माओवादी नेता पुरी सम्पत्ति शुद्धीकरणमा दोषी ठहर



काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता रेवतराज पुरी ‘गगन’ सम्पत्ति शुद्धीकरणमा दोषी ठहर भएका छन्। आइतबार विशेष अदालतले उनलाई दोषी ठहर गरेको हो।

गगन र उनकी श्रीमती सीमाको नाममा ४ करोड ३ लाख ३४ हजार ८ सय ९४ रुपैयाँ अवैध सम्पत्ति भेटिएकोले दुवै जना सम्पत्ति शुद्धीकरण ऐनअनुसार दोषी ठहर भएका हुन्।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले पुरीलाई दोषी ठहर गरेको हो। अदालतले सजाय निर्धारणका लागि आगामी फागुन ६ गते पेसी तोकेको छ।

पुरी गत वर्ष सम्पन्न निर्वाचनमा झापा क्षेत्र नम्बर ५ (ख) मा माओवादीबाट प्रदेश सभा सदस्यका उम्मेदवार थिए। उनी एमालेका होमबहादुर थापाबाट पराजित भएका थिए।

झापाको ‘बालुवाटार काण्ड’ भनेर चिनिने दमक-१३ मा सरकारी जग्गा हडपेर सम्पत्ति आर्जन गरेको निष्कर्षसहित सम्पत्ति शुद्धीकरण विभागले पुरी दम्पतीसहित ६ जना विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो।

प्रतिक्रिया दिनुहोस्