त्रिवि उपकुलपति छनोट प्रक्रिया : आज १४ जनाकै अन्तर्वार्ता



काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयको २० औं उपकुलपतिको नियुक्ति फागुन तेस्रो सातामा हुने भएको छ। त्यसका लागि सर्टलिस्टमा परेका १४ जनाको आज आइतबार अन्तर्वार्ता हुने भएको छ।

कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा उपकुलपति नियुक्तिका लागि नाम सिफारिस समितिले सो तयारी गरेको हो। फागुन २ गते १४ जनाको सोचपत्र र व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण सकिएपछि आज अन्तर्वार्ता हुन लागेको हो।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले आज सबै जनाको अन्तर्वार्ता सकेर तेस्रो साताभित्र उपकुलपति नियुक्ति हुने बताउनुभयो।

सिफारिस समितिका संयोजक एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको अध्यक्षतामा बिहीबार बसेको बैठकले आइतबार सबैको अन्तर्वार्ता लिने निर्णय गरेको हो ।

उपकुलपति पदका लागि सर्टलिस्टमा नाम भएका १४ जनाको सोचपत्र र व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण बुधबार सकिएको थियो।

‘त्रिवि उपकुलपति छनोटसम्बन्धी कार्यविधि २०८० बमोजिम अल्पसूची (सर्टलिस्ट) मा परेकाहरूको आज अन्तर्वार्ता लिने तयारी भएको हो’ –प्रवक्ता सापकोटाले भन्नुभयो।

समितिले आज बिहान साढे ८ बजेदेखि कुसुम शाक्य, केशरजंज बराल, गोविन्द सुवेदी, चित्रबहादुर बुढाथोकी, ज्ञानेन्द्रप्रसाल पौडेल, टंकनाथ धमला र तीर्थराज खनियाँसहित ७ जनाको अन्तर्वार्ता लिने निर्णय गरेको छ।

दोस्रो चरणमा नारायणप्रसाद बेलवासे, प्रकाश घिमिरे, भोजराज अर्याल, महेन्द्रप्रसाद शर्मा, रामचन्द्र बस्नेत, शिवलाल भुसाल र सूर्यबहादुर थापाको अन्तर्वार्ता हुनेछ।

दोस्रो चरणको अन्तर्वार्ता दिउँसो १ बजे हुनेछ। समितिले दुवै अन्तर्वार्ता मन्त्रालयमा लिने निर्णय गरेको छ। शिक्षा सचिव अधिकारीका अनुसार सिफारिस समितिले अन्तर्वार्ताबाट ३ जनाको नाम सिफारिस गरी त्रिविका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष पेस गर्नेछ।

उहाँले एक जनाको बढीमा आधार घण्टासम्म अन्तर्वार्ता हुन सक्ने जानकारी दिनुभयो । ४३ जना आवेदकमध्ये सर्टलिस्टमा परेका १४ जनाको प्रस्तुतीकरण सकिएको छ।

पहिलो दिन ४, दोस्रो र तेस्रो दिन ५–५ जनाको प्रस्तुतीकरण सकिएको छ। अन्तर्वार्तामा सहभागी हुनेमध्ये एक जनामात्र महिला प्रतिस्पर्धामा रहनुभएको छ ।

उपकुलपति धर्मकान्त बाँस्कोटाको चारवर्षे कार्यकाल कात्तिक १६ गतेदेखि सकिएपछि त्रिविमा सो पद रिक्त छ । त्रिविमा दैनिक कामकाज गर्ने गरी शिवलाल भुसाललाई उपकुलपतिको जिम्मेवारी दिएको थियो।

भुसाल कार्तिक १९ देखि उपकुलपतिको जिम्मेवारीमा रहनुभएको छ। उपकुलपति भुसाल त्रिविको उपकुलपतिको अन्तर्वार्ता सूचीमा हुनुहुन्छ।

स्रोतका अनुसार उपकुलपतिको कडा दाबेदारमा त्रिविका पूर्वउपकुलपति तीर्थराज खनियाँ, पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति केशरजंग बराल र काम चलाउ उपकुलपति शिवलाल भुसालको सम्भावना छ।

उपकुलपति छनोट कार्यविधि–२०८० मा उल्लेख भए अनुसार प्रतिस्पर्धामा रहेकाहरूले बढीमा ३ हजार शब्दको सोचपत्र र ५ हजार शब्दको चारवर्षे व्यावसायिक कार्ययोजना पेस गरेका थिए।

कार्यविधिअनुसार आठवटा मापदण्डमा उपकुलपति हुन सय अंकको मूल्याङ्कन थियो। सिफारिस समितिले अन्तर्वार्ता सकिएलगत्तै मंगलबारभित्र ३ जनाको नाम सिफारिस गरी कुलपति समक्ष पेस गर्ने तयारी थालेको छ।

समितिले पेस गरेको सूचीबाटै कुलपति एवं प्रधनमन्त्री दाहालले उपकुलपति नियुक्ति गर्ने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्