बालकुमारी घटना प्रकरण : मन्त्री ज्वालालाई सचेत र अरू दुईलाई कारबाही



काठमाडौं ।

सरकारले ललितपुरको बालकुमारीमा भएको घटनामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई सचेत गराइने र अरू दुई जनालाई कारबाही गर्ने भएको छ।

बालकुमारी घटना जाँचबुझ आयोगले दिएको प्रतिवेदनको सुझावअनुसार सरकारले यस्तो निर्णय लिएको हो।

बालकुमारीमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली र लाठी चार्जले दुई जना युवाको ज्यान गएको विषयमा छानबिन गर्न बनेको आयोगले दिएको प्रतिवेदनको विस्तृत अध्ययन गरेर सरकारले आवश्यक कारबाही अघि बढाउने जिकिर गर्दै उपप्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री नारायणकाजी श्रेष्ठले भन्नुभयो– ‘यस सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष ब्रिफिङ गरी आवश्यक कारबाही अघि बढाउने छौं ।’

गत पुस १३ गते शुक्रबार कोरियाली भाषाको परीक्षाको विषयलाई लिएर भाषा परीक्षा अनुत्तीर्ण भएका युवाहरूले बालकुमारीमा गरेको प्रदर्शनका क्रममा सो घटना भएको थियो।

प्रहरीको गोली लागेर घाइतेका भएका अछामको चौरपाटी गाउँपालिका–१ सिउडीका वीरेन्द्र शाह र दैलखको महाबु गाउँपालिका– ६ का सुजन राउतको उपचारको क्रममा निधन भएको थियो।

त्यसपछि पुस १६ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त घटनाको छानबिन गरी एक महिनाभित्र राय, सुझाव र सिफारिससहितको प्रतिवेदन पेस गर्न पौडेलको अध्यक्षतामा एक आयोग गठन गरेको थियो।

उच्च अदालतका पूर्व न्यायाधीश शेखरप्रसाद पौडेलको अध्यक्षतामा गठित आयोगले शुक्रबार बुझाएको प्रतिवेदनमा सो घटना मन्त्री ज्वाला, फिल्ड खटिएका प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेश लम्साल र मन्त्रीका निजी सुरक्षा अधिकृत (पीएसओ) बोधराज दनुवारलाई दोषी किटान गरी कारबाही गर्नुपर्ने सुझाव दिएको छ।

प्रतिवेदनमा घटनाको नैतिक जिम्मेवारी लिन र मन्त्री ज्वालालाई सचेत गराउन गृह मन्त्रालयमार्फत् प्रधानमन्त्रीसमक्ष सिफारिस गर्न भनिएको छ। प्रदर्शन र हुलहुज्जत भइरहेको गलत ठाउँमा सुरक्षा व्यवस्थाको यकिन नगरी विभागीय मन्त्री पुग्नु नै मुख्य कमजोरी रहेको औंल्याउँदै प्रतिवेदनमा मन्त्री ज्वाला पुग्न नपर्ने/पुग्न नहुने ठाउ“मा पुगेका कारण घटना भएको निष्कर्ष निकालिएको छ।

यसअघि मन्त्रालयले परिस्थितिको राम्रो आँकलन नगरिकन भौतिक योजना मन्त्री ज्वाला चढेको बा २ झ ५८६१ नम्बरको गाडी प्रदर्शनी भइरहेको ठाउँबाट जाने क्रममा गम्भीर त्रुटि हुनुमा पीएसओ दनुवारको त्रुटि देखिएकोे निष्कर्ष निकालेको थियो।

भाषा परीक्षा अनुत्तीर्ण भएका युवाहरूले सडक प्रदर्शन गरिरहेको बेला भौतिक योजना मन्त्री ज्वाला चढेको गाडी रोकेर आगो लगाइदिएका थिए। आक्रमण हुने देखेपछि मन्त्री ज्वाला र उहाँको पीएसओ तथा चालक भने गाडीबाट निस्किएका थिए।

फिल्ड कमान्डरले सुरक्षा व्यवस्थाको भरपर्दो समन्वय गर्न नसकेको र मन्त्री घटनास्थलमा पुगेको समेत थाहा पाउन नसकेको प्रतिवेदनमा उल्लेख छ।

एक्कासि मन्त्रीको गाडीमा आगजनी भएको देखेपछि मन्त्री आगजनी भएको गाडीभित्रै छ भन्ने ठानेर माथिको आदेशअनुसार गोली चलाउन निर्देशन दिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिवेदनमा प्रहरी ऐनअनुसार दोषी प्रहरीलाई विभागीय कारबाही गर्न सिफारिससमेत गरिएको छ । घटनालगत्तै गृह मन्त्रालयले बालकुमारी घटनामा संयमता नराखेको भन्दै सातदोबाटो वृत्तका प्रमुखसमेत रहेका डीएसपी लम्साल र मन्त्री ज्वालाका पीएसओ दनुवारलाई निलम्बन गरेको थियो।

गृहमन्त्रालयले ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित, जिल्ला प्रहरी परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सिद्धीविक्रम शाहलाई हटाएको थियो ।

आयोगले डीएसपी लम्सालको टोलीले मन्त्री पुग्नुअघि नै प्रदर्शनकारीहरूमाथि अश्रुग्यास प्रयोग गरेर दोहोरो झडपको अवस्था सिर्जना गरेको समेत औंल्याएको छ।

प्रतिवेदनका अनुसार मन्त्री पुग्नुअघि नै बल प्रयोग नगर्नु पर्ने ठाउँमा बल प्रयोग गरेर भएजति अश्रुग्याँस सकिसकेको कारण गोली चलाउनुपर्ने अवस्था आएको र हवाई फायर गर्दा गोली प्रर्दशनकारीलाई लागेको उल्लेख छ। गाडीमा आगो दन्किएपछि मात्र प्रहरी त्यहाँ पुगेको थियो ।

मन्त्रीको गाडी जलाइएपछि आत्तिएका प्रहरीले जथाभावी बल प्रयोग र गोली हानेपछि शाहलाई दुई गोली लागेको थियो भने रावतको छातीमा निलडामै डाम थियो।

गोली लागेर गम्भीर घाइते भएका शाहको उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको थियो भने रावतको इमाडोलस्थित किस्ट अस्पतालमा निधन भएको थियो । सो घटनामा भीड नियन्त्रण गर्न भन्दै प्रहरीले १५ राउन्ड गोली र दुई दर्जन अश्रुग्याँस प्रहार गरेको प्रहरीले जनाएको छ ।

आयोगमा पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक अरूण कुमार बीसी र गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव नारायणप्रसाद भट्टराई सदस्य रहनुभएको थियो । आयोगले पुस २० देखि जाँचबुझ थालेर १५ दिन समय थप गरी ४४ दिनमा प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदन बुझाएपछि आयोगका अध्यक्ष पौडेलले जारी गरेको विज्ञप्तिमा घटनास्थलको निरीक्षण, प्रत्यक्षदर्शी, सञ्चारकर्मी, पीडितका परिवार, घटनाका घाइते, विशेषज्ञ डाक्टर तथा घटनासँग सम्बन्धित अन्य १६ जनाको बयान कागज गरिएको उल्लेख गरिएको छ। त्यसै गरी घटनासँग सम्बन्धित सुरक्षा निकायका पदाधिकारी एवं अन्यसमेत गरी २९ जनाको बयान गरेको जनाइएको छ।

ईपीएस कोरिया शाखा बालकुमारी, जिल्ला प्रशासन कार्यालय ललितपुर, जिल्ला प्रहरी परिसर ललितपुर, सशस्त्र प्रहरी बल, नेपाल २१ नं. गण दक्षिणकाली ललितपुर र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय ललितपुरबाट प्रतिवेदनहरू लिइएको, घटनास्थलबाट बरामद भएका भौतिक प्रमाणहरूको परीक्षण प्रतिवेदन तयार गरिएको, शव परीक्षण प्रतिवेदन तयार गरिएको, उपत्यका प्रहरी कार्यालय परिचालन कक्ष एवं प्रहरी प्रधान कार्यालय नक्सालबाट प्रहरी सञ्चारको विवरण तथा सीसीटीभी फुटेज लिइएको, घटनास्थल वरपर उपलब्ध भएसम्मका सीसीटीभीबाट फुटेज लिइएको र आयोगको इमेलमा प्राप्त भएका सूचनाहरू समेतलाई गहन अध्ययन तथा विश्लेषण गरिएको समेत विज्ञप्तिमा जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्