नख्खु कारागारमा ५० प्रतिशत कैदीमा दृष्टिदोष समस्या



काठमाडौं  । 
कारागार कार्यालय नख्खुमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । नेपाल नेत्र ज्योति संघ, कीर्तिपुर आँखा अस्पतालले कारागारमा ४ दिने निःशुल्क आँखा शिविर सञ्चालन गरेको हो ।

शिविरमा कारागारमा रहेका ८ सय १६ जना कैदीबन्दीहरुको आँखा जाँच गरिएको थियो । आँखा जाँच गरिएका मध्य करिब ५० प्रतिशत कैदीबन्दीहरुमा दृष्टिदोषको समस्या देखिएको छ । अस्पतालकी अध्यक्ष एवं आँखा रोग विशेषज्ञ प्रा.डा सबिना श्रेष्ठका अनुसार ४ सय जना कैदीबन्दीहरुमा दृष्टिदोषको समस्या देखिएको छ भने ९ जना मोतीबिन्दुका बिरामी भेटिएका हुन् ।

अस्पताल व्यवस्थापक दीपक बोहोराका अनुसार १ सय ४८ जनालाई निःशुल्क चस्मा वितरण गरिएको छ भने शिविरमा भेटिएका ९ जना मोतीबिन्दुका बिरामीलाई अप्रेसनको सेवा समेत निःशुल्क उपलब्ध गराइने भएको छ ।  ‘सामान्य वर्षमा दुई पटक सबैले नियमित आँखा परीक्षण गर्नुपर्छ तर कारागारमा रहेका कैदीबन्दीहरु वर्षौँदेखि आँखा उपचारको पहुँचबाट टाढा रहेको थाहा पाएपछि हामीले वहाँहरूलाई आँखा स्वास्थ्यको पहुँचमा ल्याउन निःशुल्क शिविरको आयोजना गरेका हौ’ प्रा.डा श्रेष्ठले भन्नुभयो ।

प्रोफेसनल सपोर्ट सर्भिस नेपालको समेत सहयोगमा सञ्चालन गरेको उक्त शिविरमा प्रा.डा श्रेष्ठको नेतृत्वमा रहेको स्वास्थ्यकर्मीहरूको टोलीले आँखा परीक्षण गर्नुभएको थियो । वि.स २०३५ सालमा नेपालमा आँखा उपचार सेवाको विकास र विस्तारको लक्ष्य सहित एक गैर नाफामूलक संस्थाका रूपमा स्थापना भएको नेपाल नेत्र ज्योति संघ अन्तरगत हाल देशभरमा २७ वटा आँखा अस्पताल, १ सय ५४ आँखा उपचार केन्द्र तथा ४४ जिल्ला शाखाहरू सञ्चालनमा छन् । संघ अन्तरगतका आँखा अस्पताल, आँखा उपचार केन्द्र मार्फत वार्षिक ३० लाख बढी बिरामीको आँखा जाँच हुने गर्दछ ।

स्थापना देखि सन् २०२२ सम्ममा संघको नेटवर्क मार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिक गरी कुल ४ करोड २ लाख ८६ हजार ५ जना आँखाका बिरामीहरूलाई आँखा उपचार सेवा प्रवाह गरिसकेको छ भने ४८ लाख ६७ हजार ७ सय ७४ जनाको आँखाको शल्यक्रिया भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्