प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने



काठमाडौं ।

प्रतिनिधिसभा बैठक आज बस्दै छ। सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक बिहान ११ बजे बोलाइएको छ।

आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने छन्।

सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माननीय सदस्यहरूले सोधेको प्रश्नको जवाफ दिने छन्।

साथै, राष्ट्रियसभामा उत्पत्ति भएको ‘सहिद दशरथ चन्द स्वास्थ्य तथा विज्ञान विश्वविद्यालय विधेयक २०८०’ का सबन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने छ।

बैठकमा राज्य व्यवस्था तथा सुशाषन समितिका सभापति रामहरि खतिवडाले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘अनुगमन तथा मुल्याङ्कन विधेयक सम्बन्धी प्रतिवेदन २०८०’ पेस गर्नेछन्।

सांसद प्रेम सुवालले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तर दायित्व (पहिलो संशोधन) अध्यादेश, २०८० लाई अस्वीकार गरियोस् भनी राख्नु भएको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिने भएको छ।

अर्थमन्त्री प्रकाशशरण महतले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तर दायित्व (पहिलो संशोधन) अध्यादेश, २०८०’ लाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन्।

साथै, मन्त्री महतले ‘बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक २०८० माथि बिचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने महासचिव पदम प्रसाद पाण्डेयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्