समाजको मन जितेर काम गर्न डिआइजी खापुङको निर्देशन



उदयपुर ।

कोशी प्रदेश प्रहरी प्रमुख चन्द्र कुवेर खापुङले अब प्रहरीहरु सुध्रिएर काम गर्नु पर्ने र समाजको मन जितेर काम गर्न निर्देशन दिएका छन् ।

शुक्रबार जिल्ला प्रहरी कायाृलय उदयपुरको अनुगमन तथा निरीक्षण पश्चात पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै कोशी प्रदेशका प्रहरी प्रमुख खापुङले प्रहरीले नियम कानुन अनुसार काम गर्ने र सोही अनुसारको जिम्मेवारी दिइएकोले आफ्नो कर्तव्य पालनालाई इमान्दार भएर काम गर्नेमा आफू विश्वस्त भएको बताएका छन् ।

सडक दूर्घटना, गाँजा , लागु औषध नियन्त्रण,शान्ति सुरक्षा, वैदेशिक रोजगारतथा प्रहरी जनशक्ति र प्रहरीको सूचना सम्प्रेषणमा हुने ढिलाईका बारेमा नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्का लगायतका पत्रकारहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा कोशी प्रदेशका प्रहरी प्रमुख डिआइजी खापुङले जवाफ दिंदै प्रहरीले सधैँ स्थानीय जनतासँगको सम्बन्धलाई राम्रो बनाएर जनचेतना मुलक काममा प्रयोग गर्न र स्थानीय समस्याका बारेमा जानकारी लिएर स्थानीयको सहयोगमा समाधानका बाटोहरु निकाल्न प्रयत्न गर्नु पर्ने बताउँदै प्रदेश प्रहरी प्रमुख खापुङले ठाउँ अनुसार समस्या फरक फरक हुन सक्छन ति समस्यालाई निराकरण गर्न स्थानीयको सहयोग लिएर बौद्धिकतापूर्ण तवरले अघि पर्ने बताए ।
उनले शान्ति सुरक्षाका विषयमा जिल्लामा शान्ति सुरक्षा समिति रहेकोले प्रहरकिो खासै भूमिका नहुने बताउँदै स्थानीय प्रशासन तथा प्रमुख जिल्ला अधिकारीले समन्वय गरेर शान्ति सुरक्षा सम्बन्धि काम हुने भएकोले प्रहरीले सहयोगीको भूमिका निर्वाह गर्ने बताए ।

लागु औषधका बारेमा यो समस्या एक ठाउँको मात्र नभएर विश्वव्यापी रुपमा रहेकोले प्रहरलिे मात्र नियन्त्रण गर्न नसक्ने भएकोले यसमा समाजको भूमिका महत्वपूर्ण हुने भएकोले सामाजिक रुपमा पहल गर्नु पर्ने बताउनु भयो । प्रहरीसँग भएको साधन श्रोत र जनशक्तिले मात्र लागु औषध नियन्त्रण गर्न समसया भएकोले समाजले पनि एउटा खास योजना बनाएर अघि बढेमा नियन्त्रणमा सहयोग पुग्ने कुरामा डिआइजी खापुङको भनाई रहेको छ ।

सो कार्यक्रममा उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरिक्षक रमेश थापाले जनताका विविध समस्या समाधान गर्न प्रहरीले मात्र नसक्ने भएकोले सबैको साथ सहयोग, सुझाव सल्लाह आवश्यक भएको बताउँदै लागु औषध नियन्त्रणमा समाजकालागि केही गरौँ भन्ने स्वच्छ भावनाको कार्य भएकोले सबैको साथ सहयोगले काम गरिहेका बताए । प्रहरी उपरिक्षक थापाले सूचना प्रवाहमा आफूले कुनै कन्जुस्याइँ नगर्ने र पारदर्शी रुपले समयमै सूचना प्रवाह गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्