राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची



काठमाडौं ।

राष्ट्रियसभा बैठक आज बस्दै छ। सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्ने छ। बैठक बिहान ११ बजे बोलाइएको छ।

आजको बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने छन्।

प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापति मायाप्रसाद शर्माले ‘प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको वार्षिक प्रतिवेदन २०८० पेस गर्नेछन्।

राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा (पार्वती) ले राष्ट्रिय सरोकार तथा समन्वय समिति तहगत अन्तरसम्बन्ध र सबन्ध विषयक अध्ययन प्रतिवेदन २०८०’ पेस गर्नेछन्।

विधायन व्यवस्थापन समितिका सभापति जयन्ती देवी राईले ‘विधायन सम्बन्धी विधेयक २०८०’ को प्रतिवेदन पेस गर्नेछन् भने कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ‘सम्पत्ति शुद्धीकरण  (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

साथै, उपप्रधानमन्त्री तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठले ‘अध्यागमन विधेयक २०७६ फिर्ता गरियोस्’ भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गरिने महासचिव पदम प्रसाद पाण्डेयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्