त्रिवि उपकुलपतिको सर्ट लिस्टमाथि नै आशंका

जवाफ दिन शिक्षामन्त्री आज समितिमा जाने



काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा विवादित व्यक्तिलाई सर्ट लिस्टमा पारेको र दैनिक काम गर्नेमात्र अधिकार लिएका त्रिविका काम चलाउ उपकुलपति शिवलाल भुसालले गरेको नियुक्तिको विषयमा सोधपुछ गर्न आज सोमबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईलाई संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले बोलाएको छ।

मन्त्री राई त्रिविका सहकुलपति एवं उपकुलपति छनोट समितिका संयोजक हुनुहुन्छ। समितिका सभापति भानुभक्त जोशीले त्रिविको सर्ट लिस्टमा परेको व्यक्तिको बारेमा जानकारी लिन र त्रिविका काम चलाउ उपकुलपति भुसालले एकपछि अर्को नियुक्तिको बारेमा सोधपुछ गर्न मन्त्री राईलाई बोलाएको जानकारी दिनुभयो।

उपकुलपतिको सर्ट लिस्टमा परेकामध्ये तीर्थ खनियाँलाई बौद्धिक चोरीको आरोप लागेको छ। त्रिविका काम चलाउ उपकुलपति भुसालमाथि राष्ट्रिय सूचना आयोगले जरिवाना गराएको केशरजंग बरालमाथि पोखरा विश्वविद्यालयको कुलपति हुँदा सम्बन्धन प्रक्रियामा कैफियत गरेका व्यक्तिको रूपमा चिनिएका छन्।

अरूहरूको भन्दा पनि बढी तीन जनाको विरोध सुनिएको छ। ‘यस्ता विवादित विषय आएपछि त्यस विषयमा जानकारी लिन छनोट समितिका संयोजकसमेत रहेका मन्त्री राईलाई बोलाएका हौं’ –समितिका सभापति जोशीले नेपाल समाचारपत्रसँग भन्नुभयो।

धेरै विषयहरू सामाजिक सञ्जालमा देखेका तथा सर्ट लिस्ट जारी गर्दा के भएको हो यथार्थ जानकारी लिन मन्त्रीलाई बोलाएको उहाँको भनाइ छ।

उहाँका अनुसार उपकुलपतिको सर्ट लिस्टमा देखिएका व्यक्ति र सर्ट लिस्ट तयारीको आधारबारे जानकारी लिन मन्त्री राईलाई बोलाइएको हो।

यस्तै, मध्य र सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति छनोट प्रक्रियाको बारेमा समेत जानकारी लिन मन्त्रीलाई बोलाएको समितिको भनाइ छ। त्रिवि मात्रै होइन, अन्य विश्वविद्यालयकका उपकुलपति छनोट मापदण्डबारे जानकारी लिन समितिले मन्त्रीलाई बोलाएको हो।

त्रिविको सर्ट लिस्टमा परेकामध्ये केहीको चर्को विरोध भइरहेको छ। छनोटको आधारमै प्रश्न उठ्ने अवस्था आएको छ। त्यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दैनिक प्रशासन सञ्चालन गर्न मात्र नियुक्ति दिएका त्रिविका काम चलाउ उपकुलपति शिवलाल भुसालको कार्यकारी परिषद्ले गरेको नियुक्तिको समितिमा कडा विरोध भएको छ। समितिले सो विषयमा पनि मन्त्री राईसँग जानकारी लिने तयारी गरेको छ ।

‘उपकुलपतिको म्याद दुई महिना बाँकी हुँदा, विश्वविद्यालयलाई दूरगामी असर पर्ने गरी सरुवा र नियुक्ति नदिनु भन्दै लिखित निर्देशन दिने कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालले त्रिविका उपकुलपति भुसाललाई सो विषयमा निर्देशन दिए वा नदिएको विषयमा समेत समितिले छलफल गर्नेछ’ –सभापति जोशीले भन्नुभयो।

काम चलाउ उपकुलपति भुसालले एकपछि अर्को गर्दै मनपरी नियुक्ति दिन थालेको विषय समितिमा प्रवेश पाएको थियो। सो विषयमा मन्त्रालयसँग धारणा माग गरी कुलपतिको पत्र खोजेका सभापति जोशीको भनाइ थियो।

भुसालले यही २४ र २५ गतेबाट लागु हुने गरी १ सहायक डीन, ३ विभागीय प्रमुख र ६ जना क्याम्पस प्रमुखको नियुक्ति गर्नुभएको थियो । नेपाली कांग्रेस, एमाले र माओवादीलाई भाग दिएपछि ती दलका कर्मचारी र प्राध्यापकले केही बोल्न सकेका छैनन्।

नयाँ उपकुलपति आउन्जेलसम्मका लागि मात्र जिम्मा पाएका काम चलाउ उपकुलपति भुसालले गरेको नियुक्ति र सरुवाको विषयमा समितिमा छलफल गर्ने तयारी गरेका जोशीले बताउनुभयो। भुसालले त्रिविका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालको पत्र उल्लंघन गर्दै मनपरी सरुवा गर्नुभएको हो।

पछिल्लोपटक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले काम चलाउ उपकुलपति भुसाललाई जिम्मेवारी उपकुलपति रिक्त भई पदपूर्तिको प्रक्रियामा रहेकाले त्रिवि ऐन २०४९ दफा २१ ख बमोजिम सो पदपूर्ति नभएसम्म दैनिक कार्य सञ्चालन गर्न बढीमा तीन महिनासम्मका लागि मात्र नियुक्ति दिएको थियो।

प्रतिक्रिया दिनुहोस्