आलमको मुद्दामा साक्षी झिकाउने आदेश   



रौतहट ।

 नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री मोहमद अफताव आलम लगायतका विरुद्ध दायर मुद्दामा बकपत्रको लागि सरकारी साक्षी झिकाउने आदेश भएको छ । जिल्ला अदालत गौरका न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले सरकारी साक्षी राजीव बहादुर बस्नेत, राम बहादुर प्रसाद, इन्द्र सुबेदी, उदय नारायण साह, गेनालाल साह कानु, असगर अली खा, सराजुल मिया लगायतका सरकारी साक्षी झिकाउने आदेश भएको हो । साथै जाहेरवाला शंकर भनिने गौरी शंकर रामको फोरेन्सिक मेडिसिन बिभाग महाराजगन्जबाट शारीरिक परिक्षण प्रतिवेदन मगाउने आदेश भएको हो ।

चार वर्ष पुरानो मुद्दाको अन्तिम सुनुवाइका लागि आइतबार पेसी तोकिएपछि फैसला हुने अपेक्षा गरिएपनि अदालतले अन्ततः सरकारी साक्षी झिकाउने आदेश गरेको हो ।

 नेपाली काँग्रेस नेता तथा पूर्वमन्त्री मोहमद अफताब आलम उनका भाइ मोहम्मद महफताब आलमसहित लाई जिल्ला अदालत गौरमा २०७६ कात्तिक १८ गते विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धीको कसुरको मुद्दाको पटक पटक पेशी तोकिए पनि फैसला हुन सकेको छैन ।

 गत कात्तिक २२ गते न्यायाधीश बाबुकाजी बानियाको इजलासले बहस नोट माग गर्ने आदेश माग गरेपछि मङ्सिर २४ गतेभित्रै वादी नेपाल सरकार र प्रतिवादी तर्फका कानुन व्यवसायीले बहस नोट बुझाएपछि आइतबार पेशी तोकिएको थियो । २०६४ साल चैत २७ गते संविधानसभा निर्वाचनको पूर्व सन्ध्यामा साबिक राजपुर फरहदवा गाविस वडा नम्बर ४ मा रहेको नेपाली काँग्रेसका उम्मेदवार समेत रहेका मोहमद अफताब आलमको काका शेख इद्रिसको गोठमा बम विस्फोट हुँदा घाइते भएका पिन्टु भन्ने त्रिलोक प्रताप सिंह र ओसी अख्तर मियाँ लाई जिउँदै ईट्टाभट्टामा जलाएर मारेको आरोप आलम माथि लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्