बालमन्दिर जग्गाको ५२ वर्षे पूरक सम्झौतामा अनियमितता

अख्यिारको छानबिनमा तत्कालीन अध्यक्ष सिंहद्वारा बयान दिन आलटाल



काठमाडौं ।

बालमन्दिरका तत्कालीन पदाधिकारीहरूले २०७२ सालमा पूरक सम्झौताका नाममा ५२ वर्षसम्म जग्गा लिजमा दिँदा ठूलो अनियमितता गरेको पाइएपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ।

बालसंगठनकी तत्कालीन अध्यक्ष रिता सिंहलगायतका पदाधिकारीहरूले व्यापारिक घराना विशाल ग्रुपद्वारा सञ्चालित वृहस्पति सदनलाई २०७२ सालमा पूरक सम्झौताका नाममा बालमन्दिरको २८ रोपनी ५ आना जग्गा विसं २१३२ सम्मका लागि प्रयोग गर्न दिने गरी सम्झौता गरेका थिए।

त्यसरी बालसंगठनले हचुवाका आधारमा वृहस्पति सदनलाई ५२ वर्षसम्म जग्गा प्रयोग गर्न दिँदा ठूलो चलखेल भएको पाइएपछि अख्तियारले छानबिन थालेको हो।

छानबिनका क्रममा अख्तियारले गैरकानुनी रूपमा ५२ वर्षको सम्झौता गर्ने बालसंगठनकी तत्कालीन अध्यक्ष रिता सिंहलाई बयानका लागि पटकपटक बोलाउँदा पनि सिंह बयानमा जानुभएको छैन। सिंहले बयान दिन पटकपटक आलटाल गर्दै आइरहनुभएको अख्तियार स्रोतले जनाएको छ।

संगठनका तत्कालीन अन्य पदाधिकारीहरूले भने अख्तियारमा पुगेर बयान दिइसकेका छन्। ‘तत्कालीन अध्यक्ष सिंहले विभिन्न बहाना बनाएर बयानलाई छल्दै आइरहनुभएको छ, अब उहाँ बयानमा नआए अख्तियारले वैकल्पिक उपाय अपनाउन बाध्य हुनेछ’ –अख्तियारका एक अधिकारीले नेपाल समाचारपत्रसँग भने ।

स्रोतका अनुसार लामो समयसम्म बालमन्दिरको नेतृत्वमा रहनुभएकी सिंहकै पालामा बालमन्दिरको जग्गाको व्यापक दुरूपयोग हुँदै आएको थियो।

उहाँहरूले आफ्नो स्वार्थका लागि अनाथ बालबालिकाहरूलाई आश्रय दिने महत्वपूर्ण भूमिकामा रहेको बालमन्दिरलाई नै कन्तबिजोग अवस्थामा पु¥याएको हालका पदाधिकारीहरूको दाबी छ।

बालमन्दिरको कन्तबिजोग भए पनि बालसंगठनका तत्कालीन पदाधिकारीलाई रिजाएर वृहस्पति सदनको नाममा अनियमित किसिमले जग्गा हत्याउने काम गर्दै आइरहेको व्यापारिक घराना विशाल ग्रुपको हाल त्यहाँ रजगज चल्दै आइरहेको छ।

वृहस्पति सदन र विशाल ग्रुपकै पदाधिकारीसँग पनि जग्गा हत्याएको सम्बन्धमा अख्तियारले बयान लिनुपर्ने र कारबाही गर्नुपर्ने माग बालसंगठनका हालका पदाधिकारीको छ।

विशाल गु्रपले बालसंगठनको २८ रोपनी ५ आना जग्गामा मोजस्ती गर्दै आयआर्जन मात्रै गरिरहेको छैन अनन्त कालसम्म बालमान्दिरको सो जग्गा प्रयोग गर्न पाउने गरी सम्झौता गर्न सफल भएको हो।

उसले वृहस्पति शिक्षा सदनलाई अघि सारेर ५२ वर्षका लागि पूरक सम्झौता गराउन सफल भएको थियो। वृहस्पति सदनको सेयरमा विशाल ग्रुपकै बर्चस्व रहँदै आएको छ।

बालसंगठन जग्गा परिसरमै रहेको बालमन्दिर खण्डहरजस्तो देखिन्छ भने त्यहाँ नजिकै रहेको वृहस्पति शिक्षा सदन र वृहस्पति शिक्षा सदनले नियमविपरीत लिजमा दिएको राई स्कुल भव्य र आलिशान छ।

बालसंगठनको जग्गामा मोजमस्ती गरेर आयआर्जन गर्दै आइरहेको विशाल ग्रुपले ती जग्गाहरूमा आलिशान महल बनाएको छ। उसले अहिले पनि ठूलाठूला विजनेस कम्प्लेक्स समेत बनाउने योजना बनाएको बालसंगठनका पदाधिकारीहरू बताउँछन्।

बालसंगठनका हालका पदाधिकारीहरूले ५२ वर्षसम्मका लागि भएको पूरक सम्झौता रद्ध हुनुपर्ने गरी गृहकार्य अघि बढाए पनि विभिन्न शक्ति केन्द्रको दबाबका कारण उनीहरू सफल हुन सकेका छैनन्।

अख्तियारले पनि पुराना सबै सम्झौताका बारेमा छानबिन गरिरहेकाले ५२ वर्षसम्म गरिएको सम्झौता रद्ध गर्ने गरी अख्तियारबाट निर्णय आउन सक्ने आशा बालसंगठनका पदाधिकारीहरूले गरेका छन्। तर, बालसंगठनका हालका पदाधिकारीहरूले आफैं हिम्मत गरेर पूरक सम्झौता रद्ध गर्नुपर्ने दबाब पनि उनीहरूमाथि छ।

यसरी भएका थिए स्वार्थअनुसारका सम्झौता

२०७२ सालमा नै म्याद नसकिदै ठूलो लेनदेन र अनियमितता गरी रीता सिंहको नेतृत्वमा रहेको बालसंगठनले वृहस्पति सदनलाई २८ रोपनी ५ आना जग्गा ५२ वर्षसम्मका लागि लिजमा दिने पूरक सम्झौता गरेको थियो।

बालसंगठनका हालका पदाधिकारीहरूका अनुसार बालसंगठनको जग्गा विभिन्न संघसंस्थालाई दिलाउन २०४७ सालदेखि नै चलखेल भएको थियो।

सोही अनुसार २०४९ साल माघ २७ मा वृहस्पति सदनलाई नीकै हतार गरेर मासिक ५० हजार रुपियाँमा ९ रोपनी जग्गा दिने सम्झौता भएको थियो । त्यतिखेर सम्झौता भएको तीन दिनमै जग्गा उपलब्ध गराइएको थियो।

२०४९ माघ २७ मा संगठनले घर टहरासहितको जग्गा भाडामा दिन सम्झौता गरेको थियो, फागुन १ गतेदेखि नै वृहस्पतिले भोगचलन शुरू गर्‍यो। टहरा, मूल ढोका र बोरिङ बनाउन पाइने र प्रत्येक वर्ष १० प्रतिशतका दरले भाडा वृद्धि गर्ने गरी सम्झौता भएको थियो।

सम्झौतामा वृहस्पतिलाई २०५२ फागुन १ सम्म मात्र भोगचलनको अधिकार दिइए पनि त्यसपछिका १० महिनासम्म सम्झौताबेगर वृहस्पतिले जग्गा भोगचलन गरेको देखिन्छ। त्यसपछि दुई पक्षबीच २०५३ साल माघ १० देखि २०६० साल माघ २७ सम्म अर्को सम्झौता भएको थियो। त्यतिखेर मासिक भाडा १ लाख ५० हजार पुर्‍याइएको थियो ।

संगठनकी अध्यक्ष रीता सिंहकै रोहबरमा भएको सम्झौतामा संगठनका महासचिव श्यामकुमार आले र वृहस्पतिका तत्कालीन अध्यक्ष चिरञ्जीवी तिवारीको हस्ताक्षर छ।

वृहस्पतिले शुरूको सम्झौतामै बाल संगठनको जग्गामा अस्थायी टहरा, बाटो, पर्खाल, मूल ढोका, बोरिङ, खेलमैदान निर्माण गर्न सक्ने अधिकार पाएकाले उसले त्यति बेलादेखि नै अनाथ बालबालिकाले आश्रय लिएका बालमन्दिरका टहरामा घाम नै छेक्ने गरी ठूला भवनहरू बनाउन थाल्यो। त्यति बेलादेखि नै बालबालिकाहरू पीडित हुँदै आएको स्थानीयहरू बताउँछन् ।

बालसंगठनको तत्कालीन नेतृत्वले यसअघि भएका सम्झौताअनुसार वृहस्पतिले कार्य गरे नगरेको कुनै अनुगमन नै नगरी सरासर सम्झौता गर्ने र जग्गाको क्षेत्रफल पनि बढाएर थप सम्झौता जारी राखेको पाइएको छ।

कानुनविद्हरूका अनुसार सार्वजनिक संस्थाको सम्पत्तिबारे नयाँ बहाल सम्झौता गर्दा पुरानो सम्झौता पूर्णरूपमा कार्यान्वयन भए/नभएको समीक्षा नगरी पहिलेकै कम्पनीलाई सरारसर भाडामा दिनु र फटाफट सुविधाहरू थप्नु त्रुटिपूर्ण र शंकास्पद हो ।

हुन पनि पुरानो सम्झौताको म्याद २०६० साल २७ माघसम्मै रहेको भए पनि २ वर्ष म्याद कायमै रहेको अवस्थामा २०५८ साल जेठ ८ गते नै अर्को सम्झौता गरेर १ जेठ २०८८ सम्म म्याद थप्ने गरी ३० वर्षका लागि सम्झौता गरिएको थियो। त्यतिखेर सम्झौता गर्दा भने जग्गाको क्षेत्रफलसमेत ९ रोपनीबाट बढाएर १४ रोपनी ९ आना बनाइएको छ।

भाडा भने जम्मा १ लाख मात्रै बढाइएको छ । १४ रोपनी ९ आना जग्गा प्रयोग गरेबापत वृहस्पति सदनले जम्मा २ लाख ५० हजार तिर्नुपर्ने गरी सम्झौता गरिएको छ।

फेरि लगत्तै अर्को सम्झौता गरिन्छ २०५९ साल भदौ ११ मा र सो सम्झौतामा १३ आना १२ पैसा र १ दाम जग्गा थपेर २८ रोपनी ५ आना १ दाम पुर्‍याइएको थियो।

अन्तिमपटक ४३ वर्षलाई थपिएको सम्झौतामा मासिक भाडा ९ लाख मात्रै बनाइएकाले सो कार्यमा गम्भीर अनियमितता भएको हुन सक्ने भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन गर्दै आइरहेको हो ।

यसअघि दुईपल्ट भएका सम्झौतामा प्रत्येक वर्ष १० प्रतिशतका दरले भाडा वृद्धि गरिने उल्लेख थियो । तर, तेस्रो सम्झौतामा पहिलो र अन्तिम ५ वर्ष भाडा नबढाउने, त्यसबाहेक प्रत्येक २/२ वर्षमा ५ प्रतिशतका दरले मात्र भाडा बढ्ने प्रावधान राखियो।

बहाल अवधि लम्बिँदै जाँदा भाडा वृद्धिदर थपिनुपर्नेमा उल्टै घटाइनुले यसमा गम्भीर अनियमितता भएको पुष्टि हुने स्रोतको दाबी छ।

तेस्रो सम्झौतापछि वृहस्पतिले भाडामा लिएको जग्गामा ठूल्ठूला भवन निर्माण गर्ने अधिकार पायो। सो सम्झौता अवधिभर बाल संगठनले वृहस्पतिलाई हटाउन नसक्ने, तर वृहस्पतिले तीन महिनाको पूर्वसूचना दिएर सम्झौता तोड्न सक्नेसम्मको प्रावधान राखेर संगठनलाई थप कमजोर बनाउने गरी चलखेल गरिएको संगठनका हालका पदाधिकारी बताउँछन्।

यसरी वृहस्पतिले ४३ वर्षलाई सम्झौता हत्याएपछि २०७६ सालमा उसले सवलिजमा अर्को विद्यालयलाई बालसंगठनको जग्गा भाडामा दिएर थप बद्मासी ग¥यो । आफूले प्रयोग गर्ने जग्गा उसले राई स्कुललाई दिएको छ। जुन गैरकानुनी हो।

प्रतिक्रिया दिनुहोस्