आगामी शैक्षिक सत्रअगावै पाठ्यपुस्तक



काठमाडौं ।

सरकारको लक्ष्यअनुसार नै आगामी शैक्षिक सत्रका लागि शैक्षिक सत्रअगावै पाठ्यपुस्तक विद्यार्थीको हातहातमा पुग्ने भएको छ। जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले चैत दोस्रो साताबाट पुस्तक बिक्री खुला गर्ने घोषणा गरेको छ।

केन्द्रका प्रबन्ध संचालक अनिलकुमार झाका अनुसार दैनिक १ लाख पुस्तक उत्पादन भएसँग जनक शिक्षाले आगामी वर्ष समयमै पाठ्यपुस्तक पुर्‍याउने लक्ष्य लिएको हो।

जनक शिक्षाले हाल ५ वटा रंगिन, १ वटा एक रंगी, २ वटा रंगिन सिटफिड र ४ वटा एक रंगी सिटफिड मेसिनबाट पाठ्यपुस्तक छपाइ गरिरहेको छ।

जनक शिक्षाका प्रबन्ध सञ्चालक झाले २४ सै घण्टा मेसिन सञ्चालन भइरहेको र चैतभित्र पाठ्यपुस्तक छपाइ पूरा हुने जानकारी दिँदै नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘कागज अभाव छैन, दैनिक १ लाख थान छपाइ भइरहेकोले ढुक्कसँग सबै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्‍याउनेछौं।’

यो वर्ष कक्षा १ देखि १० सम्म करिब ५० लाख विद्यार्थी अध्ययनरत् छन् । ती विद्यार्थीका लागि झण्डै १ करोड ७५ लाख थान पाठ्यपुस्तक आवश्यक पर्छ । तीमध्ये हालसम्म १ करोड २४ लाख ६६ हजार ५ सय ८३ थान पाठ्यपुस्तक छपाइ सकिसकेको छ।

बाँकी ५० लाख ३३ हजार ४ सय १७ थान पुस्तक फागुन अन्तिमसम्म छपाइ पूरा गर्ने योजना जनक शिक्षाको रहेको छ। यसका लागि जनक शिक्षाले हाल दैनिक दुई सिफ्टमा एक लाख पाठ्यपुस्तक छपाइ जारी राखेको छ।

यो वर्ष पर्याप्त मात्राका कागज, मसीलगायत आवश्यक पर्ने कच्चा पदार्थ खरिद गरिसकेको जानकारी दिँदै जनक शिक्षाका प्रबन्ध सञ्चालक झाले कक्षा ३ को लागि ४ लाख २० हजार थान, ४ को लागि १ लाख ७७ हजार ३ सय ५, ६ को १९ लाख ३३ हजार ७ सय ६०, ७ को १७ लाख ९७ हजार ८ सय ३५, ८ को २२ लाख ३६ हजार ५ सय ७५, ९ को २४ लाख ९९ हजार ६५ थान र १० कक्षाको लागि २७ लाख ८५ हजार ३ सय १० थान छपाइ भइसकेको बताउनुभयो।

त्यसै गरी कक्षा १० को अनुवाद गरिएको ६७ लाख १६ हजार ६ सय ३३ थान पाठ्यपुस्तक छपाइ भइसकेको छ भने कक्षा ५ का साथै कक्षा ९ र १० को बाँकी पाठ्यपुस्तक छपाइ भइरहेको छ।

छपाइ भइसकेको पाठ्यपुस्तक धमाधम क्षेत्रिय र सम्पर्क कार्यालयमा बिक्रीको लागि ढुवानी भइरहेको छ। जनकशिक्षाले चालु शैक्षिक सत्रको लागि पनि समयमै पाठ्यपुस्तक छपाइ पूरा गरेको थियो।

शिक्षा तथा मानवस्रोत विकास केन्द्रका महानिर्देशक दीपक शर्माले पनि आगामी शैक्षिक सत्रमा समयमै पाठ्यपुस्तक पुग्ने दाबी गर्दै भन्नुभयो– ‘हालसम्म १ करोड २४ लाख पाठ्यपुस्तक छपाइ भइसकेको छ, बाँकी करिब ४७ लाख थान पाठ्यपुस्तक फागुनभित्र छपाइ हुनेछ।’

केन्द्रले दैनिकजसो अनुगमन जारी राखेको जानकारी दिँदै उहाँले भन्नुभयो– ‘आगामी वर्ष शैक्षिकसत्र शुरू हुनासाथ सबै बालबालिकाको हात हातमा पुस्तक पुगिसक्नेछ।’

शिक्षा मन्त्रालयले यस वर्ष कक्षा १ देखि ४ सम्मको पुस्तक छपाइ तथा वितरणको जिम्मेवारी निजी क्षेत्रका छापाखानालाई दिएको छ। जनक शिक्षाले बिक्री खुला गरेको तीन दिनभित्र अर्थात् चैतको दोस्रो साता हिमाली जिल्लामा पाठ्यपुस्तक पुर्‍याउने लक्ष्य राखेको छ।

जनक शिक्षाका प्रबन्ध सञ्चालक झाले शुरूमा हुम्ला, जुम्ला, मुगु, कालिकोट, डोल्पा, बाजुरा, जाजरकोट, रुकुम रसुवा, मनाङ, मुस्ताङलगायतका जिल्लामा, त्यसपछि पहाडी तथा विकट जिल्ला अनि तराई र अन्तिममा काठमाडौं उपत्यकामा पुस्तक पुर्‍याउने लक्ष्य राखिएको जानकारी दिनुभयो।

पाठ्यक्रम विकास केन्द्रले समयमै पीआरसी(प्रिन्ट रेडी कपी) उपलब्ध गराएको कारण छपाइमा कुनै समस्या नभएको जनक शिक्षाको भनाइ छ।

पाठ्यक्रम विकास केन्द्रले कात्तिकमै पुस्तक छपाइबारे छिटो निर्णय गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई पत्राचार गरेको थियो। सोही आधारमा मन्त्रालयले निर्णय गरेपछि छपाइ शुरू भएको थियो। यही रफ्तारमा काम भए चैत अन्तिम साता सबै जिल्लामा पाठ्यपुस्तक पुगिसक्नेछ।

जनक शिक्षाका प्रबन्ध सञ्चालक झाले विगतको तुलतामा यो वर्ष पुस्तक छपाइमा कुनै समस्या नभएको बताउनुभयो। हामीसँग १–१२ को सबै पाठ्यपुस्तक छपाइ र बिक्री गर्ने क्षमता भइसकेको छ। मन्त्रालयले सबै तहको पुस्तक छपाइ गर्न जिम्मा दिए पनि समयमै छपाइ र बिक्री वितरण गरिसक्नेछौं।

प्रतिक्रिया दिनुहोस्