर्माण गर्नु रहेको नेता विश्वकर्माले बताउनुभयो ।

दिउँसो १ बजे महासमितिको बैठकको उद्घाटन कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने कार्यतालिका छ।

बैठकमा फागुन ४ को केन्द्रीय कार्यसमिति बैठकबाट अनुमोदित नीति, सांगठनिक, समसामयिक राजनीतिक, नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा र लेखा परीक्षण प्रतिवेदन पेस हुनेछन्।

ती प्रतिवेदनहरू समूहगत रूपमा छलफल हुने जानकारी दिँदै विश्वकर्माले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘तराई, मधेस, हिमाल, पहाड सबै क्षेत्रबाट प्रतिनिधित्व रहने गरी समूह विभाजन गरिनेछ । चारवटा हलमा छुट्टाछुट्टै प्रतिवेदनहरूमाथि छलफल हुनेछ ।’

विधान अधिवेशनको रूपमा सम्पन्न हुने यो महासमितिको बैठकमा प्रस्तुत हुने यी प्रतिवेदनले वर्तमान राजनीतिक परिवेशलाई उचित सम्बोधन गर्दै कांग्रेसले जनताको अवस्था परिवर्तनका लागि विश्वासिलो र भरपर्दो गरी काम गर्छ भन्ने विश्वास दिलाउने उहाँको भनाइ छ।

महासमितिमा १ सय ६५ केन्द्रीय पदाधिकारी तथा सदस्यहरू, नेपाली जनसम्पर्क समितिबाट ८९ जना, भ्रातृ तथा शुभेच्छुक संस्थाहरूबाट ६९, प्रदेश सभापति, जिल्ला सभापति र भ्रातृ संघ तथा शुभेच्छुक संस्थाका केन्द्रीय अध्यक्षहरूसमेत गरी २ हजार १ सय ३ जना महासमिति सदस्यका रूपमा विधान महाधिवेशनमा सहभागी हुने छन्।

सामान्य विवाद भएका कतिपय क्षेत्रको विवाद टुंग्याएर बैठकमा सहभागी गराउने सहमति भएको र केही क्षेत्र तथा भातृ संगठनहरूको हकमा जटिल विवाद रहेकाले उनिहरूको सहभागिता नहुने प्रचार विभाग प्रमुख विश्वकर्माले जानकारी दिनुभयो ।

महासमिति बैठकमा करिब २५ सय प्रतिनिधि हुने आँकलन गरेको कांग्रेसले केही क्षेत्र र भ्रातृ शुभेच्छुक संगठनबाट प्रतिनिधित्व गर्ने सदस्य विवादका कारण संख्या घटेको बताएको छ।

कुनै क्षेत्रबाट विवाद नभई सबैको सहभागिता भएको भए १ सय ६५ वटा निर्वाचन क्षेत्रबाट मात्रै १८ सय १५ महासमिति सदस्यको प्रतिनिधित्व हुने थिए ।

त्यस्तै, केन्द्रीय कार्यसमितिका वर्तमान र निवर्तमान पदाधिकारी र सदस्य, एक कार्यकालका लागि निवर्तमान महासमिति सदस्य, भ्रातृ संस्था र ३५ देशमा जनसम्पर्क समितिबाट समेत महासमिति सदस्यको प्रतिनिधित्व हुने व्यवस्था थियो।

भ्रातृ र शुभेच्छुक संस्थाको अधिवेशनबाट ३–३ जना महासमिति सदस्य चयन हुने र अध्यक्ष स्वतः भाग लिन पाउने व्यवस्था छ।

अहिले १३ भ्रातृ संस्था र १८ शुभेच्छुक संस्था छन्। सभापतिलाई बढीमा १५ जना महासमिति सदस्य मनोनीत गर्ने अधिकार छ। जिल्ला सभापति, केही सांसद पर्यवेक्षकका रूपमा महासमिति बैठकमा सहभागी हुनेछन्।

प्रतिक्रिया दिनुहोस्