आलमको मुद्दामा पन्छिए न्यायाधीश



  रौतहट । 

पटक पटक पेशि तोकिए पनि नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहमद अफताब आलमको मुद्दामा न्यायाधीश पन्छिने गरेका छन् । गएको कात्तिक २२ गते माग गरिएको बहस नोट मंसिर २४ गतेभित्र दुवै पक्षका कानुन व्यवसायीले बुझाएपछि अन्तिम सुनवाइ हुने भनिए पनि गत आइतबार मुख्य न्यायाधीश मातृकाप्रसाद आचार्यले जाहेरवाला गौरीशंकर रामको स्वास्थ्य परीक्षणबारे फरेन्सिक विभागसँग बुझ्ने र सरकारी साक्षी तथा गवाह बुझ्ने आदेश गरेर पन्छिएका छन् ।

 मुद्दाको अंग पुगिसकेको भन्दै यसअघिकै न्यायाधीश बाबुकाजी बानियाँले दुवै पक्षका कानुन व्यवसायीसँग बहस नोट माग गरेपछि गत आइतबार आलमको मुद्दा  अन्तिम सुनवाइ हुने जनाइए पनि पुन आदेश आउनुले मुद्दामा न्यायाधीश पन्छिएको हुन सक्ने एक कानुन व्यवसायीले बताए ।

 मुद्दाको  फैसला नहुँदा आलम भने चार वर्ष देखि पुर्पक्षको लागि कारागारमा रहेका छन् । जिल्ला अदालत रौतहटका श्रेष्तेदार उद्धव ढोडारीका अनुसार आलमको मुद्दामा  बकपत्रको लागि साक्षी झिकाउने आदेश भएको छ । सर्वोच्च अदालतले आलमको मुद्दा  टुङ्ग्याउन निर्देशन दिए पनि मुख्य न्यायाधीश मातृकाप्रसाद आचार्यले अन्य आदेश गरेका हुन । आदेशपछि मुद्दा  झनै लम्बिएको छ ।

२०६४ साल चैत २७ गते संविधानसभा निर्वाचनको पूर्व सन्ध्यामा साबिक राजपुर फरहदवा गाविस वडा नम्बर ४ मा रहेको नेपाली कांग्रेसका उम्मेदवार समेत रहेका मोहमद अफताब आलमको काका शेख इद्रिसको गोठमा बम विस्फोट हुँदा घाइते भएका पिन्टु भन्ने त्रिलोक प्रताप सिंह र ओसी अख्तर मियाँलाई जिउँदै ईट्टाभट्टामा जलाएर मारेको आरोप आलममाथि लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्