राष्ट्रपति पौडेलद्वारा बृहत् कृषि महोत्सवको उद्घाटन (तस्बिरसहित) 



काभ्रे। 

राष्ट्रपति रामचन्द्र  पौडेलले  बृहत् काभ्रेपलाञ्चोक कृषि महोत्सवको  उद्घाटन गरेका छन्
शुक्रबार महोत्सवको  बनेपा लायकुमा उद्घाटन भएको हो  । महोत्सवका लागि बनेपा स्थित करुणा मार्ग र लायकु क्षेत्र कृषि उपर र कृषि औजारले सजिएको छ । महोत्सव फागुन ७ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा कृषि उपज, यन्त्र उपकरण लगायतका २ सय भन्दा बढी स्टल रहनेछन् ।

काभ्रे कृषि एवं पशुजन्य उत्पादन, र बजारमुखी उत्पादनको दृष्टिले अग्रणी जिल्लाको रुपमा परिचित छ । कृषकहरुले उत्पादन गरेका कृषि तथा पशुजन्य उपजहरुको कारोबारमा वृद्धि ल्याउने, कृषकलाई आवश्यक पर्ने उत्पादन सामाग्री एवं नयाँ प्रविधिप्रति आकर्षण बढाई उत्पादन लागत घटाउने उद्देश्यले महोत्सव आयोजना गरिएको हो ।

कृषिका उदीयमान नवीनतम प्रविधि तथा वित्तीय साक्षरता सम्बन्धी सेमिनार आयोजना, रैथाने बाली एवं प्रविधिहरुको प्रदर्शन, स्थलगत बाली उपचार शिविर तथा पशु स्वास्थ्य शिविर महोत्सवका प्रमुख आकर्षण हुन् । महोत्सवले कृषि पेसाप्रति आकर्षण बढाई वैदेशिक रोजगारीका लागि बिदेसिने युवाहरुलाई नेपालमा नै रोक्न सहयोग पुर्‍याउने विश्वास लिइएको आयोजक जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपककुमार गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस्