अर्ग्यानिक खेतीमा जोड दिऊँ, बजार विस्तार गरौँ : राष्ट्रपति पौडेल



काभ्रे ।

राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक परिवर्तनपछिको अबको मुलुकको आवश्यकता भनेको आर्थिक समृद्धि, विकास र शान्ति नै भएको बताएका छन्।

वृहत् काभ्रेपलान्चोक कृषि महोत्सव २०८० को अवसरमा शुक्रबार काभ्रेमा आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले मुलुकमै उत्पादन र रोजगारी बढाएर आयात घटाउने तथा निर्यात बढाउनेतर्फ नीति निर्माता, योजनाविद र सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने आवश्यकता औँल्याए । “गरिबिको रेखाभित्र परेका जनसमुदायलाई बाहिर निकाल्न सक्ने क्षमता कृषि क्षेत्रमा भएको हुँदा  यी क्षेत्रमा व्यापक नीतिगत सुधारको आवश्यकता मैले देखेको छु”, राष्ट्रपति पौडेलले भने ।

निमुखालाई न्याय र विपन्नलाई आयको व्यवस्था तथा श्रम गर्नेको सम्मान गर्ने संस्कृति बसाल्नु अपरिहार्य रहेको उनले स्पष्ट पारे । “मूलतः कृषि, पर्यटन, जलस्रोत र उद्योग व्यवसायको विकासबाट नै हामीले औधोगिकिकरणको मार्ग प्रशस्त गरी आर्थिकरुपमा समृद्ध नेपालको निर्माण गर्न सक्छौ, जुन संघीय लोकतान्त्रिक गणतन्त्रको अभिष्ट पनि हो भन्ने मलाई लाग्दछ”, राष्ट्रपति पौडेलले भने ।

उनले कृषि र पशुपालनका साथै लोपोन्मुख अवस्थाका प्रविधि, अभ्यास र रैथाने बालीको संरक्षण र संवद्र्धन गरी नयाँ पुस्तालाई परिचित गराउने तथा यसको ज्ञान र प्रविधि हस्तान्तरण गर्नुपर्नेमा जोड दिए। “बढ्दो शहरीकरणको प्रभावबाट छायाँमा परेका पौष्टिक महत्त्व भएको हाम्रो मौलिक उत्पादनबारे जनचेतना र जागरण अभियान चलाएर यसको उत्पादनलाई बढावा दिनेतर्फ पनि उत्तिकै ध्यान दिनु जरुरी छ”, उनले भने ।

काभ्रेपलान्चोक जिल्ला कृषि, पशुजन्य र बजारमुखी उत्पादनको दृष्टिले महत्त्वपूर्ण क्षेत्र हो भन्दै उनले कृषि उद्यमीहरू कृषि कर्मबाट अन्य पेसा, व्यवसायतर्फ आकर्षित भइरहेको सन्दर्भमा यस क्षेत्रका उद्यमीहरूमा कृषि कार्यप्रतिको आकर्षण, रोजगारी र आयआर्जनसहितको आत्मनिर्भरता बढाउने गरी कृषिजन्य व्यवसायको व्यापकता अभिवृद्धिमा महोत्सवले महत्त्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे । “विविध भौगोलिक संरचना भएको हाम्रो देशमा तराई क्षेत्रमा गहुँ, धान र ऊखु उत्पादन तथा पहाडी क्षेत्रमा चिया, सुन्तला, कफी, जैतुन, किवी, ड्रागन फ्रुट, एभोकार्डाेजस्ता ‘हाई भ्यालु फ्रुट’को विकासमा जोड दिनु पर्दछ, उच्च पहाडी तथा हिमाली क्षेत्रमा स्याउ र ओखर खेतीको विकास गर्दा कृषि क्षेत्रको सन्तुलित विकासलाई मद्दत पुग्छ”, राष्ट्रपति पौडेलले भने।

अहिलेको सञ्चार र सूचना प्रविधिको युगमा कृषि प्रविधिसम्बन्धी जानकारी, बजारको अवस्था, रोग, किरा, मौसमको जानकारीलगायत आवश्यक प्रविधि प्रचारको लागि यसको उपयोग गरी सम्पूर्ण सूचनाहरू देशभरिका कृषकलाई मोबाईलमार्फत उपलब्ध गराउने व्यवस्थाको खाँचो उनले औँल्याए । विदेशबाट फर्केका युवाहरूलाई उनीहरूले सिकेर आएको सीप प्रयोग गर्ने गरी कृषिमा आकर्षित गर्ने वातावरणको निर्माणमा हाम्रा नीति निर्माता, सरकार र व्यावसायिक संस्थाहरूले विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

कृषकको उत्पादनको बजारीकरणको व्यवस्था, समयमै विउविजन र मलको आपूर्ति, नवीनतम औजार-उपकरण-यन्त्र र प्रविधिको उपलब्धता, कृषकको समस्याको पहिचान र निदानको व्यवस्था, कृषकको मनोबल उच्च बनाउन श्रमको सम्मानको व्यवस्था, कृषकलाई सहुलियतपूर्ण कर्जा र कृषि बीमाको व्यवस्था राज्यले प्राथमिकतामा राख्नुपर्नेमा राष्ट्रपति पौडेलले जोड दिए।

“परम्परागत कृषि प्रणालीको अन्त्य गरी नवीनतम उच्च प्रविधि, उपकरण, गुणस्तरीय बीउबीजन र व्यावसायिकताको उच्चतम अभ्यासद्वारा औधोगिकिकरणतर्फ उन्मुख हुन अब हामीले किमार्थ ढिला गर्न हुँदैन”, उनले भने ।

उनले विगतमा आफू पनि एउटा किसान भएको र सुन्तला कागती गोड्दागोड्दै सांसद भएको स्मरण गरे । उनले भने, “ कृषि नै जीवन हो ।” जनतालाई पाल्ने काभ्रेका उद्यमशील श्रमको अभिनन्दन गर्न म यहाँ आएको हुँ ।”

पौडेलले आफूले कषि क्रान्तिको कुरा सुरु गर्नुअघि काभ्रेका जनताले कृषि क्रान्ति गरिसकेको बताए  । उनले अहिले रसायनिक मलले मानिसको स्वास्थ्यमा प्रतिकुल असर गरिरहेको उल्लेख गर्दै भने, “हामीले अर्ग्यानिक खेतीमा जोड दिनुपर्छ । रैथाने खानामा जस्तो स्वाद र शक्ति अहिलेको आधुनिक उत्पादनमा छैन,  त्यही भएर अर्ग्यानिक खेतीमा हाम्रो ध्यान केन्द्रित हुनुपर्छ ।”

पौडेलले राजधानीमा रहेको कालीमाटी कृषि बजार मात्रैले नपुग्ने भएकाले यस्ता अरू चार पाँच वटा बजार आवश्यक भएको बताए । सो कार्यक्रममा राष्ट्रपति पौडेलले राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट काभ्रे र सिन्धुपाल्चोकका ६ जना कृषकलाई पुरस्कृत गरे ।

प्रतिक्रिया दिनुहोस्