भरतपुर भ्रमण वर्ष २०२४ को घोषणासँगै खुले दर्जनौ होमस्टे



काठमाडौं ।

भरतपुर भ्रमण वर्ष २०२४ को घोषणा भएसँगै पर्यटकीय पूर्वाधारहरू निर्माण हुने क्रम बढेको छ । भ्रमण वर्षमा यहाँ आउने स्वदेशी तथा विदेशी पर्यटकलाई खाना, बस्न, पर्यटकीय स्थल घुमाउन र संस्कृति प्रस्तुति देखाउन भरतपुर बासी तयारी अवस्थामा बसेका छन् ।

भ्रमण वर्षमा यहाँको रैथाने खाना पस्कन भरतपुर बासीले आवश्यक वस्तुहरूको उचित भण्डारण गरी राखेका छन् । भरतपुर–२४ का स्थानीय नवीन श्रेष्ठले पर्यटकलाई कोदोको र फापरको रोटी, गहतको दाल र पिँडालुको तरकारी पस्कन खाद्यान्नलाई प्रशोधन गरी भण्डार गरेको बताए । यस्तै भरतपुर २८ गोला घाटका सानु चौधरीले ३ सय वटा हाँसको चल्ला पाल्न सुरु गरेको जानकारी दिए। चौधरीले एक दिनमा १०० जना पर्यटकलाई पुग्ने गरी घुँगीको सेट पस्कन सक्ने गरी तयारी पनि गरेको बताए  ।

भ्रमण वर्षमा आउने पर्यटकलाई राख्ने गरी पछिल्लो समय दर्जनौँ होमस्टेहरू खुलेका छन् । दर्जनौँ होमस्टे थप भएसँगै महानगरको मेघौली गोलाघाट, पटिहानी जगतपुर लगायतका पर्यटक गन्तव्यमा करिब २०० बेड क्षमताको होमस्टेमा आवसको सुविधा रहेको छ । भरतपुर महानगरपालिकामा दैनिक ७ हजार पर्यटकलाई आवस सुविधा दिन सकिने व्यवस्था रहेको छ भने गैँडाकोट र सौराहालाई समेट्दा १५ हजार ७ सय पर्यटक राख्न सकिने तथ्याङक छ ।

भरतपुर भ्रमण वर्ष २०२४ लाई लक्षित गरी भरतपुरमा जिप सफारीको संख्या वृद्धि गरिएको छ । पर्यटकको मुख्य रोजाई जंगल सफारी हुने अनुमानका साथ जिप सफारी गाडी थप गरिएको हो । भरतपुर महानगरपालिकाका पर्यटन विज्ञ सल्लाकार विश्वराज सुवेदीले यस अघि एक दर्जन मात्र जिप सफारी रहेकोमा अहिले तेब्बर जिपहरू थप गरिएको बताए ।

जिप सफारी गर्न चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरबाट प्रवेश गर्ने व्यवस्था रहेको छ । भरतपुरका राप्ती र नारायणी नदीको तटीय क्षेत्रमा बनेका होटलहरुले आफ्नै जिप सफारी सञ्चालन गर्दै आएका छन् भने अब जिप सफारीको छुट्टै व्यवस्था गर्न लागिएको छ । कसराबाट १ घण्टादेखि ४ घण्टासम्म जिप सफारीको प्याकेज रहेको छ ।

यस्तै राप्ती तथा नारायणीमा डुङ्गा थप गर्ने तयारी पनि भइरहेको पर्यटन विज्ञ सुवेदीले जानकारी दिए । भरतपुरमा वार्षिक ३० हजार बाह्य पर्यटक आउने तथ्याङ्क रहेकोमा भ्रमण वर्ष २०२४ मा २ लाख बाह्य पर्यटक र ५ लाख आन्तरिक पर्यटक भित्र्याउने महानगरपालिकाले लक्ष्य लिएको छ । पर्यटकलाई केही नयाँ कुरा दिउँ भन्ने उद्देश्यले विशेष गरी चितवन राष्ट्रिय निकुञ्ज अवलोकन, हात्ती सफारी र जिप

सफारीका लागि पर्यटक आउने गरेका छन् । भ्रमण वर्षमा पर्यटकलाई बाघ देखाउने गरी भरतपुर ६ देवनगरमा निर्माण गरिएको बाघको केज निर्माण भईसेको छ । अबको केही दिनमा चितवन राष्ट्रिय निकुञ्जको उद्धार केन्द्रमा रहेको बाघलाई यहाँ स्थानान्तर गर्न लागिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिल पुर्जाले जानकारी दिए । यही स्थानमा गैँडा पनि राख्न मिल्ने गरी तार बारको काम पनि अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्