इतिहास रचेकी ‘साम्बा’ लाई चुनौती र अवसर



काठमाडौं ।

फ्रान्सेली महिला फुटबल लिग विश्वकै उत्कृष्ट मध्येको एक मानिन्छ। ‘डिभिजन वान फेमिनी’ बाट परिचित यस लिगमा विश्वस्तरीय फुटबलर खेल्छन् र च्याम्पियन्स लिगमा पनि दावेदारी रहँदै आएको छ।

महिला फुटबलका लिगमध्ये फ्रान्सको ‘डिभिजन वान फेमिनी’ लाई सबैभन्दा अब्बलमध्ये एक मानिन्छ । अहिले यही लिगमा खेल्ने क्लबसँग जोडिएकी छिन् नेपाली चेली सावित्रा भण्डारी।

केही समयअघि नेपाली राष्ट्रिय फुटबल टोलीकी स्ट्राइकर अझ भनौं गोलमेसिन सावित्राले फ्रान्सेली क्लब अन अभान्ट ग्वेंगाम्पबाट डेब्यु गरेकी छन्।

लिगअन्तर्गत फेब्रुअरी २ मा भएको बोर्डेक्सविरुद्ध खेलको ७५औं मिनेटमा २८ नम्बरको सेतो रंगको जर्सी लगाएर मैदान प्रवेश गरेकी सावित्राले इतिहास पनि रचिन्।

‘साम्बा’ उपनामबाट समेत चर्चित उनी कुनै पनि युरोपेली क्लबबाट शीर्ष डिभिजनको फुटबल लिग खेल्ने पहिलो नेपाली खेलाडी बन्न पनि सफल भइन् ।

अन अभान्टले साढे एक वर्षका लागि अनुबन्ध सम्झौता गरेपछि सावित्राले नेपाली फुटबल खेलाडीका लागि हालसम्मकै ठूलो उपलब्धि हात पारेकी हुन् ।

यसअघि, इजरायलको हापोएल रानानाबाट खेलेसँगै युरोपमा व्यावसायिक फुटबल खेल्ने पहिलो नेपाली खेलाडी बनेकी थिइन् सावित्रा । हापोएल रानानासँग फ्रान्सेली क्लबको सहमति भएपछि साम्बा त्यसतर्फ प्रस्थान गरेकी थिइन् ।

युद्धका कारण इजरायल नफर्केकी साम्बाले त्यहाँ छोटो समयमा नै प्रभावशाली प्रदर्शन गरेका कारणले फ्रान्सको यात्रा तय भएको हो । हापोएल रानानामा खेल हेर्न स्काउटहरू आइरहन्थे ।

उनीहरू साम्बाको प्रदर्शनबाट असाध्यै प्रभावित भएपछि सावित्राकै एजेन्ट सिसु स्पोर्ट्सले फ्रान्समा खेल्नका लागि प्रबन्ध मिलाइदिएको हो ।

घरेलु फुटबलमा नेपाल एपीएफ क्लबबाट खेल्दै लमजुङ मस्र्याङदी गाउँपालिका–९ थाम्चोककी २६ वर्षीया सावित्राले फ्रान्ससम्मको यात्रा तय गरेकी हुन् ।

नेपाली महिला राष्ट्रिय टिममा उनी सर्वाधिक सफल खेलाडी हुन् । उनले नेपालका लागि कीर्तिमानी ४२ गोल गरिसकेकी छन् । उनले पहिलोपटक २०१४ मा नेपाली राष्ट्रिय टोलीबाट खेलेकी थिइन् ।

सावित्राले पछिल्लोपटक राष्ट्रिय टोलीबाट भियतनामविरुद्ध ओलम्पिक छनोटको खेलमा गोल समेत गरेकी थिईन्। नेपाली राष्ट्रिय टिमबाट मात्रै होइन, सावित्राले भारतीय महिला लिगमा पनि आफ्नो प्रभाव छाडिसकेकी छन् ।

उनले भारतको सेथु एफसी र गोकुलम केरलाका लागि खेलेकी छन् । यसक्रममा उनको टिमले तीनपटक इन्डियन वुमेन्स लिगको उपाधि पनि जितेकी छन् । त्यसक्रममा ५९ गोल गरेर चर्चित भारतीय खेलाडी बालादेवीले गरेको ४८ गोलको आँकंडालाई उनले उछिनेकी  छन् ।

भारतीय लिगमा सेथु एफसीबाट सुरुआत गर्दा २०१९ मा पहिलो सिजनमै आफ्नो टोलीलाई लिग उपाधि जिताउने क्रममा सावित्राले सात खेलमा १५ गोल गरेकी थिइन् ।

उनले २०१९/२० मा गोकुलमबाटै उपाधि जित्दा सात खेलमा १६ गोल गरेकी थिइन् । गत सिजन गोकुलमलाई उपाधि दिलाउने क्रममा १० खेलमा २९ गोल गरेर भारतीय फुटबलमा नयां कीर्तिमान बनाएकी थिइन् ।

आफ्नो करियरको उच्च लयमा जमिरहेकी उनी चोटका कारण झन्डै एक वर्ष फुटबलबाट टाढा भएकी थिईन् । तीन वर्षअघि घरेलु लिगमा चोट लागेका कारण कतारमा उपचार गरेर एक वर्षपछि मात्रै उनी पुनः मैदानमा फर्केकी हुन्। वर्षदिन फुटबलबाट टाढा रहे पनि उनले आफ्नो पुरानो लयलाई भेटाउन समय भने लगाएन ।

नेपालमा महिला लिग हुने कुनै टुंगो नभएको बेला साम्बा जस्ता प्रतिभाशाली खेलाडीलाई आफ्नो लयमा टिकिरहन अन अभान्टा जस्तो क्लबबाट खेल्न पाउनु ठूलो अवसर हो।

आय आर्जनको हिसाबले पनि यो उपलब्धिपूर्ण छ। सन् १९७३ मा स्थापित अन आभान्टा सन् १९८८–८९ को लिग च्याम्पियनसमेत हो ।

अब सावित्रा भित्रिएसँगै यो क्लबको प्रदर्शन नेपाली फुटबलमा दखल राख्ने हरकोहीका लागि चासोको विषय पनि बन्ने नै छ। जारी सिजनको मध्य पुगिसक्दा अन आभान्टा १२ टोली सहभागी फ्रान्सेली लिगको १०औं स्थानमा छ।

अन आभान्टाले खेलेको १३ खेलमध्ये दुईमा जित र तीनमा बराबरी निकाल्दै बाँकी ८ खेलमा हार बेहोर्दै नौ अंक मात्र जोडेको छ। आभान्टाले पछिल्ला ६ खेलमा कुनै पनि म्याच जित्न सकेको छैन ।

दुई टिम रेलिगेनसमा पर्ने यस लिगमा अन आभान्टामाथि रेलिगेसनबाट बच्नुपर्ने चर्को दवाब पनि कायमै छ । अन अभान्टामा सावित्रासंगै फ्रान्स, क्यामरुन, चेक रिपब्लिक, मोरोक्को र मालीको राष्ट्रिय टोलीका खेलाडीहरू पनि सम्मिलित छन्।

फ्रान्सका ग्रेस कजादी र मारी चार्लाेट लेगर, क्यामरुनकी जेनेट्टी यांगो, चेक रिपब्लिकी एन्टोनी स्टारोभा, मोरेक्कोकी साना डोआउदी र मालीकी एसाइएता ट्राउरे विश्वस्तरका खेलाडीहरू हुन् । त्यसैले सवित्राको लागि युरोपेली लिगमा जम्न चुनौतीहरू पनि उत्तिकै छ ।

दक्षिण एसियामा आफूलाई प्रमाणित गरिसकेकी साम्बाले युरोपमा पनि आफूलाई अब्बल देखाउनका लागि यो एउटा ठूलो अवसर पनि जुरेको छ।

युरोप फुटबलको पावरहाउस हो र कुनै पनि फुटबलरलाई आफू सर्वोत्कृष्ट हुँ भनेर प्रमाणित गर्ने प्लाटफर्म पनि हो। संसारभरिका ‘मै हुँ’ भन्ने फुटबलरको प्रमुख गन्तब्य नै यूरोप हुने गरेको छ। किनभने खेलरै मनग्गे आयआर्जन गर्नेदेखि संसारभरका मिडियाको प्रवाह युरोपेली फुटबलमा जति अन्त भेटिन्न ।

क्रिस्टियानो रोनाल्डो शैलीमा गोल सेलिब्रेसन गर्न रुचाउने साम्बाका लागि युरोप बसाईं कुनै चानचुने अवसर पक्कै होइन। साम्बाले आफूलाई अब्बल सावित गर्न कुनै कसर बाँकी राख्छन् वा राख्दैनन् भन्ने प्रश्नको जवाफका लागि नेपाली फुटबलप्रेमीले केही समय कुर्नु नै पर्ने हुन्छ।

प्रतिक्रिया दिनुहोस्