मुख्यमन्त्रीको गलत कार्यप्रति  ध्यानाकर्षण गराउँदै  एमाले कोशी प्रदेश 



उर्लाबारी। 

नेपाल कम्युनिस्ट पार्टी (एमाले) कोशी प्रदेश कार्यालयले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै मुख्यमन्त्रीको गलत कार्यप्रति ध्यानाकर्षण गराएको छ।
प्रदेश अध्यक्ष घनश्याम खतिवडाद्वारा हस्ताक्षरित विज्ञप्तिमा नेपाली जनताको बलिदान र त्यागबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संस्थागत विकास र नेपालको संविधानको जगमा समृद्ध नेपाल र सुखी नेपाली निर्माण अभियानमा एकजुट भएर अघि बढ्नु अहिलेको अनिवार्य आवश्यकता रहेको अवस्थामा सरकार स्वार्थपूर्तिमा लागेको उल्लेख गरिएको छ।

कोशी प्रदेशमा वर्तमान सरकार गठन गरेदेखि नै एमालेले समर्थन गरेको तर गैरदलीय पृष्ठभूमिबाट बनेको प्रदेश सरकार संविधानको कार्यान्वयन र संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास गर्ने कार्यभार विपरीत नितान्त भागबन्डाको राजनीति र सत्ता टिकाउने खेलमा लागेकोले पार्टीको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाइएको छ । सरकारले एमालेसँग भएको सहमति र पूर्व प्रतिबद्धता अनुरूप भ्रष्टाचार नियन्त्रण र सुशासनको क्षेत्रमा काम गर्नुको सट्टा कानुनको धज्जी उडाउँदै भ्रष्टाचार र कुशासनको पक्षमा लागेको एमालेको ठहर छ । विगतका प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले ल्याएको बजेटलाई अध्यादेशमार्फत संशोधन गर्ने क्रममा दीर्घकालीन महत्वका प्रदेश गौरवका आयोजना, बहुबर्षे आयोजनाहरुको रकम भारी कटौती गरेर सत्ता भागभण्डामा लागेकोले एमालेले विज्ञप्ति मार्फत ध्यानाकर्षण गराएको छ।

विज्ञप्तिमा संविधानको मर्म र भावना विपरीत संवैधानिक नियन्त्रण र सन्तुलन, पारदर्शिता, जबाफदेहितालाई धज्जी उडाउँदै नियमित चलिरहेको हिउँदे अधिवेशन हतार हतार पौष २५ गते समापन गरेर माघ ६ गते केही प्रदेश ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० ल्याएर कानुन र विधिको शासनको धज्जी उढाइएको जनाइएको छ।

प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७५ को दफा २ को खण्ड (ख) को परिभाषालाई प्रयोजनहीन पार्ने गरी अध्यादेशमार्फत पूर्व मुख्यमन्त्री, सत्ता पक्षका संसदीय दलका नेता र सचेतकहरुलाई गाडी सुविधा दिने, जनस्वास्थ्य ऐनमा संशोधन गर्दै व्यवस्था विपरीत कार्यकर्तालाई भर्ती गर्ने उद्देश्यले ऐनमा संशोधन गर्ने, केही कर्मचारीको स्वार्थपूर्तीका लागि कर्मचारी ऐनलाई शंसोधन गर्ने जस्ता कार्यले यो सरकार सत्ता टिकाउने नाममा जस्तोसुकै हर्कत गर्न अग्रसर भएको पुष्टि भएको एमालेको ठहर छ ।

 एकातिर मुख्यमन्त्रीका सार्वजनिक अभिव्यक्तिले मुख्यमन्त्रीको योग्यता र सरकारको हैसियत हदैसम्म गिराएको भन्दै एमालेले  देशको अर्थतन्त्र दिनानुदिन ओरालो लागिरहेको परिस्थितिमा जनताबाट उठाएको करबाट सत्ता साझेदार दलका नेतालाई गाडी सुविधा दिने कानुन बनाउनु सरकार जनताको समस्याप्रति कति पनि जबाफदेही नभएको र सत्ता टिकाउनमा नै लिप्त रहेको पुष्टि भएको जनाएको छ ।

यस प्रदेशका मुख्यमन्त्रीले बेलगाम भएर उनलाई सरकारमा पुर्‍याउने दललाई समेत बेवास्ता गर्दै पूर्वप्रतिवद्धता विपरीत प्रदेश सरकारको हैसियतलाई गिराउने गरी भएका लापरबाही र गैरजिम्मेवारपूर्ण कार्यप्रति एमाले कोशी प्रदेश कमिटीले खेद व्यक्त गरेको छ। एमालेले त्यस्ता गलत कार्यहरु तत्काल सच्याउनका लागि ध्यानाकर्षण गराएको विज्ञप्तिमा जनाएको छ। विराटनगरमा बसेको बैठकले र कार्यकर्ता बिच भएको छलफल पश्चात् एमालेले उक्त विज्ञप्ति जारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस्