यसरी अन्त्य भयो हिमाली एफएमबाट सुरु भएको कुमार- प्रमिलाको प्रेम सम्बन्ध



काठमाडौँ। 

माघ २७ गते साँझ।काठमाडौँ महानगरपालिका-९ गौशाला रुन्चेडाँडास्थित सिरहा-धनुषा होटल एन्ड लज। लजको पश्चिमतर्फको कोठा नम्बर १०८।

 जिल्ला प्रहरी परिसर काठमाडौंको कन्ट्रोल रुममा खबर आयो – एक जना अपरिचित महिलाको शव फेला पर्‍यो। प्रहरी ६ बजे लजमा पुगिहाल्यो। प्रहरी टोली पुग्दा २८ वर्षीया प्रमिलादमाईको शव कोठामा भेटियो।

 घटना अघिल्लो दिन बेलुका भएको थियो। कोठा नखुलेपछि भोलिपल्ट होटल सञ्चालकले शंका लागेर खोल्दा प्रमिला मृत अवस्थामा फेला परेकी थिइन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भूपेन्द्रबहादुर खत्रीका अनुसार प्रमिलादमाईको घर रामेछाप लिखु तामाकोसी गाउँपालिका-५ हो। उनी काठमाडौं-९ भीमसेनगोलामा श्रीमान् नसे दमाईसँग डेरा गरी बस्दै आएकी थिइन्।

 ३८ वर्षीय कुमार दोलखा बैतेश्चर गाउँपालिका-७ का हुन्। उनी रामेछापमै भएको बेला २०७९ सालमा कुमारसँग चिनजान भएको थियो। २०६९ साल मंसिरमा रेडियो हिमाली दोलखाद्वारा प्रसारित ‘साथी बनाउने रेडियो कार्यक्रम’मार्फत् कुमार श्रेष्ठसँग चिनजान भएको थियो। चिनजानपछि दुबै घनिष्टता बढ्दै गयो। दुबै विवाहित र सन्तानसमेत भएको थाहा भए पनि उनीहरूबीच प्रेम सम्बन्ध स्थापित भएको खत्री बताउँछन्।

 यसक्रममा कुमार प्रमिलालाई भेट्न २०७९ साल पुस महिनामा रामेछाप पुगे, जतिबेला पर्मिलाका श्रीमान् नसे काठमाडौँ आएका थिए। त्यसबेला पर्मिलाको घरमा कुमार एक हप्ता बसेका थिए। यसपछि पनि पर्मिलालाई भेट्न कुमार पटक-पटक रामेछाप गइरहे। ‘कुमार समय समयमा पर्मिलालाई भेट्न जाने गरेका थिए, नसे दमाईलाई शंका लागेपछि  कुमार र पर्मिलाबीचको प्रेम सम्बन्ध बाहिर आएको  थियो,’ एसएसपी खत्रीले भने।

 त्यसपछि दुबै पक्ष बसे। एक-अर्काको पारिवारिक सम्बन्धमा खलल नपुर्‍याउने सहमति गरी श्रीमती सविनाले कुमारको र नसेले प्रमिलाको जिम्मा लिएर लगेका थिए। ‘प्रेम सम्बन्धको क्रममा दुई परिवारबीच वादविवादसमेत भएको देखिन्छ, २०८० मंसिर ७ गते दुबै पक्षले इलाका प्रहरी कार्यालय रामेछापमा मिलापत्र गरेको फेला परेको छ,’ खत्रीले भने।

 यसपछि नसेले प्रमिलालाई रामेछापमा नराख्ने निधो गरे। गत मंसिर महिनामा नसेले श्रीमती प्रमिलालाई काठमाडौँ ल्याए। उनी भीमसेनगोलाको सुकुम्बासी बस्तीमा एक छोरासहित बस्दै आएका थिए। प्रेममा परेका न थिए, सम्पर्क भइहाल्यो। कुमारले प्रमिला काठमाडौँ आएको थाहा पाइहाले।

 गत पुसमा कुमार दोलखाबाट काठमाडौँ आए।  बुद्धनगर लक्ष्मीचोकस्थित डेरामा कुमार आफ्नी जेठी छोरी सन्ध्या श्रेष्ठसँग बस्न थाले। जता बसे पनि जता रहे पनि, आखिर प्रेम न हो। कसरी छुटिन सक्थे र कुमार-प्रमिला।

 गत पुस महिनादेखि दुबै जना आफूखुसी भक्तपुर लोकन्थीमा डेरा खोजेर लिभिङ टुगेदरमा बस्न थाले। यही क्रममा कुमार घरायसी कामले पुस २८ गते दोलखा गए।प्रमिलालाई भने उनले श्रीमान् नसे दमाईकै कोठामा फर्काइदिए।

 कुमार दोलखाबाट माघ ४ गते काठमाडौँ पर्किए। उनीहरूबीच पुन: भेटघाट हुन थाल्यो। यही क्रममा माघ २४ गते सिरहा-धनुषा होटल एन्ड लजको कोठा नम्बर १०८ मा दिउँसो २ बजे कुमार रप्रमिला गए। यस क्रममा प्रमिलाले कुमारलाई भनिन् – सधैं यसरी बाहिर बसेर मात्र हुँदैन। अब विवाह गरेर भित्र्याउनू।

 तर, कुमारले सिधै इन्कार गरे। आफ्नी श्रीमती सविनाका कारण त्यसो गर्न नसक्ने भन्दै आफू तनावपूर्ण स्थितिमा रहेको बताए। यस्तै गलफत्तीमा त्यो दिन बित्यो। उनीहरू आ-आफ्नो स्थानमा फर्किए।

 फेरि उनीहरू माघ २६ गते भेटघाटको निर्णयमा पुगे। स्थान त्यही होटल र कोठा नम्बर १०८ मै बसे। लजमा सँगै बसेका बेला प्रेम सम्बन्धलाई कुन दिशा दिने विषयमा दुबैबीच वादविवाद हुन थाल्यो।

 वादविवाद हातपातमा परिणत हुँदै गयो। यस क्रममा कुमारले पर्मिलाको बायाँतर्फको कन्चटमा मुक्का प्रहार गरे। मुक्का प्रहार गरेपछि प्रमिला ढलिन्।

प्रमिलाले हल्का गरेर मान्छे बोलाउने डर लागेपछि कुमारले नाइलनको डोरीले पर्मिलाको घाँटी कसे। पर्मिलाको प्राण गएपछि त्यही कोठाको खाटमा राखे।

 उनी भने बेलुका साढे ७ बजे गेष्ट हाउसबाट हिँडे। प्रमिलाको मोबाइलसमेत लिएर उनी भागेका थिए। लुकेर बस्ने क्रममा परिसरले माघ २८ गते दिउँसो साढे २ बजे बुद्धनगरस्थित लक्ष्मी चोकबाट कुमारलाई पक्राउ गरेको थियो।

 उनको साथबाट प्रमिलाको मोबाइल सेट र घटना हुँदा च्यातिएको टि-सर्ट बरामद भएको खत्रीले बताए। ‘मार्ने नियतले कुमारले बोलाएको देखिँदैन, वादविवाद हुँदै हातपातको स्थितिमा पुगेको देखिन्छ,  आकस्मिक रूपमा मुक्का प्रहारपछि परिस्थितिलाई सम्हाल्न नसकेर कुमार हठात् हत्याको निर्णयमा पुग्छन्,’ खत्रीले भने।

 प्रहरीले सोमबार पत्रकार सम्मेलन गरी कुमारलाई सार्वजनिक गर्‍यो। खत्रीका अनुसार दुबैले आफ्नो परिचय लुकाएर होटलमा नाम टिपाएका थिए। प्रमिलाको शव फेला परेको बेला प्रहरीले उनको हत्या गर्ने कुमार थिए भन्ने सुरूमा पत्तै पाएन।

 प्रहरीले सिसिटिभी फुटेज हेर्‍यो। कुमार र प्रमिलाले टिपाएको मोबाइल नम्बर अनुसन्धान गर्न थाल्यो। यसपछि प्रमिला र कुमारका परिवारसँग सम्पर्क भयो।प्रमिलाका श्रीमान् नसेसँग कुराकानी हुँदा कुमार-प्रमिलाको सम्बन्धबारे प्रहरी स्पष्ट हुँदै गयो।

 कुमारलाई प्रहरीले कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्