विमानस्थल कुटपिट प्रकरण : डीएसपीसहित चार प्रहरीमाथि कारबाही सिफारिस



काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही दिनअघि प्रहरी र कर्मचारीबीच भएको कुटपिटको विषयमा गृहमन्त्रालद्वारा गठित छानबिन समितिले प्रहरी नायब उपरीक्षक तथा असईलगायत चार जनामाथि कारबाही गर्न सिफारिस गरेको छ ।

विमानस्थलमा सुरक्षा चेकजाँचका क्रममा प्रहरी जवान र अध्यागमन अधिकृतबीच विवाद हुदा असई सञ्जय तामाङलगायतको नेतृत्वमा आएको प्रहरी टोलीले घट्नालाई उग्र बनाई कुटपिटमा उत्रिएकाले यो घट्नामा मुख्य दोषी तामाङ रहेको निष्कर्ष निकाल्दै छानबिन समितिले तामाङलाई निलम्बन गर्न मन्त्रालयसमक्ष सिफारिस गरेको छ।

गत शुक्रबार विमानस्थलमा अध्यागमन अधिकृत छायालाल मोक्तान र प्रहरी जवान रविरञ्जन गुप्ताबीच विवाद भएको थियो।

सोही क्रममा त्यहाँ आएका असई तामाङलगायतका समूहले विवादलाई सुल्झाउनुको साटो उल्टै उत्तेजित बनाउँदै उनीहरू अधिकृतमाथि कुटपिटमा उत्रिएका थिए। अधिकृत मोक्तानले पनि प्रतिरोध गर्दै लात्ताले हानेका थिए। सो घट्नाले देशकै बेइज्जत बनाएको थियो।

घट्नाबारे छानबिन गर्न गृहमन्त्रालयले सोही दिन नै मन्त्रालयका सहसचिव स्थानेश्वर गौतमको नेतृत्वमा छानबिन समिति बनाएको थियो। गौतम नेतृत्वको छानबिन समितिले घट्नाको सम्पूर्ण विवरण अध्ययन गरी सम्बन्धित पक्षसँग जानकारीसमेत लिएको थियो।

समितिका अनुसार घट्नामा अध्यागमन अधिकृतसँग विवाद भएको विषयलाई लिएर शुरूमा प्रहरी नै कुटपिटमा उत्रिएको पाइएको थियो।

समितिले सो घट्ना घटिसकेपछि अध्यागमन कार्यालयका प्रमुख सहसचिव गोगन हमालले सीसीटिभी हेर्ने र दोषी ठहरिएका माथि कारबाही हुनुपर्ने विषय राख्दा सहसचिव हमालमाथि समेत हातापात हुनु प्रहरी सुरक्षाकर्मीको कमजोरी भएको ठहर गरेको छ।

समितिले प्रहरीको कमान्ड गरिरहेका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलकै अघि सहसचिव हमालमाथि हातपात भएको देखिएको भन्दै त्यसलाई रोक्न नसकेको भन्दै प्रहरी नायब उपरिक्षक पोखरेलमाथि समेत विभागीय कारबाही गर्न सिफारिस गरेको छ।

यसै गरी छानबिन समितिले प्रहरी जवान रविरन्जन गुप्ता र अर्का प्रहरी जवान राजकुमार महतोमाथि समेत कारबाही गर्न मन्त्रालयसमक्ष सिफारिस गरेको छ।

डीएसपीको कमान्डमा खटिएका उनीहरूले आफ्नो जिम्मेवारी उचित ढंगले पूरा गर्न नसकेको भन्दै डीएसपी पोखरेललाई सचेत गराउन र अनुशासनमा कारबाही गर्नुपर्ने ठहर छानबिन समितिले गरेको छ।

छानबिन समितिको सिफारिसअनुसार गृह मन्त्रालयले डीएसपीको कमान्डमा रहेको सबै टिम त्यहाबाट हटाउने भएको छ।

यसै गरी सो घट्ना घट्नुमा अध्यागमन अधिकृत छायालाल मोक्तान पनि जिम्मेवार रहेको र उनले प्रहरीलाई शरीर खानतलासी गर्न दिनुपर्नेमा सोही विषयमा विवाद गर्नुले उनले पनि आचरणविपरीत काम गरेको ठहर समितिले गरेको छ भने उनीमाथि आचरणमा कारबाही गर्न सिफारिस गरिएको छ।

प्रतिक्रिया दिनुहोस्