जनताले मन नपराएकाहरूले मिलेर शासन गर्दा देशमा निराशा बढ्यो : शंकर पोखरेल



काठमाडौं ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले जनताले नपत्याएकाहरुले देश चलाइरहेको बताएका छन् ।

नेकपा एमाले धादिङको नवौँ जिल्ला अधिवेशन शुक्रबार धादिङ बेँसीमा उद्घाटन गर्दै पोखरेलले जनताबाट विस्थापित भएकाले सरकार चलाएका कारण देशमा निराशा बढेको बताए । आज देशको सबैभन्दा ठुलो राजनीतिक दल नेकपा एमाले बाहिर र साना जोडजाड गरेका दल सत्तामा रहेका कारण देशमा निराशा बढेको उनले बताए ।

यो कार्य लोकतन्त्रको मर्म प्रतिकै उपहास भएको पोखरेलले टिप्पणी गरे । ‘जनताले मन नपराएकाहरूले मिलेर शासन गर्ने परिपाटी यो देशमा सुरु भएको छ, लोकतन्त्र भनेको जनताले मनपराएकाले शासन गर्ने परिपाटी हो, तर यहाँ जनताले मन नपराएकाले शासन गरिरहेका छन्’, पोखरेलले भने ।

राष्ट्र निर्माणको लागि बलियो राष्ट्रिय शक्ति आवश्यक पर्ने भए पनि जनताले बलियो राजनीतिक शक्ति निर्माण गर्न नसक्दा देश नबनेको पोखरेलले बताए । गठबन्धनले दुनियाँमा काहीँ पनि देश नबनाएको पोखरेलको भनाइ छ ।

नेकपा एमाले सरकारमा रहँदा स्वदेश फर्कने युवाको सङ्ख्या बढेको भएपनि एमाले सरकारबाट हट्ने बित्तिकै विदेश जाने युवाको सङ्ख्या बढेको पोखरेलले बताए । देशमा बढ्दो निराशाको कारण युवा पलायन बढेको पोखरेलको टिप्पणी छ । ‘यो मुलुकलाई निराश तर्फ लैजान काम एमालेले होइन, यो मुलुकलाई निराशा तर्फ लैजाने कामको नेतृत्व अरू कसैले होइन, गठबन्धनधारी माओवादी र कांग्रेस र्गयो, गठबन्धन नेतृत्वको सरकारको अकर्मण्यताको कारण आज जनता निराश भएका छन्, युवा पलायन भएका छन् भन्ने कुराको सच्चाइलाई बुझ्न हामीले जति ढिला गर्दछौँ मुलुक बन्न त्यति नै ढिलाइ हुन्छ’, पोखरेलले भने ।

आज एमाले सत्तामा नहुँदा पनि प्रहारको निशाना एमाले माथि नै भएको उउले बताए । सत्तामा बस्नेहरूले कुनै पनि कुरामा एमालेलाई कसरी जोड्न सकिन्छ भनेर एमालेलाई जोड्ने कोसिस गरेका पोखरेलले बताए । छानबिन गर्दा एमालेले क्लिन चिट पाउने र सत्ताधारीका अनुहार देखिने गरेका पोखरेलले टिप्पणी गरे । नक्कली भुटानी शरणार्थी प्रकरण, सुन तस्करी प्रकरण, बालुवाटार जग्गा प्रकरणदेखि बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरण सबैमा सत्ताधारीकै अनुहार आएको उनले प्रष्ट पारे।

बलियो राष्ट्रिय शक्ति नभई देश बन्न नसक्ने भन्दै उनले देश बनाउनको लागि एमालेलाई बलियो राष्ट्रिय शक्ति बनाउन आवश्यक रहेको बताए । त्यसैले नेकपा एमालेले मिसन २०८४ भनेको उनले प्रष्ट पारे । त्यस कारण जनताले पनि सही समयमा सही निर्णय गर्नुपर्नेमा पोखरेलले जोड दिए ।

अब नेपालको कम्युनिष्ट पार्टी एमाले मात्रै रहेको पोखरेलले बताए । कांग्रेसको भरिया बन्नुभएका माओवादी र माधव नेपालको पार्टी अब कम्युनिष्ट नभएको उनले दाबी गरे । माओवादी, एकीकृत समाजवादी र साना साना कम्युनिष्ट पार्टीमा रहेका नेता कार्यकर्तालाई उनले एमालेमा आउन आह्वान गरे ।

उनले गठबन्धन सरकार कल्पना नै गर्न नसक्ने गरी असफल भएको दाबी गरे । गठबन्धन सरकारले देशको अवस्था सुधार गर्न नसक्ने उनले बताए । अयोग्यलाई शासन गर्न दिएर देश बनेन भन्न नमिल्ने पोखरेलले टिप्पणी गरे ।

राष्ट्र जोगाउनको लागि जनतालाई निराश हुनबाट जोगाउनु पर्ने उनले बताए । जनतामा आशा जगाउन एमालेले झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा सञ्चालन गरेको पोखरेलको भनाइ छ ।

एमालेले मध्यपहाडमा समृद्धिको आधार देखेको पोखरेलले दाबी गरे । मध्यपहाडबाट बसाइँ सर्ने क्रम अब धेरै समय नचल्ने उनले बताए ।

सरकारको अकर्मण्यता धरै सहन नसकिने बताउँदै पोखरेलले सरकारका विरुद्ध जनताको सामु जानु पर्ने बताए । जनताको माध्यमबाट सरकारलाई सचेत बनाउनु पर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया दिनुहोस्