विश्वविद्यालय र अस्पतालबीच सम्बन्धको असर

काठमाडौँ विश्वविद्यालयका मेडिकल कार्यक्रममा ‘सिट’ खाली



काभ्रे।

काठमाडौँ विश्वविद्यालय धुलिखेल र धुलिखेल अस्पताल बीचको सम्बन्धमा देखिएको विवादको असर विद्यार्थीहरुमा देखिन थालेको छ । स्कुल अफ मेडिकल साइन्समा भर्ना हुने अधिकांश विद्यार्थीहरूले अस्पताल र विश्वविद्यालय कहिले छुट्टिने हो ? यसले हाम्रो अध्ययनमा असर पर्छ कि पर्दैन ? भन्दै प्रश्न गर्न थालेका छन् । एकातिर भर्ना नै नहुने, अर्को तर्फ भर्ना भएका विद्यार्थीहरुमा त्रास कायम रहने समस्या सिर्जना भएको विद्यार्थीहरूले बताएका छन् ।

कुनै समय काठमाडौँ  विश्वविद्यालयमा विएस्सी नर्सिङ्ग विषयमा भर्ना हुन विद्यार्थीहरुको मारामार हुन्थ्यो । ‘काठमाडौँ विश्वविद्यालयको स्कुल आफ मेडिकल साइन्स अन्तर्गत धुलिखेलमा भर्ना हुन चाहने विएस्सी नर्सिङ्ग अध्ययन गर्ने विद्यार्थीहरुको मारामार हुन्थ्यो’–स्कुल अफ मेडिकल साइन्समा कार्यरत एक कर्मचारीले भने–‘चिकित्सा शिक्षा आयोगको पछिल्लो तथ्याङ्क अनुसार सोमबार साँझसम्म धुलिखेलमा १४ सिट खाली छ ।’ नजिकै रहेको बनेपाको शिर मेमोरियलमा भने शून्य  सिट बाँकी छ । भएका सबै ४० वटा सिटमा नै विद्यार्थीहरु भर्ना भएका छन् । सोमबारको तथ्याङ्कले विएस्सी नर्सिङ्ग तर्फ ३३ सिट खाली देखिन्छ ।

काठमाडौँ विश्वविद्यालयले संचालन गरेको केयुएमएसमा ४० मध्ये २६ सिटमा मात्रै भर्ना भएका छन् । त्यस्तै विडिएस कार्यक्रममा पनि १६ सिट खाली छ । जवकी अघिल्लो वर्षहरुमा विएस्सी नर्सिङ्ग र विडिएस विषय अध्ययनका लागि आर्कषक कलेजका रुपमा केयुएमएसलाई विद्यार्थीहरूले रोज्ने गरेका थिए ।

उक्त कार्यक्रममा चिकित्सा शिक्षा आयोगको रेकर्डमा ७२ सिट खाली छ । एमविविएस कार्यक्रममा समेत पहिलो र दोस्रो सूचीमा गरेर मात्रै आवश्यक सिटमा विद्यार्थीहरूले भर्ना गरेका छन् । पहिला पहिला सुरुकै सूचीमा  भर्ना गर्न विद्यार्थीहरुबीच मारामार हुने गर्दथ्यो । १५ जना विद्यार्थीहरूले मात्रै भर्ना गरेपछि दोस्रो पटक थपिएको म्याद भित्र मात्रै बाँकी विद्यार्थीहरूले भर्ना गरेका थिए ।

त्यस्तै विएनएस तथा विएमआईडीमा केयुएसएमएसमा १८-१८ सिट खाली छ । विपिटीमा ७ सिट भर्ना हुन बाँकी छ । अन्य कार्यक्रममा पनि पूरा सिटमा विद्यार्थीहरु भर्ना भएका छैनन् । काठमाडौँ  विश्वविद्यालय र अस्पताल बीचको सम्बन्धको असर विद्यार्थीहरु मात्रै होईन विरामीहरुमा पनि पर्न थालेको छ । दुवै संस्थाका अगुवा तथा सम्झौता गर्ने ब्यक्तिहरुको प्रयास पनि निरर्थक देखिएको छ । अस्पतालमा हुने खर्च समेत काठमाडौँ विश्वविद्यालय स्कुल आफ मेडिकल साईन्सले भुक्तानी नगरेको चर्चा यस अघि नै सुनिन थालेको थियो भने विश्वविद्यालयले भने अस्पतालकै तर्फबाट असहयोग भएको बताउँदै आएको थियो ।

विश्वविद्यालयले सम्झौता विपरित खाता परिवर्तन गर्ने, कर्मचारीहरु नियुक्ति गरिदिने तथा दुवै संस्थाको स्वायत्ततामाथि  हस्तक्षेप गरिरहेको अस्पतालले बताएको छ भने विश्वविद्यालयले अस्पतालले विश्वविद्यालयका कुनै शर्तहरु नमानेका कारण बाध्य भएर सिनेटबाटै ऐन संशोधन गर्नु परेको बताएको छ ।

 काठमाडौँ विश्वविद्यालयले विद्यार्थी भर्नाको दर बढेको बताइरहँदा मेडिकल तर्फ देखिएको भर्ना प्रतिशतले प्रतिष्ठित दुवै संस्था संकटतर्फ उन्मुख हुन थालेको संकेतहरु देखिन थालेको स्थानीयहरुले बताएका छन् । स्थानीयहरुले दुवै संस्थालाई विगतमा भएका सम्झौताहरुको अक्षरशः पालना गर्न दबाब दिन नसकेकाले दुवै संस्थाहरु धरासयी बन्दै जाने र अविश्वास बढिरहेको निष्कर्ष निकालेका छन् ।

प्रतिक्रिया दिनुहोस्