समयमा लुम्बिनी विकास कोषको गुरुयोजना पुरा नहुँदा विकासका सम्भावना अवरुद्ध: सभापति लामिछाने



बुटवल  । 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबी लामिछानेले लामो समय सम्म पनि लुम्बिनी विकास कोषको गुरुयोजना पुरा नहुँदा कयौँ सम्भावनाका ढोकाहरू बन्द भएको बताउनुभएको छ । उहाँले समयमै गुरुयोजना पुरा नहुँदा यस क्षेत्रका हजारौँ स्थानीयहरू विस्थापित हुनु परेको बताउनुभयो ।

राष्ट्रिय गौरवका आयोजनाहरू पुरा गराउने उद्देश्य सहित आयोजित राष्ट्रिय स्वतन्त्र पार्टीको राष्ट्रव्यापी दबाब अभियानको क्रममा लुम्बिनी आई पुग्नुभएको लामिछानेले गुरुयोजना पुरा भएको भए स्थानीयहरूलाई यही रोजगारीको पर्याप्त अवसरहरू हुने जिकिर गर्नुभयो ।
उहाँले ४६ वर्षदेखि अलपत्र लुम्बिनी गुरुयोजना कुनै पनि वाहनमा ढिलाइ गर्ने छुट नरहेको बताउनुभयो । उहाँले गौतमबद्धको पवित्र जन्मभूमिको नाममा कसैले बदमासी गर्न नहुने बताउँदै आफूहरूले गुरुयोजना कार्यान्वयनका लागि निरन्तर दबाब दिने र समाधान पत्र सरकारलाई बुझाउने बताउनुभयो ।

भैरहवामा निर्माण सम्पन्न भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका कारण पनि अरबौँको लगानी जोखिममा रहेको उहाँले बताउनुभयो । लामिछानेले सरकारका प्रतिनिधिहरूले नै लगानीको आस देखाएर उनीहरूलाई बिजोक अवस्थामा पारेको आरोप लगाउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रव्यापी दबाब अभियान अन्तर्गत लुम्बिनी गुरुयोजना कार्यान्वयनका लागि दबाब स्वरूप पैदल यात्रा गरेको थियो । पार्टी सभापति रवि लामिछाने सहित करिब १० किमिको पैदल यात्रा गर्दै लुम्बिनी गुरुयोजना कार्यान्वयन गर्न दबाब दिएको हो ।

लुम्बिनी गुरुयोजना क्षेत्र उत्तरतर्फको १२ नम्बर गेटबाट निर्माणधिन संरचनाको अवलोकन गर्दै लामिछानेले शान्तिदीप, मायादेवी मन्दिरको दर्शन गर्दै दक्षिणतर्फको ६ नम्बर गेट हुँदै महिलावर चौकसम्म पैदल यात्रा गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्