एमाले धादिङको नवौँ अधिवेशनको बन्दसत्र पुनःसुचारु

प्रतिवेदन सर्वसम्मत पास, निर्वाचन कार्यतालिका सार्वजनिक



धादिङ। 

नेकपा एमाले धादिङको नवौँ जिल्ला आजबाट पुनः सुरु भएको छ । गत माघ १९ गते औपचारिक उद्घाटनसत्र सकेर बन्दसत्र सुरु हुँदै गर्दा आन्तरिक विवादका कारण स्थगित भएको बन्दसत्र आजबाट पुनः सञ्चालनमा ल्याइएको हो ।

विवादित विषयहरु समाधान भएपछि बन्दसत्र सुचारु गरिएको केन्द्रीय संगठन विभागका सचिव माधव ढुंगेलले बताए । बन्दसत्रको अध्यक्ष मण्डल, प्रतिनिधि छनौट, प्रतिनिधि छनौटको विधि र प्रक्रिया लगायत विवादित बनेका विषयमा दुबैपक्षबीच सहमति जुटेपछि बन्दसत्र सुरु भएको हो ।

बन्दसत्रको अध्यक्ष मण्डलको अध्यक्षता गर्दै  नेकपा एमाले स्थायी समिति सदस्य तथा जनसंगठनका प्रमुख भानुुभक्त्त ढकालले मिशन ०८४ सफल बनाउने हो भने पार्टीलाई छलफल र सहमतिबाट अगाडी लैजानुपर्ने, जिल्ला तहका नेताहरु एकताबद्ध भई अगाडी बढ्नुपर्ने निर्देशन दिए ।

केन्द्रीय संगठन विभागले बन्द सत्र सञ्चालन कार्यविधि बनाइ पार्टी स्थायी समिति सदस्य तथा जनसंगठनका प्रमुख भानुभक्त्त ढकालको अध्यक्षतामा अध्यक्ष मण्डलको गठन ग¥यो । अध्यक्ष मण्डलको सदस्यहरुमा पार्टी बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुुंगेल, केन्द्रीय सदस्य तथा धादिङका इन्चार्ज धर्मदत्त देवकोटा, संगठन विभागका सचिव माधव ढुुंगेल, केन्द्रीय सदस्यहरु खेम लोहनी, जानुका सिम्खडा, रेशम लामा, बागमती प्रदेश कमिटीका उपाध्यक्ष दावा दोर्जे लामा र प्रदेश कमिटीका सचिव नवराज सिलवाल समेत रहेको  ९ सदस्यीय अध्यक्ष मण्डलले बन्द सत्रको व्यवस्थित रुपमा सञ्चालन गरेको छ ।

बन्द सत्रमा नेकपा एमाले धादिङका जिल्ला अध्यक्ष भूमि त्रिपाठीले प्रस्तुत गरेको  राजनीतिक तथा सांगठनिक प्रतिवेदन र लेखा आयोगका सदस्य गोकर्ण दवाडीले प्रस्तुत गरेको  आर्थिक प्रतिवेदन सुझावसहित पास गरेको छ ।

५ सय ७८ जना प्रतिनिधि रहेको नेकपा एमाले धादिङको बन्द सत्रले आगामी कार्यकालका लागि १ सय ५ सदस्सीय नयाँ नेतृत्व चयन गर्ने छ । निर्वाचन कार्यतालिका सार्वजनिक गरिएसंगै मनाेनयन दर्ता सुरु भएको छ । बेलुका ८ बजेसम्म विभिन्न पदमा २० जनाले दर्ता गराएका छन् । बुधवार बिहानसम्म उम्मेदवारी दर्ताको समय राखिएको निर्वाचन अधिकृत अधिवक्ता विश्वराज अधिकारीले जानकारी दिए ।

पाचजना पदाधिकारी,  १ सय जना सदस्य सहितको जिल्ला कमिटी, ७ जनाकाे लेखा कमिटी निर्वाचन हुने कार्यतालिका छ ।

एमाले अधिवेशनकाे निर्वाचनका लागि विद्युतीय भोटिङ मेसिनकाे प्रयाेग हुने भएको छ ।

जिल्लामा पहिलाे पटक विद्युतीय भोटिङ मेसिनबाट मातदान गर्न एमालेले तयारी गरेकाेले मतदान र मतगणना सहज भई छिटो परिणाम सार्वजनिक हुने छ ।

प्रतिक्रिया दिनुहोस्