कर्मचारीको बचाउमा वडा अध्यक्ष नै लागेपछि बालेन आक्रोशित



काठमाडौं ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले कर्मचारीलाई कारबाही गरेको विषयमा कार्यपालिका सदस्यहरूले असन्तुष्टि जनाएपछि आक्रोश पोखेका छन् ।

मंगलबारको कार्यपालिका बैठकमा कार्यपालिका सदस्यले कर्मचारीलाई स्पष्टीकरण सोधिएको विषयमा बालेनलाई प्रश्न गरेका थिए । उनीहरूले मेयरलाई कारबाहीको अधिकार नभएको जिकिर गरेका थिए ।

कार्यपालिका सदस्यले उठाएको विषयमा बालेनले सामाजिक सञ्जालबाट आक्रोश पोखेका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्,कर्मचारीबाट के गलत भएको हो भन्ने पनि थाहा छ ।कर्मचारी स्वयमले ‘मैले गलत गरेको हो’ भनेर लिखितरूपमा स्विकारेको पनि थाहा छ ।
यति हुँदा हुँदै पनि अब के गर्ने भनेर कार्यपालिकाबाट अगाडि बढाउन रोक्नुको अर्थ हो, वडाअध्यक्षज्युहरुको आफ्नो पार्टीको कर्मचारीलाई बचाउने खेल । यसलाई कर्मचारीको मनोबल के हुन्छ, मेयरले एकलौटी गर्न पाइदैन भन्ने जस्ता प्रश्नले छोप्न खोजिन्छ । साँच्चै भ्रममा हुनुहुन्छ भने निस्कनु होला । चोर भन्दा कसले खुट्टा तान्छ भन्ने जगजाहेर छ । चोर भन्दा झस्किएर आफ्नो खुट्टा तान्नेहरूप्रति हाम्रो शंका छ । प्रस्ट हुनुहोस्, गलत कृत्यलाई कारबाही गर्दा भ्रष्ट, कमिसनखोर कर्मचारीहरूको मात्रै हो मनोबल खस्किने । स्वच्छ कर्मचारीहरूको मनोबल झन् उँचो हुन्छ । गलत काम गर्ने जो कोहीलाई पनि कारबाही गरिनु पर्छ भन्ने उच्च मनोबलका कर्मचारीहरूको काठमाण्डौ महानगरमा कमि छैन ।
आफ्ना पार्टीका कर्मचारीलाई जे गरे पनि बचाउन जुन हदसम्म पनि जान सक्ने जनप्रतिनिधिहरूले साँच्चै स्थानीय सरकारको मर्म आत्मसाथ गर्न सकेको कसरी मान्ने ? जनप्रतिनिधिको आवरणमा कांग्रेस, एमाले र माओवादीका पार्टी प्रतिनिधि रहेको किन नभन्ने ? यस्तो गलत प्रवृतिले बन्छ त काठमाण्डौ ?
जनप्रतिनिधीहरुले जनताबाट म्यान्डेट लिएर आउँछन् । कर्मचारीहरू संविधान, ऐनकानुनको सीमामा बसेर जनप्रतिनिधीहरूलाई सहयोग गर्छन् । यो सम्बन्धलाई विश्वास र कानुनको पालनाले बलियो बनाउँछ, न कि जति भ्रष्ट भए पनि कर्मचारीले फाइल मिलाएर बचाइदिन्छन्, नेताले ढाकछोप गरिदिन्छन् भन्ने विचलनले ।
स्विकारी स्विकारी गलत काम गर्ने कर्मचारीलाई जोगाउन सिंगो पार्टी लाग्छ भने यो भन्दा बिडम्बना अर्को के हुन्छ ? आशा गर्छु, कार्यपालिकामा छलफलका लागि ल्याइएको प्रस्ताव नै देखाएर एकलौटी निर्णय हो भन्दा लाज मान्ने जनप्रतिनिधीहरु देशभर आउन् । गलत गरिहालेछ, आफ्नै पार्टीको पर्यो, छोडिदिनुहोस् भन्ने खालका जनप्रतिनिधीहरू कहिँकतै नदेखिउन् ।’

 

प्रतिक्रिया दिनुहोस्